बिर्तामोड (झापा) । झापामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको चहल पहल सुरु भइसकेको छ ।
उमेदवार मत माग्न चुनावी कार्यक्रम लिएर मतदाताका घरदैलेसम्म पुगिरहेका छन् । पाँचमध्ये तीन निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ उमेदवार चुनावी प्रतिस्पर्धामा छन्, त्यसैले पनि झापाको निर्वाचनलाई निकै चासो र महत्वसाथ हेरिँदै आएको छ ।
झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिष्पर्धामा छन् । पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उनको प्रमुख प्रतिस्पर्र्धीको रुपमा चुनावी मैदानमा उत्रिएका छन् । यसपल्ट पनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यो क्षेत्रमा २०७४ सालकै प्रतिस्पर्धी छन् ।
झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा र गौरीगन्ज गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ पर्छ ।
त्यसबेला वाम गठबन्धनका तर्फबाट उमेदवार बन्दै ओलीले ५७ हजार एक सय ३९ मत प्राप्त गरेका थिए ।
अधिकारीले २८ हजार दुई सय ९७ मत पाएका थिए । ओलीले त्यसबेला निकै ठूलो मतान्तरसहित अधिकारीलाई पराजित गरे । फरक मतसंख्या २८ हजार ८ सय ४२ थियो ।
तर,यसपटकको राजनीतिक समीकरणका कारण पनि २०७४ मा पाएको मत जोगाउन ओलीलाई कठिन पर्ने देखिएको छ ।
एमाले विभाजन हुनु, माओवादी सत्ता गठबन्धनमा जानु, स्वतन्त्र उमेदवारी र राप्रपाको मतलगायतका कारण पनि यस क्षेत्र ओलीलाई कठिन हुने विश्लेषण गरिँदैछ ।
त्यसबेला ओलीलाई माओवादीको साथ थियो भने एमाले सग्लै थियो । अहिले एमाले फुटेर एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र पनि अहिले सत्तागठबन्धनमा छन् ।
राप्रपाको मत एमाले अध्यक्ष ओलीलाई नै आउनेमा पार्टीभित्र तथा बाहिर प्रश्न उठ्न थालेको छ ।
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको साथ पाएर दमक नगरपालिकाको मेयरमा राम थापा निर्वाचित भएका कारण पनि राप्रपाको साथ कांग्रेसलाई रहने देखिएको छ ।
पार्टी निर्णय एकातिर र सत्ता गठबन्धन मेयरमा निर्वाचित हुँदा गरेको सहयोगको गुन तिर्नुपर्ने दबाबमा छन्, मेयर थापा ।
साथै मेयर निर्वाचित भइसकेपछि नगर परिषदमा एमालेका जनप्रतिनिधिबाट भएको असहयोगका कारण पनि थापा चिढिएका छन् ।
यद्यपी ओलीको मनोनयन दर्ता गराउने क्रममा थापा निर्वाचन अधिकृतको कार्यालयमा भने उपस्थित थिए ।
यसैगरी यस निर्वाचन क्षेत्रको निर्णायकको रुपमा स्वतन्त्र उमेदवारी दिएका लेखक युग पाठक पुराना अनुहारको विकल्प खोजिरहेको मतदाताको रोजाई बन्न सक्ने देखिन्छ ।
पाठकले शक्तितिर फर्किएको राजनीतिलाई जनतातिर फर्काउन र निरास मुलुकमा आशा ल्याउन उमेदवारी दिएको बताएका छन् ।
ओली २०६४ मा तत्कालीन माओवादीका विश्वदीप लिङ्देन (हाल कांग्रेस)लेसँग मात्र यो क्षेत्रमा पराजित भएका थिए ।
तर, वडाध्यक्षको मत आकलन गर्ने हो भने एमाले अगाडि छ । स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्ष उमेदवारले ४१ हजार ६ सय १९ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धन कांग्रेस, माओवादी र समाजवादीका वडाध्यक्षका उमेदवारले ३४ हजार ६ सय ६९ मत पाएका छन् ।
राप्रपाका वडाध्यक्षका उमेदवारले आठ हजार तीन सय ५३ मत ल्याएका थिए ।
नेकपा एमालेको तर्फबाट अध्यक्ष ओलीसँगै नेपाली कांग्रेसका खगेन्द्र अधिकारी, जनता समाजवादी पार्टी, नेपालका ओम माया आङदेम्बे, नेपाल मजदुर किसान पार्टीको तर्फबाट रुद्रप्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तर्फबाट चन्द्र प्रसाद राजवंशी, जनमत पार्टीबाट भीम राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट सानबहादुर मेचे चुनावी प्रतिष्पर्धामा छन् ।
यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कविन्द्र शेर्मा लिम्बु, नेश्नलिष्ट पिपल्स पार्टीबाट राजन चुडाल, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पदमबहादुर जवेगु, नेपाली कांग्रेस (बीपी)को तर्फबाट सेखरनाथ सेडाई, सचेत नेपाली पार्टीबाट रामप्रसाद पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुरेस कुमार पोखरेल र कल्पना लावती, रोहितप्रसाद पौड्याल, दिपककुमार पाठक, रामचन्द्र बानिया, भेषराज भट्टराई, सिताराम पोख्रेल, तिर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमणि दाहाल, केदारनाथ चापागाई, रेवतीरमण खनाल र तुलसीराम काफ्लेले स्वतन्त्र उमेदवारी दिएका छन् ।