
सीएनएन । श्रीलंकामा सरकारले इन्धन वितरणमा सहयोग गर्नका लागि देशभरका सयौँ ग्यास स्टेसनमा सेना खटाएको छ ।सरकारका प्रवक्ता रमेश पथिरानाले इन्धनको स्टक थुप्रिँदै मात्र गएको र वितरण प्रभावकारी नभएको लगातार गुनासो आइरहेपछि सर्वसाधारणलाई मद्दत गर्न सेना तैनाथ गरिएको हो ।
इन्धनसहित सबै उपभोग्य वस्तुहरूको मूल्य अचानक वृद्धि भएपछि दसौँ हजार सर्वसाधारण घण्टौँ लाइनमा बस्नु परिरहेको अवस्था छ ।
यसबीच केही दिन अगाडि अत्याधिक गर्मीको बेलामा लामो लाइन बस्दाबस्दै तीनजना वृद्धहरूको मृत्यु भएको खबरपछि अवस्था झन गम्भीर बन्न पुगेको थियो ।
राजधानी कोलम्बोमा आफ्नो परिवारसँग बस्ने सीता गुनसेकेरा भन्छिन्, “सरकारले समाधान दिलाउनैपर्छ । हामीले धेरै संघर्ष गरिसक्यौँ धेरै पीडा भोगिसक्यौँ ।”
अहिले उनले इन्धन खरिद गर्नमै सबैभन्दा बढी समय बिताइरहेकी छन् र अरू केही काम गर्न पाएकी छैनन् ।
उनले थप भनिन्, “यहाँ सबै कुराको भाउ आकाशिएको छ । हामीले दैनिक कमाइबाट एकदम मुस्किलले गुजारा गरिरहेका छौँ ।”
विदेशी मुद्रा सञ्चय संटका कारण राष्ट्रिय मुद्रामा ठूलो गिरावट आएपछि श्रीलंकाले यतिबेला खाद्यान्न, औषधि, इन्धन जस्ता अति महत्वपूर्ण सामग्रीहरूसमेत आयात गर्न सकिरहेको छैन । सरकारले यसअघि अन्तर्राष्ट्रि मौद्रिक कोष (आईएमएफ)सँग मद्दतका लागि अपील गरेको थियो ।
सेनातर्फका प्रवक्ता निलनथाले सञ्चार एजेन्सी रोयटर्ससँग कुरा गर्दै सबै इन्धन पम्पमा कम्तीमा दुईजना सेना खटाइने र तेल वितरणलाई व्यवस्थापन गर्न मद्दत गर्ने बताएका छन् । तर भिड नियन्त्रण गर्नमा चाहिँ सेना संलग्न नहुने बताइएको छ ।
कोभिड महामारीका कारण जारी गरिएको लकडाउनले श्रीलंकामा वास्तवमै भयानक आर्थिक संकट निम्त्याएको छ । गत हप्ता यसले विदेशबाट कागज र मसी समेत आयात गर्न नसक्दा देशभरका विद्यालयमा परीक्षा नै स्थगित गराउनुपरेको थियो । यसले ४० लाख भन्दा बढी विद्यार्थी प्रभावित भएको बताइएको छ ।
उता विदेशी ऋणको बोझले पनि श्रीलंका सरकार ठूलो दबाबमा छ । यस वर्ष मात्र श्रीलंकाले ४ अर्ब डलर तिर्नुपर्छ भने जुलाई महिना भित्र १ अर्ब डलर भुक्तान गरिसक्नुपर्ने म्याद दिइएको छ । त्यसैले सरकारले ऋण पुनःसंरचना सम्बन्धी ग्लोबल कानुनी फर्मसँग सहायता लिने पनि बताइरहेको छ ।