site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी मनाउँदैछन् तेस्रोलिंगीले तिज

काठमाडौं । रातो साडी, रातै ब्लाउज र रहरलाग्दा पहेँला गहना लगाएर आमा ब्रत बस्थिन्, मनिषा (ढकाल) को मन भतभति पोल्थ्यो । “म पनि त्यसैगरी व्रत बस्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो,” मनिषा दुई दशक अगाडि फर्किइन्, “भोलिपल्ट आमाले बुबालाई पूजा गरेर पान सुपारी दिनुहुन्थ्यो, मलाई पनि त्यस्तै रहर लाग्थ्यो ।”

सबै रहर पूरा हुँदैनन् । समाजका नियम, बन्धन र परिवेशभित्र बसिसकेपछि सबै चाहेको कुरा गर्न पनि पाइँदैन । महिलाको पर्व तिज मनिषाले मनाउन पाउने कुरै भएन । त्यो बेला उनी पुरुषको गेटअपमै थिइन् । नाम थियो सुवेन ढकाल । जिम्मेवारी थियो वंश धान्ने सन्तान । 

समयसँगै तिज आए, गए । उनका कति रहर पलाए र उसैगरी ओइलाए । समय फेरिँदै गयो । इच्छा आकांक्षाहरुले पनि बाटो पहिल्याउँदै गए । सन् २००१ मा नील हिरा समाजको स्थापना भयो । समलिंगी तथा तेस्रोलिंगी संगठित भए । मनिषाहरु परिवारसँग विद्रोह गर्न थाले । क्रस ड्रेसमा हिँड्न थाले । तिज मनाउन थाले, आफ्नै आमाले जस्तै । रातो साडी रातो ब्लाउज र रहरलाग्दा पहेँला गहनामा सजिएर । 

एक साल त मनिषा आफ्नो हुनेवाला पतिदेवका लागि व्रत पनि बसिन् । “पानी पनि नखाई म त्यो साल उसकै लागि भनेर व्रत बसें,” उनले आफ्नो विगत सम्झिइन्, “तर त्यसपछि भने कहिल्यै पनि निराहार व्रत बसेकी छैन । तर तिज भने मनाउँछु ।” 

अरु आफ्नो पति वा हुनेवाला पतिका लागि तिज मनाउँछन्, व्रत बस्छन् । तर, मनिषा के माग्छिन् तिजमा ? “म हामीजस्ता सारा नेपाली र विश्व ब्रम्हाण्डकै समलिंगी तेस्रोलिंगीको मनोकांक्षा पूरा होस् भने तिजमा कामना गर्छु,” उनी भन्छिन्, “जसरी महिलाले सहजै मनाइरहेका छन्, उनीहरुको जस्तै तेस्रोलिंगीले पनि तिज घरमै बसेर मनाउने वातावरण बनोस् भन्ने मनमा सोच्छु ।” तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजकी कार्यकारी निर्देशक समेत रहेकी उनी मानवमात्रै होइन, सबै जिवात्माको सुख शान्तिको कामना गर्दै तिज मनाउँछिन् ।

० ० ०

तेस्रोलिंगी अधिकारकर्मी पिंकी गुरुङ यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था नील हिरा समाजकी अध्यक्ष हुन् । उनले मंगलबार आफ्नो फेसबुक एकाउन्टबाट भदौ ८ (बिहीबार) लाई दर खाने निम्तो दिइन् । घरबाट टाढिएर बसेका तथा काठमाडौंमा संगठित भएका तेस्रोलिंगी तथा समलिंगीलाई तिजको कार्यक्रम आयोजना गरेर समाजले तिज मनाउँदै आएको गुरुङ बताउँछिन् । 

उनका अनुसार यो वर्ष काठमाडौंका तेस्रोलिंगीले फरक तरिकाले तिज मनाउँदैछन् । गुरुङ भन्छिन्, “तस्रो लिंगीहरुका लागि तिजको मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको छ । कार्यक्रमको आकर्षणका लागि उत्कृष्ट हास्य नृत्य, उत्कृष्ट पहिरन, उत्कृष्ट प्रस्तुति र उत्कृष्ट सुन्दरीको उपाधिहरु राखेर सानो उपहारको पनि व्यवस्था गरेका छौं ।”

उत्कृष्ट नृत्य पहिरन, प्रस्तुति र सुन्दरीको निर्णय निर्णायक बसेर नगरिने भन्दै उनले उपस्थित दर्शकलाई भोटिङ गर्ने व्यवस्था मिलाउने र जसले बढी भोट ल्याउँछ उही उत्कृष्ट हुने बताइन् ।   

यो पटक समाजले फरक तरिकाको तिजको परिकल्पना गरेको बताउँदै उनले समलिंगी तेस्रोलिंगीका शुभचिन्तक, समर्थक, पत्रकारका साथै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका अभियन्तालाई निम्तो गरिएको बताइन् ।

“तेस्रोलिंगीहरु घरबाट अपहेलित भएर परिवारबाट टाढिएका हुन्छन् । चाडपर्वमा घरबाट नबोलाउँदा तेस्रोलिंगीहरु झनै दुःखी हुन्छन् । मानसिक चोट पुग्छ,” गुरुङ भन्छिन्, “हाम्रा साथीहरुलाई नील हिरा समाज नै घर हो र हाम्रो अभिभावक छ हामी दुःखी हुनु पर्दैन मनमा होस् भनेर पनि हामी बर्सेनी एकै ठाउँमा बसेर तिज मनाउँछौं ।”

रमाइलो मात्रैका लागि तेस्रोलिंगी तिज मनाउँदैनन् । अधिकारका लागि र राज्यसँग कानुनी अधिकार माग्न र समाजलाई सचेत गराउन उनीहरु तिज मनाउँछन् । “संविधान र कानुनमा अधिकार लेखेर मात्रै हुँदैन । समाजले पनि समलिंगी तेस्रोलिंगीलाई स्वीकार गर्ने वातावरण बन्नुपर्छ,” गुरुङ अगाडि भन्छिन्, “तिजमा सासुले बुहारीमाथि गर्ने खटनपटन गर्ने गरेको कुरा तिजमा महिलाले माइती तथा साथीसंगी सँग साट्छन् । त्यस्तै हामी पनि तिजमा हाम्रा अधिकारका विषयमा कुरा गर्छौं । अधिकारको आवाज तिजमार्फत सरोकारवालासम्म पुर्याउँछौं ।” 

० ० ० 

तीन वर्ष अगाडि श्याम रानाले एउटा तिज गीत निकाले । गीतको बोल थियो, ‘खै त मलाई अधिकार नयाँ नेपालमा ...।’ यो गीत नेपाली सांगीतिक आकाशमा तेस्रोलिंगीले तेस्रोलिंगीको अधिकारका लागि भनेर निकालेको पहिलो गीत थियो । विभिन्न रोधी साँझहरुमा दोहोरी गाउने उनले बजारमा ल्याएको गीत राम्रै चल्यो । त्यसयता भने कसैले पनि तेस्रोलिंगीका बारेमा तिज गीत निकालेको छैन । 

तर, तिज भने उनीहरुले मनाउन छाडेका छैनन् । मकवानपुरकी वर्षा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि तिज मनाउँदैछिन् । आफूलाई महिला भन्ने महिलाकै गेटअपमा हिँड्ने उनी ब्रत पनि बस्दैछिन् । राम्रो पति पाउँ भनेर ब्रत बस्न लागेको बताउने उनी विस्तारै विगतका वर्षमा जस्तो तेस्रोलिंगीलाई स्वीकार नगर्ने परम्परा हट्दै गएको बताउँछिन् । 

मकवानपुरकै तेस्रोलिंगी जुली चेपाङ पनि तिज मनाउँदैछिन् । क्रिश्चियन भएकाले पनि उनी वर्षा जस्तो ब्रत भने बस्दैछैनन् । तर पनि साथीहरुसँग जमघट गरेर तिज भने मनाउँदैछिन् । “हामी जस्तो तेस्रोलिंगीलाई कसले स्वीकार गर्छ र पुरुषले स्वीकार गरे उसको परिवारले स्वीकार गर्दैन,” उनले गुनासो पोखिन्, “त्यसैले म त व्रत बस्दिन । सामान्य तरिकाले तिज मनाउँछु ।”

उनको आफ्नै सपना छ आफ्नो जीवनसाथीको बारेमा । “तेस्रोलिंगीको फिलिङ्सलाई बुझ्ने, मेरो श्रीमती हो भनेर घर परिवार र समाजलाई चिनाउने श्रीमान् भए म पनि व्रत बस्थें होला,” जुलीले भनिन्, “आजसम्म यस्तो व्यक्ति मैले भाग्यमा आएको छैन । हेरौं भोलिको दिनमा के हुन्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro