
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरूले एमसीसी सम्झौता पारित गरेकामा नेपालको संघीय संसद्प्रति आभार व्यक्त गरेका छन् ।
नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंको एक होटेलमा भएको अन्तरक्रियामा उनीरूले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरूको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जासहितका लागि एमसीसी अति महत्त्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको सांसद डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरूले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताए ।
दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरू नेपाल भ्रमणमा आएका हुन् । भ्रमण टोलीले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै शिष्टाचार भेट गरी द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।