आज साउन ६ गते नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस । मिति २०३९ श्रावण ६ गते बीपी कोइरालाको देहावसान भएको थियो ।
बीपीले नागरिक स्वतन्त्रता, प्रजातन्त्र र राष्ट्रियताका निम्ति संघर्ष गरिरहे । त्यसबेला स्वदेशमा मात्र नभएर विश्व राजनीतिक रंगमञ्चमा आफ्नो उज्ज्वल छवि बनाएका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलन र नागरिक स्वतन्त्रताका एक अमर योद्धाका साथै नेपाली साहित्यका तारा पनि हुन् ।
वि सं १९७१ भाद्र २४ मा जन्मिएका बीपीको पारिवारिक पृष्ठभूमि राजनीतिक एवं सामाजिक थियो । उनका पिता कृष्णप्रसाद कोइराला ( पिताजी) सामाजिक चेतका व्यक्ति थिए । पिताको प्रभाव बीपीमा पनि परेको थियो । आफ्नो जीवनकालको लामो समय उनी प्रवासमा बसे । त्यस्तै २०१७ मा राजा महेन्द्रले कु गरेपश्चात ८ बर्ष जेलमा बसेका बीपी २०२५ देखी २०३३ सम्म भारत बसेँ । विसं २०३३ मा मेलमिलापको निति लिएर नेपाल फर्केपछि भने उनी नेपालमै रहेँ । यसरी हेर्दा जम्माजम्मी उनले १६ वर्षमात्र नेपालमा बसेर खुला राजनीति गरेँको देखिन्छ ।
राणाहरूको एकतन्त्रीय जहानीय शासनका विरुद्ध संघर्ष गर्ने हेतुले बीपीकै अग्रसरतामा विसं २००६ मा नेपाली कांग्रेसको स्थापना भएको थियो । तिनै बीपीले अनेक कष्टहरूको सामना गरेर निर्माण गरेको देशको जेठो राजनीतिक दल नेपाली कांग्रेस अहिले सत्तामा छ । तर, बीपीको राजनीतिक एवं आर्थिक दृष्टिकोणलाई आफ्नो आदर्श मानेको कांग्रेस साच्चै बीपी मार्गमा हिँडेको छ त भन्ने गम्भीर प्रश्न अहिले खडा भएको छ । बीपी भन्थे " हाम्रो मुलुक गरिब छ, हाम्रो मुलुकमा किसान छन् जसले किसानको भलाइ गर्छ त्यही सच्चा र वास्तविक समाजवादी हो" । अहिले कांग्रेस सत्तामा रमाइरहँदा किसानहरू मल नपाएर हारगुहार गरिरहेकाछन् । अहिलेका कांग्रेसका शीर्ष नेताहरू प्रतिष्ठा, पदमा रुमल्लिएर जनताका दैनिक समस्या र राष्ट्रिय आवश्यकता पूरा गर्न असफल भएको आरोप लागेको छ ।
राजनीति मूलतः देशको आर्थिक र सामाजिक धरातलसँग जोडिएको विषय हो। बीपी यी दुवै क्षेत्रमा प्रष्ट थिए तर वर्तमान कांग्रेस आफ्नो आर्थिक एवं सामाजिक दृष्टिकोणमा अस्पष्ट देखिन्छ । त्यतिमात्र होइन सांगठनिक एवं वैचारिकरूपमा चुस्त भएमात्र सफल नेतृत्व प्रदान गर्न सकिन्छ । कांग्रेसले अहिले न सैद्धान्तिक लय समात्न सकेको छ न त सांगठनिकरूपमा प्रष्ट छ । सत्ता र शक्तिकै निम्ति विचार, सिद्धान्त र आफ्नो ऐतिहासिक धरातल भुलेर कम्युनिस्ट पार्टीहरूसँग गठबन्धन गरेको कांग्रेस आफ्ना भातृ एवं शुभेच्छुक संगठनलाई समेत पूर्णता दिन नसकेर आलोचित भइरहेको छ । गुट र उपगुटहरूको चरम दलदलमा फसेका कांग्रेसका नेताहरू अझै पनी बीपी भजन गाउन भने छाड्दैनन्।
राजनीति एउटा साधनमात्र हो साध्य त मुलुक र जनता हुन्। सबैजसो ठूला राजनीतिक रुपान्तरणको नेतृत्व गरेको कांग्रेसले आफू बीपी पथमा हिँडेको दावा गरे पनि बीपीको परिकल्पना र अहिलेको कांग्रेसको यथार्थ पटक्कै मिल्दैन । आफूमाथि मृत्यु दण्डसम्मको सजाय हुनसक्ने मुद्दा रहेको थाहा हुँदाहुँदै पनि राजा र प्रजा नमिले मुलुक दुर्घटनामा पर्छ भन्ने ठानेर २०३३ मा मेलमिलापको नीति लिएर स्वदेश फिर्ता हुने बीपीले स्थापना गरेको हालको कांग्रेस आन्तरिक र बाह्य दुवै नीतिमा असफल देखिन्छ।
कांग्रेस नेताहरूले साच्चै बीपी प्रति श्रद्धा राख्ने हो भने उनले गरेको मुलुकको परिकल्पनालाई सिद्ध पार्न, मुलुकको आवश्यकता बुझेर आफ्नो आचरण र व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ । बीपीको नाम बेचेर जनताको भावनामा प्रहार गर्नुभन्दा बीपी विचारलाई अनसरण गर्दै राष्ट्र निर्माणमा जुट्नसके बीपीप्रति सच्चा सम्मान हुनेछ । (बुटवल)