
लन्डन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकटतम सहयोगीमध्ये एक दिमित्री मेदभेदेभले वासिङटनले रुसलाई खतम पार्ने दिर्घकालीन रणनीति लिए आणविक विनाशलिलाको भुमरीतर्फ अघि बढ्ने चेतावनी दिएका छन् ।
क्रेमलिनले लामो समयदेखि वासिङटनले रुसलाई ध्वस्त पार्न खोजिरहेको ठान्दै आएको छ ।
सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका तथा हाल रुसको राष्ट्रिय सुरक्षा परिषद्का उपाध्यक्ष रहेका ५६ वर्षीय मेदभेदेभले ५५० शब्दको विज्ञप्तिमार्फत भनेका छन्, “सन् १९९१ मा सोभियत संघ विघटन भएदेखि नै अमेरिकाले रुसलाई नष्ट पार्ने पुरानै खेलको षडयन्त्र सुरु गरेको थियो । यसको अर्थ रुसलाई अपमानित, सीमित, चकनाचुर, विभाजित ध्वस्त पारिनुपर्दछ भन्ने हो ।"
कुनै समय उनको विचारलाई पुटिनको वृत्तका सेना प्रयोग गर्न नरुचाउने सदस्यहरूका मध्येकै एकको रूपमा लिइने गरिन्थ्यो । सन् १९६२ को क्युबाली क्षेप्यास्त्र समस्यालाई लिएर सुरु भएको गतिरोधपछिकै पश्चिम जगतसँगको सबैभन्दा ठूलो मानिएको हालको तनावपूर्ण स्थितिमा उनको भनाइमा क्रेमलिनको सोच झल्किएको छ ।
अमेरिकाले पटक पटक आफूले रुसको पतन नचाहेको बरु समृद्ध, स्थिर र खुला रुसले आफ्ना स्वार्थहरू पूरा गर्ने बताउँदै आएको छ ।
मेदभेदेभको चेतावनीबारे अमेरिकी विदेश विभागले तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन । रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण हजारौँ व्यक्तिको ज्यान जानुका साथै झण्डै १ करोड व्यक्ति विस्थापित भइसकेका छन् ।
यसै सिलसिलामा विश्वकै सबैभन्दा ठूला आणविक शक्ति सम्पन्न दुई मुलुक रुस र अमेरिकाबीच बृहत असहमति देखापर्ने चिन्ता बढिरहेको छ ।
रोयटर्सबाट ।