
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत आउनु गम्भीर विषय भएको उल्लेख गरे ।
“एसपीपी परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्नेमा सेनामार्फत आउनु गम्भीर हो,” पुनले भने, “अब यस्तो नहोरियोस्, यो नै अन्तिमपटक होस् ।”
असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल कुनै पनि सैन्य रणनीतिक गठबन्धनमा संलग्न हुन नसक्ने उनले बताए । राजनीतिक नेतृत्वलाई बाइपास गरेर सैनिक नेतृत्वमार्फत एसपीपीको प्रस्ताव आउनुको कारण सबै मिलेर खोज्नुपर्नेमा उनले जोड दिए । यद्यपि, उनले नेपाली सेनाको व्यावसायिक निष्ठामा भने कुनै शंका नरहेको स्पष्ट पारे ।
“नेपाली सेनाको व्यावसायिक निष्ठामा कुनै शंका छैन,” उनले भने, “राजनीतिक नेतृत्वमार्फत आउनुपर्ने प्रस्ताव सेनामार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटक–पटक गरिएको पत्राचारलाई सामान्य रूपले हेरिनु हुँदैन ।”
उनले एसपीपीबाट सरकार पछि हट्नुपर्नेमा जोड दिए । एसपीपी कार्यान्वयनमा गइसकेको अमेरिकी दाबी र कार्यान्वयनमा नगएको भन्ने सरकारको दाबीबीच सत्यता जाँच्नुपर्ने उनले औँल्याए ।