
किभ । युक्रेनी फौजले केही क्षेत्रमा रुसी फौजविरद्ध प्रत्याक्रमण गरिरहेको र उनीहरू राजधानी किभ नजिकका केही भू–भागमाथि कब्जा जमाउन सफल भएका छन् । किभ नजिकको माकारिभ सहरका स्थानीय निकायहरूले एकपटक फेरि त्यहाँ युक्रेनी झण्डा फरफराउन थालेको दाबी गरेका छन् ।
बेलायतका एकजना प्रतिरक्षा विश्लेषकले युक्रेनी फौजको प्रत्याक्रमणको कारण मस्को आफ्ना रणनीति बदल्न बाध्य हुने बताएका छन् । यसैगरी अमेरिकाका प्रतिरक्षा प्रवक्ताले युक्रेनको दक्षिणतर्फका केही भागमा पनि युक्रेनी पक्षले सफलता पाइरहेको बताएका छन् । दक्षिणी सानो सहर भोजनेसेन्स्कमा युक्रेनी फौज र स्वयम्सेवकहरूले एउटा सशस्त्र सवारी साधन ध्वस्त बनाउनुका साथै रुसी फौजलाई पछाडि धकेल्न सफल भएका छन् ।
क्रिमिया प्रायद्वीप नजिकको तथा रुसी फौजको नियन्त्रणमा गएको पहिलो सहर खेर्सनमा पनि युक्रेनी फौजले भू–भाग फेरि कब्जा गर्ने प्रयास गरिरहेको छ ।
तर बेलायतको प्रतिरक्षा मन्त्रालयको पछिल्लो मूल्याङ्कनअनुसार युक्रेनमा रहेका रुसी फौज पुर्व रहेका युक्रेनी फौजलाई घेर्नका लागि उत्तर र दक्षिण तर्फ बढिरहेको जनाएको छ ।
बेलायती रक्षा मन्त्रालयले जनाएको छ, “ठूलो परिमाणको आक्रमण गर्नका लागि रुसी फौजले पुनर्संगठन गरिरहेको जस्तो देखिन्छ ।"
रुसी फौजले दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि निरन्तर बमबारी गरिएको बताइन्छ । यद्यपि त्यहाँ तुलनात्मक रूपमा कमै क्षति भएको जनाइएको छ ।