site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
नवलपुर–१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला, हराउने योजनामा पौडेल

नवलपुर । राज्य पुनःसंरचनासँगै सिंगो नवलपरासी दुई जिल्लामा विभाजन भयो । जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) लुम्बिनी प्रदेशमा राखियो ।

पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा सम्पूर्ण संरचना नयाँ निर्माण भए । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लालाई दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभाजन गरियो ।

नवलपुरका बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिकाका सबै क्षेत्र र कावासोती नगरपालिकाका ११ वटा वडा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा समेटिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वि.सं. २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को क्षेत्र नम्बर–१ बाट यसपटक पनि बीपी कोइरालाका पुत्र एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइराला चौथोपटक निर्वाचनमा होमिएका छन् । कोइराला यस क्षेत्रबाट संविधानसभा निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी भएका थिए ।

चौथोपटक निर्वाचन जित्ने कसरतका साथ उमेदवार भएका डा. कोइरालाको प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले)का केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले उमेदवारी दिएका छन् ।

नवलपुर क्षेत्र नम्बर–१ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ । तर, देशव्यापी रूपमा नयाँ नेतृत्वको खोजी भइरहेको बेला र स्थानीय तह निर्वाचन, २०७९ मा यस क्षेत्रमा पर्ने अधिकांश पालिकामा एमालेका उमेदवार विजयी भएकाले पौडेल विजयी हुने एमालेको दाबी छ ।

वि.सं. २०६४ मा डा. कोइरालाले १७ हजार ४३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी तत्कालीन नेकपा (माओवादी)का ठाकुरप्रसाद चापागाईं रहेका थिए । एमाले तेस्रो स्थानमा रहेको थियो ।

वि.सं. २०७० को निर्वाचनमा कोइराला १८ हजार २२८ मत ल्याएर  दोस्रोपटक विजयी बने । कोइराला विजयी बन्दा एमाले उमेदवार दीपक अधिकारी क्षेत्रीले १२ हजार ११० र माओवादीका धनप्रसाद सापकोटाले चार हजार ३१७ मत प्राप्त गरेका थिए ।

यस्तै, २०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार ६५२ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका थिए ।

गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई केही सहज देखिन्छ । कांग्रेस महामन्त्री समेत रहिसकेका कोइराला १५ वर्षसम्म संसद्मा रहँदा आफ्नो क्षेत्रमा टुक्रे र वितरणमुखी योजनाका कामबाहेक विकासका माध्यमबाट परिवर्तन गर्न नसकेको आरोप खेप्दै आएका छन् ।

अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको दबदबा रहेका बेला जित निकालेका डा. कोइराला यसपटक गठबन्धन आफ्नो पक्षमा रहेकाले जित सहज भएको बताउँछन् । गठबन्धनले कोइरालालाई सहज बाटो बनाएको कांग्रेसका तर्फबाट गैँडाकोट नगरप्रमुखमा निर्वाचित मदनभक्त अधिकारी बताउँछन् ।

वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नवलपरासी–३ बाट संविधानसभा सदस्य बनेका एमाले उमेदवार कृष्णप्रसाद पौडेलले त्यो निर्वाचनमा कांग्रेस उमेदवार हालका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पराजित गरेका थिए । एमालेका पौडेल १४ हजार ८०४ मत ल्याएर विजयी हुँदा कांग्रेसका पोखरेलले १४ हजार ४७९ मत प्राप्त गरेका थिए । सो क्षेत्र अहिले नवलपरासी पूर्वको क्षेत्र नम्बर–२ मा पर्छ ।

वि.सं. २०४८ यता कांग्रेसले जित्दै आएको नवलपुरको यो क्षेत्र विकासमा पछि परेकाले योपटक एमालेको जित निश्चित भएको एमालेका तर्फबाट देवचुली नगरपालिका प्रमुख बनेका हरिप्रसाद न्यौपाने बताउँछन् । नवलपुरमा एमाले विभाजनको कम असर, बलियो संगठन तथा लोकप्रिय र चिरपरिचित उमेदवार भएकाले निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने एमालेको दाबी छ ।

नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ मा बौदीकालीका ६, बुलिङटारका ६, गैँडाकोटका १८, देवचुलीका १७ र कावासोतीका ११ गरी ५८ वडा रहेका छन् । गएको स्थानीय तह निर्वाचनमा यस क्षेत्रको गैँडाकोट नगरपालिकामा प्रमुख र उपप्रमुख तथा बुलिङटार गाउँपालिका उपाध्यक्षबाहेक सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष एमालेले जितेको छ । ५८ मध्ये ३० वडामा एमालेले वडाध्यक्ष जितेको छ भने कांग्रेसले २७ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेको छ ।

नवलपुर क्षेत्र नम्बर–१ मा पर्ने ५८ वडामा एमालेका वडाध्यक्षले ४४ हजार ७७७ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षले ४४ हजार १८८ र माओवादी केन्द्रका वडाध्यक्षले एक हजार ९०८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्र र कांग्रेस सत्ता गठबन्धनमा रहेका कारण पनि माओवादीको वडाध्यक्षको मत कांग्रेसका उमेदवार कोइरालालाई आउने कांग्रेस नेताको दाबी छ ।

यस्तै, यस क्षेत्रमा एमालेका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३४ हजार ४४७ (कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार ५५) रहेको छ । कांग्रेसका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३५ हजार १०६ (कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार ४१०) रहेको छ ।

नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख ३१ हजार १८१ मतदाता रहेका छन् । यहाँ ६२ हजार ५९६ पुरुष, ६८ हजार ५८४ महिला र तेस्रोलिंगी एक मतदाताले ५७ मतदानस्थलका १५३ मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए ।

नवलपुर–१ मा प्रतिनिधिसभातर्फ कोइराला र पौडेलसहित १५ जनाले उमेदवारी मनोनयन गराएका छन् । पाँच स्वतन्त्रका साथै जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार समेत चुनावी मैदानमा छन् । मुख्यतया कोइराला र पौडेलबीच नै चुनावी प्रतिस्पर्धा हुने अनुमान छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्