
काठमाडौं । नेपाली कांग्रेसमा आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा उमेदवार चयन गर्नेलगायत विषयमा छलफल भएको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उमेदवार चयनको मापदण्ड, चुनावी तालमेललगायत विषयमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए ।
"धेरै कुरामा छलफल भयो । महानगर र उपमहानगरमा कसरी उमेदवार चयन गर्ने भन्ने छलफल भयो," उनले भने ।
पार्टीको केन्द्रीय समितिले चुनावी तालमेलसम्बन्धी निर्णय गरिसकेको भन्दै उनले तालमेल स्थानीय आवश्यकताअनुसार हुनुपर्नेमा जोड दिएका थिए । "स्थानीय समितिहरूले त्यो आवश्यकतालाई सबभन्दा राम्रोसँग बुझ्छन् । माथिबाट निर्णय लाद्नु हुँदैन," उनले बैठकमा भनेका थिए ।
नेता अर्जुननरसिंह केसीले भने निष्पक्ष, पारदर्शी र उपयुक्त ढंगले उमेदवार चयन गर्नुपर्ने बताए । उमेदवार चयनका विषयमा पार्टीभित्र सहमति हुनुपर्ने उनको भनाइ थियो ।
"गठबन्धन आफ्नो ठाउँमा, तालमेल आफ्नो ठाउँमा छँदै छ । सबभन्दा पहिला नेपाली कांग्रेसका तमाम कार्यकर्ता र नेतृत्वले सहमति खोज्ने कि विनाश रोज्ने भन्ने कुरामा गम्भीर हुनुपर्ने आवश्यकता छ," उनले बैठकमा भनेका थिए, "निष्पक्ष, पारदर्शी र उपयुक्त ढंगले चयन गर्ने कुरातिर केन्द्रित हुनुपर्ने आवश्यकता छ ।"
उनले चुनावी तालमेलका विषयमा प्रस्ट खाका आउनुपर्ने भन्दै तालमेलको निश्चित मापदण्ड के हो ? भनी प्रश्न गरेका थिए । "धेरै ढिलो नगरौँ । हरेक तहमा सहमतिपूर्ण निकास निकाल्नका निम्ति कार्ययोजना र निश्चित मापदण्ड चाहिन्छ," उनले बैठकमा भने ।
सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल गर्ने निर्णय भइसकेको भन्दै सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिएको नेता साउदले जानकारी दिए ।