नेकपा (एमाले)का नेता लालबाबु पण्डित आसन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन् । पण्डित अहिले चुनावी प्रचारप्रसारका क्रममा गृहनगर विराटनगरमा छन् । कामत टोलस्थित उनको निवासमा बाह्रखरीले गरेको निर्वाचनकेन्द्रित कुराकानीको सम्पादित अंश :
चुनावी अभियान कसरी सञ्चालन गरिरहनुभएको छ ?
निरन्तर म जनताको बीचमै छु । सुखदुःखको साथी नै हँ । भुईँबाट उठेको मान्छे । हरेक दिन भुईँमै हुन्छु । पहिले पनि निर्वाचनमा उठेको मान्छे हुँ । जनताको विश्वास पाएरै प्रतिनिधि भएरै काम गरेको छु । उनीहरूसँगै छु । मेरो क्षेत्रमा विकास निर्माणको काम अन्यत्रको तुलनामा राम्रै भएको छ । पार्टीको नीति, निर्देशन र तयारीअनुरूप नै अघि बढिरहेको छु ।
तपाईंको कार्यकालमा के–के गर्नुभयो ?
१० वर्ष यही क्षेत्रबाट गएकाहरूले काम गर्न सकेका थिएनन् । तर, म पहिलोपटक पहिलो कार्यकाल पूरा गर्दै छु । २० महिना मन्त्री पनि बनेँ । राष्ट्रिय जिम्मेवारी पनि र स्थानीय जनप्रतिनिधिको पनि जिम्मेवारी पूरा गर्नुपर्ने थियो । सबै चाहनाहरू पूरा भएनन् होला, तर आफूले गरेको प्रतिबद्धता पूरा गर्दै अघि बढेको छु ।
विगतमा गरिएका ठूला काम जारी छन् । धेरैवटा सम्पन्न भएका छन् । कतिपय कोरोनाका कारण बजेट फ्रिज भएर गए । कतिपय पालिका र वडाहरूमा एमालेको नेतृत्व नहुँदा अवरोध पैदा हुँदा ४० करोड रूपैयाँ बजेट फ्रिज हुन गयो । विराटनगरका कतिपय योजनामा मैले हालिदिएको बजेट पनि फ्रिज भयो । जनताको नयाँ आकांक्षालाई अब फेरि पनि पूरा गर्नुछ । असीमित जनताको माग र राजनीतिक अस्थिरताबीच पनि काम गर्नुपरेको छ ।
तपाईंसँग पुरानै अनुहार प्रतिस्पर्धामा हुनुहुन्छ ? यसलाई कसरी लिनुभएको छ ?
मैले यो क्षेत्रमा पहिलो कार्यकालमा धेरै काम गरेको छु । त्यो जनतासँग गएर पनि बुझ्न सकिन्छ । मैले मेरो प्रतिद्वन्द्वी (शेखर कोइराला)सँग प्रश्न पनि सोधेको थिएँ, तपाईंले के–के गर्नुभयो भनेर । पहिले उहाँ पनि जनप्रतिनिधि भएर जानुभएकै हो । विकास निर्माणमा तपाईंले पनि सुझाव दिनुहोला, तपाईंले गर्नुभएको छ भनेर मेरो सराहना नै गर्नुभयो ।
उहाँको अलग्गै पृष्ठभूमि छ । उहाँको आफ्नै पारिवारिक पृष्ठभूमि पनि छ । बुवा, हजुरबाहरूले गर्नुभएकै हो । उहाँ वंशकै आधारमा राजनीतिमा अघि बढ्नुभएको छ । मसँग लोकतान्त्रिक प्रतिस्पर्धामा हुनुहुन्छ । म पनि प्रतिस्पर्धामा छु । यो क्षेत्र मेरा लागि नयाँ थियो, अब नयाँ छैन । मैले गरेको कामको फेहरिस्त दसैँतिहारको अवसर पारेर सार्वजनिक पनि गरिसकेको छु ।
अहिलेको चुनावी गठबन्धनबारे तपाईंको धारणा के छ ?
गठबन्धन चुनावको अगाडि मात्र हो । त्यो पछि रहनेवाला छैन । गठबन्धन नामको लुतो मंसिर ४ गतेपछि रहँदैन । कन्याउँदा कन्याउँदा हैरान छ । वर्षमा एकपटक लुतो फ्याँक्ने दिन पनि हुन्छ । चुनावपछि त्यो फ्यालिन्छ ।
तपाईंप्रतिका आलोचनाबारे के भन्नुहुन्छ ?
सुरुमा गाडी, मोटरसाइकल वा साइकल चलाउँदा स्टार्ट गर्दा केही बल लाग्छ अनि गति लिन्छ । एमालेमा कुनै विवाद छैन । कसलाई कसलाई उमेदवार बन्न मन छ भनेर दर्ता गराएरै छानेर टिकट दिएको हो । आकांक्षा धेरै छ । सबै आवश्यकता पूरा हुँदैन । एक समयमा डीभी, पीआरको कुराले ज्यान मार्नेसम्मको कुरा आएको थियो ।
संघीयता कार्यान्वयनमा मानवीय व्यवस्थापनको पाटो मबाहेक कसैले गरेन । सजिलो काममा जिम्मेवारी लिने र कठिन कामको जिम्मेवारी नलिने प्रवृत्ति छ । मैले कठिन जिम्मेवारी पनि वहन गरेको छु । तर, अस्वस्थ आलोचना गर्नेको विषयमा मलाई केही भन्नु छैन ।
लालबाबु पण्डितको अनुहार नै कालो छ भनिदियो भने म गोरो बनाउन सक्छु र ? साइकल चढेर पेट्रोल पनि लिएँ भन्ने आरोप लगाए । मेरो निजी साधन साइकल हो । तर, काठमाडौं त गाडी चढेरै गएको हो । कहिले भाडा र कहिले प्लेनमा जान्छु, यो स्वाभाविक कुरा हो । तर, यसलाई अस्वभाविक रूपमा प्रस्तुत गरियो । बहुदलीय व्यवस्थामा यस्ता लाञ्छना लगाउने गरिन्छ ।
तपाईंले जित्ने आधार के छन् ?
आफ्नो मात्र भोटले जितिँदैन । म गठबन्धनभित्रको भोट पनि लिन्छु । जसपाको भोट पनि आउँछ । आफ्नो भोट छँदै छ । तटस्थ मतदाताको पनि मत लिन्छु । गठबन्धनको रटले मात्र जितिँदैन । मंसिर ४ गते अगाडि मात्र यसको आयु छ । आवश्यकता परे नयाँ रूपमा गठबन्धन बन्छ । तर, यही चुनावले यसभित्र रहेका धेरैको श्वास सकिनेवाला छ ।