
धनुषा । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत धनुषाका १८ पालिकामध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । दुईवटाको मतगणना जारी छ ।
तीमध्ये १० मा नेपाली कांग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)का उमेदवारले विजयी हासिल गर्न सफल भएका छन् । जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा पनि सोही पार्टीका फूलकुमारी यादव विजयी भएका छन् ।
औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशंरप्रसाद साह र उपाध्यक्षमा सोही पार्टीका पुनम साह निर्वाचित भएका छन् ।
धनौजी गाउँपालिकामा कांग्रेसका अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल दुवै पदमा विजयी भएका छन् ।
त्यस्तै, जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपीन देव निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसका कमला सहगल निर्वाचित भएकी छन् ।
विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः एमाले उमेदवार बेचनदास तत्मा निर्वाचित भएका छन् । उपप्रमुखमा पनि सोही पार्टीका आशा झा निर्वाचित भएकी छन् ।
धनुषाधाम नगरपालिको प्रमुखमा कांग्रेसका बालेश्वर मण्डल र उपप्रमुखमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएका छन् ।
कमला नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका उमेदवार विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल निर्वाचित भएका छन् ।
सहिदनगर नगरपालिकाको प्रमुखमा जसपाका उमेदवार दिनेशप्रसाद यादव र उपप्रमुखमा कांग्रेसकी सुनीताकुमारी सिंह विजयी भएका छन् ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपा उमेदवार जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएका छन् ।
बटेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उमेदवार रामअशिष महतो र उपाध्यक्षमा सोही पार्टीकै फूलकुमारी सिंह निर्वाचित भएका छन् ।
मिथिला नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनीतासिंह बुढाथोकी निर्वाचित भएका छन् ।
त्यस्तै, नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेसका उमेदवार विनयकुमार यादव र उपप्रमुखमा एमालेका राधादेवी यादव विजयी भएका छन् ।
गणेशमान चारनाथ नगरपालिकाको प्रमुखमा कांग्रेसका जितनारायण यादव र उपप्रमुखमा कांग्रेसकी तुलसाकुमारी पाण्डेय निर्वाचित भएका छन् ।
त्यस्तै, सबैला नगरपालिकाको प्रमुख पदमा माओवादीका केन्द्रका उमेदवार कारीराम यादव र उपप्रमुखमा रहिमा खातुन निर्वाचित भएका छन् ।
हंसपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका उमेदवार प्रदीप यादव र उपप्रमुखमा कांग्रेसकै दुर्गा देवी निर्वाचित भएका छन् ।
त्यस्तै, मिथिला बिहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्रप्रसाद यादव र उपप्रमुखमा माओवादी केन्द्रका उमेदवार शोभादेवी साह निर्वाचित भएका छन् ।
धनुषाको क्षीरेश्वरनाथमा अहिलेसम्मको मतगणनामा एमालेले र जनकपुरधाममा स्वतन्त्र उमेदवार मनोज साहले निरन्तर अग्रता कायम राखेका छन् । रासस