
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका समयमा तमोर जलाशययुक्त आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
आयोजना प्रभावित क्षेत्रका नागरिकका तर्फबाट प्रतिनिधिसभाका सांसदहरू योगश भट्टराई, विजय सुब्बा, भवानीप्रसाद खापुङ, वसन्त नेम्वाङ र राजेन्द्र राईले बिहीबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै नेकपा (एमाले)का नेता तथा ताप्लेजुङका सांसद भट्टराईले यसअघिका सरकारलाई पनि उक्त आयोजना अघि बढाउन ध्यानाकर्षण गर्दै आए पनि सोचेअनुरूप काम अघि नबढेकाले पुनः ध्यानाकर्षण गरिएको जानकारी दिए । उनले उक्त आयोजना निर्माण भए प्रदेश नम्बर–१ का साथै सिंगो मुलुकको आर्थिक समृद्धिका लागि दीर्घकालीन रूपमा ढोका खुल्ने बताए ।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रदेश–१ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा हुँदै बहने तमोर नदीमा २०५ मिटर अग्लो बाँध बाँधेर ७६३ मेगावाट विद्युत् उत्पादन गर्न लगानी बोर्ड र पावर चाइना कर्पोरेसनबीच सम्झौता भएको थियो ।
त्यसबखत दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गरी आठ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म लगानीको मोडल निश्चित हुन नसकेको ज्ञापनपत्रमा उल्लेख छ ।