
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेले विजय सुवेदीलाई अघि सारेको छ । यसअघिको स्थानीय तह निर्वाचनमा भरतपुरमा माओवादी केन्द्रले जितेको थियो ।
तर, अहिले एमालेले उमेदवार फेरेर दुईपटक एमाले चितवनको नेतृत्व गरिसकेका सुवेदीलाई अघि सारेको छ ।
प्रस्तुत छ भरतपुर महानगरमा नेकपा एमालेको चुनावी तयारी, गठबन्धन र त्यसको प्रभाव, नेकपा एमालेको अवस्थालगायतका विषयमा बाह्रखरीका बलराम पाण्डे, रमेश वाग्ले र केशवराज जोशीले गरेको कुराकानीको सम्पादित अंश :–
निर्वाचनको माहोल कस्तो पाउनु भएको छ ?
म राजनीतिलाई सीधा सरल हिसाबले बुझ्छु । प्रत्येक मानिसले जे बोल्छ त्यही गर्छ भन्ने मेरो बुझाई छ । किताबमा जे छ त्यही व्यवहारमा लागु हुनुपर्छ भनेर बुझ्छु ।

हामीले त्यत्रो ठूलो परिवर्तन क्रान्ति गर्यौँ । सारा मानिसलाई परिवर्तको लागि आह्वान गरौँ । मान्छेहरुले सहादत दिए । घाइते भए, अंगभंग भए । सारा जीवन, जवानी दिए । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीको आह्वानमा रहेर परिवर्तन र स्वतन्त्रताको लागि काम गर्यौँ ।
मलाई के लाग्छ भने स्वतन्त्रता र सबै कुरा प्राप्त भएपछि मान्छेको जीवन परिवर्तन हुन्छ । राजनीतिक क्रान्ति पूरा भएपछि चाहिँ प्रजातन्त्र, लोकतन्त्र हुन्छ । कुनै किसिमको झैझगडा हुँदैन । सबै मानिसले प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनमा भाग लिन्छन् । जित्ने मान्छेले नेतृत्व गर्छन् । अन्य मान्छेले सहयोग गर्छन् । फेरि अर्को पटक प्रतिस्पर्धा हुन्छ । फेरि जसले जनताको विश्वास जित्छ त्यसले मत पाउछ । कुनै प्रकारको द्वन्द्व, झैझगडा र हड्ताल हुदैँन । आपसी सहमति र सम्झौताबाट सबै हुन्छ । अब एउटा राम्रो समाज व्यवस्था आउछ भन्ने मलाई विश्वास थियो ।
तर, त्यो व्यवस्था चाहिँ भइरहेको छैन । हामी ०६२–६३ को आन्दोलनपछि लोकतन्त्र आए पनि पुरानै घटनाक्रम जोडिएको छ ।
त्यसकारण मैले बुझेको राजनीति जनताको विकासबिना सम्भव छैन । जसरी सम्पूर्ण राजनीतिक पार्टी मिलेर क्रान्ति भयो भने विकासको लागि पनि सबैको सहभागिता जरुरी छ । जसले जित्छ नजितेका पनि सबै मानिसलाई सबै राजनीतिक पार्टीलाई, महानगर बनाउन आवश्यक सबै प्रबुद्ध वर्ग र महानगरपालिका बनाउनको लागि आवश्यक जति जनशक्ति छ, प्रत्येक नागरिक विकासको लागि सम्पूर्ण मानिसको व्यवस्थापन भरतपुर महानगरपालिकाको लागि गर्नुपर्छ । मैले आफ्ना विचार राखेको छु । जहाँ जान्छु मान्छेहरुको शुभ आशीर्वाद पाएको छु । सम्पूर्ण जनताको अपेक्षा छ त्यो अपेक्षा कसरी पूरा गर्ने जिम्मेवारी बोध हुन्छ मलाई ।
गठबन्धनको उमेदवार जिताउन सिंगो राज्य नै लागेको छ भन्छन् तपाईं कतिको चुनौती अनुभूति गरिराख्नु भएको छ ?
मैले यसमा के सोच्छु भने किन त्यस्तो कुरा सोचिराखेका होलान् । म विजय सुवेदी, एक साधारण नागरिक हुँ ।
मेरो इतिहास हेर्नुभए हुन्छ, म साधारण जीवनयापन बिताउन चाहन्छु । म जहाँ काम गर्छु, म त्यसलाई राम्रोसँग पूरा गरेर छाड्छु । हरेक काममा ध्यान दिएर गरिरहेको छु । एउटा महानगरपालिका बनाउँछु, बनाउन सकिन्छ । त्यसमा मलाई नेता हुनु छैन । सबैको सहजकर्ता भएर सबैको संयोजन गर्छु भनेर म आइरहेको छु ।
आजमात्र होइन, मैले २०६३ सालदेखि दलहरुलाई संयोजन गर्ने काम गरिरहेको छु । राजनीतिक क्रान्ति सकेपछि २०६३ को जेठ ६ सबै राजनीतिक दलहरुलाई राखेर हाम्रै कार्यालयबाट घोषणा गरायौँ– अबको विकास हामी सबै मिलेर गर्ने हो । सबै दल मिलेर गर्ने साझा एजेन्डाका साथ गर्ने भनेर हामी प्राथमिकताका आधारमा काम गर्ने भनेर त्यो सहमतिको घोषणा त्यतिबेला गरेका थियौँ ।
नेपाली कांग्रेस, नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीलगायतका सबै पार्टी त्यस सहमतिमा थिए । त्यसपछि नेतृत्व राजधानी बनाउन लाग्याँै । त्यसपछि सबै पार्टीले नै मलाई चितवन उपत्यकाको गुरु योजना निर्माण समितिको संयोजक बनायो ।
हामी सबै मिलाएर गुरु योजना बनायौँ । अब त्यो गुरु योजनालाई कार्यान्वयन गर्नुपर्नेछ । त्यो कार्यान्वयन गर्न राज्य पुर्ननिर्माण संरचनापछि जिल्ला विकास समितिको अधिकारलाई खुम्चिएको छ । त्यस्तो अवस्थामा सबै भन्दा ठूलो इकाई भनेको महानगरपालिका नै हो । जहाँ हामी बसोबास बस्छाँै । त्यसकारणले हामी यो काम गर्न लागिरपरेका छौँ ।
हाम्रो चितवनको ०६२–६३ पछि विकासको आफ्नै परम्परा र निरन्तरता छ । हामी सबै साथीभाई मिलेर बस्न चाहन्छौँ, चितवनमा । हामी मिलेर बसेको राजनीतिक पार्टी, कार्यकर्ताहरु हिजो हामी आन्दोलनमा सँगसँगै थियौँ । मलाई कुनै पार्टीको कार्यकर्ता भेट्दा एमाले हो कि कांग्रेस हो छुट्याउँदैनन् ।
त्यसरी मिलेर हामीले यहाँ काम गरेको हो । नेकपा एमालेको यहाँ म तीन चोटीसम्म पार्टी प्रमुख भए । मेरो काम एमालेको पार्टी पंक्तिलाई बचाइराख्ने काम थियो । त्यसैले माओवादीसँग यस्तो किसिमको सम्बन्ध राखेको थिएँ –जसले गर्दा नेकपा एमालेका कार्यकर्ता अंगभंग र घाइते केही पनि हुनु परेन । उहाँहरुसँग जंगलमा गएर पनि वार्ता गर्थे । आफ्नो पंक्तिलाई सुरक्षित राखेको थिए । त्यसरी सहकार्य गरेर आएका हामी अब पनि त्यसरी नै सहकार्य गरौँ ।
भरतपुर महानगरवासी जनताले आफ्नो भाग्यको फैसला आफैँ गर्ने हो, कसैको निर्देशनमा होइन । कसैलाई निर्देशन दिने अधिकार पनि मेरो विचारमा छैन ।
तपाईं उमेदवार भइसकेपछि बीपीको शालिकमा जानुभयो, कांग्रेसको कार्यकर्तासँग भेटघाट गरिराख्नुभएको छ । कांग्रेसका असन्तुष्ट पक्षसँग सहकार्य गर्दै हुनुुहुन्छ ?
मैले व्यक्तिगत रुपमा आह्वान गरेको छु । सम्पूर्णलाई समूहगत रुपमा भन्दा पनि एकजना सार्वभौम नागरिकलाई म सम्पूर्ण देख्छु । त्यसकारणले यस हिसाबले समूहगत रुपमा डिल गर्ने, यति उति बनाउनुस् भन्ने होइन, व्यक्तिगत रुपमा आह्वान गरेको छु ।
चितवनमा २०६२ र ६३ को आन्दोलन भयो । त्यत्रो मान्छे सडकमा आए । त्यो आन्दोलन संयोजन यथार्थरुपमा मैले गरेको थिएँ ।
अरु राजनीतिक पार्टीलाई माओवादीसँग सहकार्य गर्न आन्दोलन चलिरहेकै बेलामा एक चोटी सबै कांग्रेस, कांग्रेस प्रजातान्त्रिकका साथीहरुलाई गौरीगञ्जमा मैले नै माओवादी साथीहरु भेट्न लिएर गयौँ । भेट्ने क्रममा सेनाले घेराउ गर्ने भयो । त्यसपछि त्यहाँबाट हामी आयौँ । यसरी हामीले संघर्ष गरेर परिवर्तन ल्यायौँ ।
सपना सहिदहरुको जीवनमा परिवर्तनमा आउछ भन्ने थियो । त्यो परिवर्तन आउन सकेन । म एमालेको कार्यकर्ता हो, तर पहिला भरतपुर राम्रो होस् भन्ने चाहन्छु ।
एमालेकै कार्यकर्ताले मात्र बनाउनुपर्छ भन्ने होइन, जसले बनाए पनि हुन्छ । एकपटक २०७३ मा यो महानगर बनीसकेपछि प्रचण्ड आउनु भएको थियो । सर्वलदलीय बैठक राखिएको थियो । त्यहाँ मैले उहाँलाई चितवनको विकासको लागि हामीलाई नेतृत्वको आवश्यकता छ, हजुर चितवन आउनुहोस् । हामी चितवनको गुरु योजना बनाएका छौँ । त्यो लागु गरौँ, तपाईं आउनुस् भनेको थिएँ ।
चितवन बनेको तपाईंले गुरु योजना बनाएर हो कि माओवादीले भनेको जस्तो २०७४ पछि हो ?
त्यसोभए, २०७४ माओवादीको नेतृत्वमा महानगरपालिकाले बनाएको र पूरा गरेको एउटै मात्र योजना बताइदिनुस् न मलाई ! यो गोन्द्राङबाट पुलचोक जाने सडक छ, उहाँको भित्रि आत्मा बोल्छ भने यो सडक मेयरसाबलाई बनाउन कसले आइडिया दिएको हो
?
यो भन्दा पहिले डा. बालकृष्ण थापा मिलेर चौवीसकोटीलाई एउटा विदेशमा गएको जस्तो अनुभूति दिउँ भनेर रेखा कोरेका थियौँ । पछि उहाँको मृत्यु भयो । मेयरसाबलाई गोन्द्राङ बनाउने सडक राम्रो बनाउने आइडिया दियौँ ।
हजुरले बनाएको शिलान्यास गरेको पूरा गरेको एउटा योजना बताइदिनुस् भन्नु न । अब रिङरोड बनाउने भनेको छ । तर त्यसको सिमांकन अझै भएको छैन । कहाँ छ रिङरोड ? पाँचवर्षको अवधि भनेको सानो अवधि हो ?
त्यसोभए नेकपा एमाले र तपाईंलाई बितेका पाँच वर्ष खेर गएको जस्तो लाग्छ ?
म उमेदवार छु । उमेदवार भएकोले अरु कसैलाई नराम्रो भन्न मिल्दैन । अरुले विश्लेषण गरुन् । कहाँ के परिवर्तन भयो त ?
अब तपाईँ सडकमा जानुहुन्छ, फुटपाथमा मान्छे त्यसै अलपत्र छन् । सडकमा फोहोर छ । व्यवस्थापन भएको छैन । मान्छे हिँड्ने पेटी र छहारीको व्यवस्था छैन ।
पानी आकाशबाट पर्यो भने जताततै डुबान हुन्छ । पानीको निकास दिने गुरु योजना छैन । डुबानको समस्या छ । बिरामी अस्पताल जाँदा सरकारी अस्पतालको हालत खराब छ । महानगरको आफ्नै अस्पताल छैन । सबै स्थानमा स्वास्थ्य चौकी बनेका छैनन् । सरकारी कार्यालयमा सेवाग्राहीले धेरै समस्याको भुक्तभोगी हुनु परेको छ ।
यसअघि मेयरको उमेदवार जितेर पनि हार्नुभयो, मतपत्र चपाइयो, च्यातियो । त्यस्ता कुरामा कति सचेत हुनुहुन्छ ?
म चितवनबासी जनता हुँ । गएको निर्वाचनमा चितवनबासी जनताको निधारमा कलंक लाग्यो । हामीले लोकतन्त्रलाई जोगाउन सकेनौँ । जनताले चाहेको प्रतिनिधिलाई हामीले जिताउन सकेनौँ ।
नागरिकको काम मतदान गर्ने हो । उहाँहरुले आफ्नो काम गर्नुभयो । त्यो मतदानको संरक्षण गर्ने सरकारको दायित्व होइन ? सरकारले प्रजातान्त्रिक प्रक्रिया अपनाउनु पर्दैन ?
सरकारले आफ्नो दायित्व पूरा गर्नु पर्दछ । पूरा गरोस् भन्ने चाहन्छु र चितवन भनेको अलिकति अग्र रुपमा अगाडि बढेको जिल्ला हो ।
यसपल्ट सरकाले आफ्नो दायित्व पूरा गर्ने देख्नुहुन्छ ?
मेरो विचारमा पुरानै इतिहास दोहोर्याउनु हुँदैन । त्यसमा सबै नागरिकले सचेतसाथ विश्वभरिबाट हेर्नु भएको छ । लोकतन्त्र भनेको के हो ? त्यत्रो सहादत गरेर, आन्दोलन गरेर ल्याएको परिवर्तन के हो ?
मुख्य कुरा व्यक्तिले, जनताले, पार्टीले आफ्नो विचार अनुसारको मान्छे उठाउने, व्यक्तिले आफ्नो इच्छाअनुसार व्यक्ति उठ्न पाउने, जनताले आफूले चाहेको व्यक्तिलाई निर्वाध रुपबाट मतदान गर्ने र निर्वाचित भएको घोषणा भएपछि उसले काम गर्ने, निर्वाचित हुँदा उसले नेतृत्व भएर प्रतिनीधि भएर काम गर्ने, प्रतिनिधि हुन सकेन भने फेरि तल बसेर जनताको विश्वास लिएर फेरि निर्वाचनको लागि प्रयत्न गर्ने हो ।
यो पद भनेको त्यस्तो ठूलो होइन । जनताको सेवाको लागि हो । जनताले चाहँदैनन् भने जबर्जस्ती कुर्सीमा बस्ने त्यो कति मानवियता, लोकतान्त्रिक र जायज छ ?
मेरो लागि यदि यस्ता काम हुन्थे भने मैले त तुरुन्तै राजीनामा गरिदिन्थे । यसरी जनताको मतको बर्खिलाप गरेर पदमा पुग्नु छैन । किनभने हामी सर्वसाधारण नागरिकका छोराछोरी हौँ । अरु सब मेयर नभएर भएको छ भने हामीलाई नै किन हुनुपर्यो । मेयर हुनु भनेको यो ठाउँ बनाउनका लागि हो ।
तपाईँ र कांग्रेसबाट बागी उठ्नुभएका जगन्नाथ पौडेलबीच सहकार्यको कुरा हुँदैछ, अन्तिम समयमा एकैठाउँ हुन सक्छन् भन्ने सुनिन्छ हो ?
यो नेपाली कांग्रेसको आफ्नै कुरा हो । जगन्नाथजीको आफ्नै कुरा हो ।
चितवनका साथीको आफ्नै कुरा हो । त्यसैले यी कुराहरुको सन्दर्भमा हाम्रो केही भूमिका छैन । यो उहाँहरुको प्रजातान्त्रिक अधिकार हो । यसको प्रयोग उहाँहरुले गर्नुभएको छ ।
गठबन्धन स्वभाविक होइन भन्दै हुनुहुन्छ तर तपाईं आफैँ राप्रपासँग मिलेर चुनाव लड्दै हुनुहुन्छ । यसले तपाईँले उठाएका विषयलाई खण्डन गर्दैन ?
राप्रपासँग हाम्रो गठबन्धन होइन । हाम्रो भोटको तालमेल हो । उहाँ उपमेयर हुनुहुन्छ, हामीले उपमेयरलाई भोट दिन्छौँ । म मेयरमा उठेको छु । मेयरमा भोट दिनुहुन्छ । हाम्रो सैद्धान्तिक राजनीतिक एकता होइन, विकासको लागि एकता हो ।
अब बाँकी दिनमा आउने राजनीतिक उतार–चढावले परिणाम अनपेक्षित हुन्छ भन्ने लाग्दैन ?
किन उतार चढाव आउनु । सबैले आफ्नो विचार राखेकै छ । हामीले आफ्नो विचार राखेका छौँ । मतदाताहरु आ–आफ्नो हिसाबले मतदान गर्न तयार हुनुहुन्छ । मैले अहिलेको स्थितिमा कुनै पनि नयाँ परिणाम आउने देख्दिन ।