
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा डेरा गरी बस्दै आएका २५ वर्षीय सुरज खड्काको ज्यान लिने उद्देश्यले खुकुरी प्रहार गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले हिजो काठमाडौंको शंखमूल पुलनजिक फलफूल पसलअगाडि खड्कामाथि खकुरी प्रहार गरेको आरोप छ ।
महानगरीय अपराध महाशाखाका टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले आर्थिक कारोबार तथा प्रेमसम्बन्धी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको खुलेको छ ।
पक्राउ पर्नेहरूमा रामेछापको मन्थलीका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाको नाम्दु घर भई काठमाडौंको जडीबुटी बस्दै आएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको मध्यपुर थिमि बस्दै आएका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकको बतासेका २३ वर्षीय प्रविण नेपाल र रामेछापको खाडादेवीका २७ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।
उनीहरूमाथि आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको महाशाखाले जनाएको छ ।