
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिए । उनले आफूहरूकै कारण 'केपी ओली सत्ताको सगरमाथाबाट भुइँमा पछारिएको' जिकिर गरे ।
ओलीको अहंकार अलिकति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उनको भनाइ थियो ।
चुनावी तालमेलका क्रममा वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा उनले राखे । सत्ता गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।
उनले पोखरा महानगरपालिकामा आठ हजार पार्टी सदस्यहरू रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए ।
कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाए । उनले ६ महिनाको अवधिमा एकीकृत समाजवादीलाई राष्ट्रव्यापी पार्टी बनाएको भन्दै एक वर्षभित्र नीति र सिद्धान्तअनुसार चल्ने देशको ठूलो पार्टी बन्ने दाबी गरे । ओलीकै कारण पार्टी एकता जोगाउन नसकिएको उनको भनाइ थियो
कार्यक्रममा विभिन्न पार्टी कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।