site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
सांकेतिक तस्बिर ।

जनकपुर । मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ ।

विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी ६४ करोड ३५ लाख रुपैयाँ महसुल संकलन गरिएको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर मुनिन्द्र ठाकुरले जानकारी दिए ।

लाइन कट्टा गरिएका मध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १९० रुपैयाँ राजस्व संकलन भएको प्रमुख इन्जिनियर ठाकुरले बताए । विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाइएको उनको भनाइ छ ।

यस्तै, विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा करिब चार प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा विद्युत् चुहावट ३.८२ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्षमा १६.१२ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् चुहावटलाई १२.३ प्रतिशतमा झारिएको विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी सिरहाको लहान वितरण केन्द्रले १३.९७ प्रतिशत चुहावट नियन्त्रण गरेको छ भने सबैभन्दा कम सर्लाहीको मलंगवा वितरण केन्द्रले चार प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको प्रमुख इन्जिनियर ठाकुरले जानकारी दिए ।

यसरी हेर्दा मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रण अभियानबाट विगत सात महिनाको अवधिमा ३४ करोड रुपैयाँबराबरको विद्युत् चुहावट घटेको अनुमान गरिएको छ । सो अवधिमा चुहावट नियन्त्रण अभियानअन्तर्गत विद्युत् हुकिङ गर्ने एक हजार ५९० लाई पक्राउ गरी उनीहरूबाट जरिवानाबापत तीन करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको प्रमुख इन्जिनियर ठाकुरले बताए । रासस

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्