site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । भारतको राजस्थान, झारखण्ड हुँदै नेपाल भित्रिएको भनिएको युवती तथा महिलाको कपाल (चुल्ठो) काट्ने आतंक तराईका विभिन्न जिल्लामा फैलिएको छ । पर्साबाट सुरु भएको यो आतंक अहिले तराईका रुपन्देही, कपिलवस्तु, बारा र पर्सा हुँदै महोत्तरीसम्म फैलिएको बताइएको छ । 

प्रहरीका अनुसार साउन २९ यता पर्सा, बारा र रुपन्देहीमा गरी २ दर्जन महिलाको चुल्ठो काटिएको छ । पर्सा र बारामा मात्र एक साताको अवधिमा २० महिलाको चुल्ठो काटिएको पर्सा प्रहरी प्रमुख एसपी सुदिप गिरीले बाह्रखरीलाई बताए । 

एसपी गिरी भन्छन्, “घटना रहस्यमय छ । उजुरी परेको छ, हामीले गम्भीर अनुसन्धान गरिरहेका छौं । अहिलेसम्म के हो र कसरी काटिन्छ भन्ने कुरा पत्ता लागेको छैन । पीडित महिलाहरुका कुरा पनि धेरैथरीका छन् ।” 

उनका अनुसार अहिलेसम्म चुल्ठो काटियो भनेर प्रहरीमा आउने १२ वर्षदेखि ३५ वर्षसम्मका युवती तथा महिलाहरु छन् । 

“महिलाहरु घर बाहिर काममा गएका बेला धेरै घटना घटेका छन्,” एसपी गिरीले भने, “व्यक्तिपिच्छे फरक धारणा छन्, खासमा के हो भन्ने बारेमा खुलेको छैन ।” 

प्रहरीका अनुसार रातको समयमा पनि केही महिलाको चुल्ठो काटिएको छ । बेलुका सुतेका महिला बिहान उठ्दा चुल्ठो काटिएको अवस्थामा फेला पर्ने गरेका छन् । चुल्ठो काटिएका महिलाहरु बेहोस हुने र अस्पताल लगेपछि सामान्य उपचारमै निको हुने गरेको पनि एसपी गिरीले जनाए । “हामीले चिकित्सकहरुसँग परामर्श गर्यौं, बेहोस भएका महिला तथा युवतीको समस्या केही देखिँदैन,” एसपी गिरीले भने, “उनीहरुलाई हामीले सोधपुछ गर्दा कसैले किराजस्तो देखेँ भन्छन्, कसैले मानिसको छायाँ देखेँ भन्छन्, कसैले जनावरको छायाँ देखे भन्छन् ।”

यसरी बाहिर आयो घटना

साउन २९ गते वीरगन्ज महानगरपालिका–१६ नगवाकी ३० वर्षीया बगडी चमारिन बेहोस भइन् । उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याइयो । अन्य कुनै समस्याले बेहोस भएको होला भन्दै डाक्टरहरुले चेकजाँच सुरु गरे । स्लाइन चढाएपछि उनको होस आयो, सबै रिपोर्ट पनि नर्मल आयो । तर उनको कपालको चुल्ठो काटिएको देखियो । सामान्य उपचारपछि उनी घर गइन् । त्यसै दिनदेखि अन्य महिलाको पनि चुल्ठो काटिन थाल्यो । 

टाउकोको पछाडिपटिको भागमा कुनै अज्ञात जीवले झट्का दिएजस्तो हुने र बेहोश हुने अनि अस्पताल पुर्याइएपछि होसमा आउँदा चुल्ठो काटिएको भेटिने गरेको बताइएको छ । यो घटना अहिले तराईका विभिन्न जिल्लामा फैलँदै गएको प्रहरीको भनाइ छ । 

नमुना जाँच्न काटिएको चुल्ठो ल्याबमा पठाइयो 

बारा, पर्सामा काटिएको चुल्ठोको कपालको नमुना काठमाडौंस्थित फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको एसपी गिरीले बताए । “सत्य कुरा के भन्ने अहिलेसम्म पत्ता लागेको छैन, हामीले नमुना जाँचका लागि पठाएका छौं, रिपोर्ट आएपछि थाहा होला,” एसपी गिरीले भने । 

महिलाको चुल्ठो काटिने घटनापछि तराईका जिल्लामा अशान्ति नै मच्चिएको छ । यही आरोपमा ६ जनालाई स्थानीयले कुटपिट गरेको प्रहरीले जनाएको छ । बालिका, बाटोमा मागेर खाने, बोल्न नसक्ने तथा नचिनेका व्यक्ति देख्नेबित्तिकै मानिसहरु त्रसित भएर शंका गर्ने गरेको एसपी गिरीले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro