
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रहितविपरीत नेपाल शक्ति राष्ट्रको रणनीतिक अंग बन्न नसक्ने बताएका हुन् ।
स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)का बारेमा धेरै आशंका रहेको भन्दै उनले यस विषयमा राज्यले थप स्पष्ट पार्नुपर्नेमा जोड दिए । तत्कालीन समयमा नेपाली सेनाले राजनीतिक नेतृत्वलाई जानकारी नै नदिई पत्र लेखेको पाइएको उनले उल्लेख गरे ।
“नेपाली सेनाले एसपीपीबारे निर्देशन पाऊँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार गरेको देखियो । तर, संविधान, कानुन, तालुकदार मन्त्रालयसँग कुनै परामर्श गरेको देखिएन,” उनले भने, “जंगी अड्डाले पत्र पठायो । रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनू भनेको पाइयो । सेनाले पत्राचार गर्यो । त्यो कुरा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको प्रमाण लिखत भेटिँदैन । सम्भवतः सेनाले ठान्यो– रक्षा मन्त्रालयले ‘गो अहेड’ भनेको छ ।”
सन् २०१९ मा इन्डो प्यासिफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यका रूपमा राखेको पाइएपछि एमाले नेतृत्वको सरकारले कार्यदल नै बनाएर एसपीपीलाई स्थगन गरेको उनको भनाइ छ ।