
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र आफूबीच शनिबार छलफल भएको र एसपीपीका बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।
शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा उनले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारे पनि यसको चर्चा–परिचर्चा धेरै भएकाले पुनः छलफल गरिने बताए । अध्यक्ष नेपालले राष्ट्रिय अन्योललाई चिर्दै एसपीपीको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरे ।
एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसद्मा यस विषयमा हंगामा मच्चाउने दल नै जोडिएको कुरा आएको उनले बताए । सरकार र नेपाली सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने पक्कापक्की भएको उनको भनाइ छ ।
उनले देशभक्तिको झन्डा र लोकतन्त्रको झन्डालाई आफ्नो पार्टीले कहिल्यै नछाड्ने स्पष्ट परे ।