
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताएका छन् । एमाले राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धारका रूपमा रहेको उनको भनाइ छ ।
उनले सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको आरोप लगाए । माओवादीलाई नक्कली राष्ट्रवादीको संज्ञा पनि दिए ।
"नेकपा (एमाले)ले एउटा फरक धारको नेतृत्व गरिराखेको छ, देशमा । नेकपा (एमाले)ले नेतृत्व गरेको धार भनेको देशभक्तिको धार हो । राष्ट्रवादको धार हो । राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धार हो," उनले भने, "एमसीसी राष्ट्रघाती छ भनेर कराउने, बाहिर कार्यकर्ता उचाल्ने, सडक भत्काउन लगाउने, ढुंगा हान्न लगाउने, मारामार गर्न लगाउने, भित्र आफूहरूले हुन्छ हुन्छ भनेर हात उठाएर ताली बजाएर पास गराउने, एकथरीलाई पास गर्नै हुँदैन भनेर सडकमा उतार्ने । आफैँले सडकमा नारा लगाउँदा ए, त्योचाहिँ नारा नलगाऊ भन्ने, सुटुक्क एमसीसीलाई पत्र लेख्ने अनि यो पत्र बाहिर कसरी आयो भन्ने ।"
उनले थपे, "नेपाली जनतासँग छल्ने, विदेशीसँग साँठगाँठ गर्ने । विदेशीसँग गोप्य साँठगाँठ यस्तो किन गर्नुपर्यो ? यस्तो दोहोरो डिलिङ, नक्कली राष्ट्रवादी किन हुनुपर्यो ?"
अध्यक्ष ओलीले देशमा आर्थिकसम्बन्धी समस्या देखापरेको पनि बताए । बैंकहरूसँग ऋण दिने पैसा पनि नभएको उनले उल्लेख गरे ।
आफू नेतृत्वको सरकार हुँदा सयौँ विकास निर्माणसम्बन्धी काम गर्न पनि पैसा पुगेको भन्दै उनले वर्तमान सरकार आएसँगै पैसा नभएको देखेर 'अचम्म लागेको' टिप्पणी गरे । भित्रभित्रै पुँजी पलायन भइरहेको भए पनि त्यसतर्फ सरकारको ध्यान नगएको उनले भनाइ छ ।