
काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले आफ्नो जिल्ला कालीकोटमा सबैलाई मिलाएर सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने बताएका छन् ।
उनले कालीकोटमा तालमेल गर्न कुनै समस्या नरहेको जिकिर गरे । ‘‘गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । सबैलाई खुसी पारेर गठबन्धन गरेर जाने हो । कालीकोटमा समस्या छैन । विवाद त अन्तिम उमेदवारी दिने बेलासम्म भइरहन्छ । आज साँझसम्म केही न केही निष्कर्षमा पुग्छौँ,” उनले भने ।
आफूले जितेका पालिका छोड्न नमान्दा कर्णालीका स्थानीय तहमा तालमेलबारे टुंगो लागेको छैन । प्रदेशका शीर्ष नेताहरूकै गृहजिल्लामा तालमेलबारे विवाद चर्किंदै गएको छ ।
पाँचदलीय गठबन्धन संयन्त्रको बैठकले कर्णालीका १० वटै जिल्लालाई वैशाख २ गतेभित्र सिट बाँडफाँड टुगो लगाएर पठाउन निर्देशन दिएको थियो । तोकिएको समयमा टुंगो लगाउन नसक्दा एक दिन थप गरिएको थियो । तर, अहिलेसम्म पनि कुनै टुंगो लागेको छैन ।
डोल्पा, हुम्ला, सल्यान र मुगुमा भने तालमेल नगरी निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय दलहरूले गरिसकेका छन् । कालीकोट र रुकुमपश्चिममा माओवादी केन्द्र र जुम्लामा नेपाली कांग्रेसको अडान यथावत् छ ।