site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘बैंकले कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसाको सुनिश्चितता हेर्छ’

चितवन । बैंकरहरूले कृषि क्षेत्रमा बैंकबाट ठुलो लगानी भएको बताएका छन् ।  चितवनमा आयोजना भएको कृषि कर्जा मेलामा उनीहरूले कृषिमा बैंकबाट ठुलो लगानी भएपनि प्रणालीको अभावमा उपलब्धि हुन नसकेको बताएका हुन् ।

नबिल बैंकका अध्यक्षसमेत रहेका ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एसिया प्यासिफिक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार रहेको बताए ।

“नबिल बैंकले दिगो बैंकिङ अगाडि बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,” उनले भने, “हाम्रो ऊर्भर जमिन भोलि रहन्छ कि रहँदैन । भोलिको दिनमा सन्ततीको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो । जुन दिगो विकास हो,” उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कृषि क्षेत्रको विकासका लागि बैंकहरूले जति प्रभाव पारेको छ, त्यो भन्न सकेका छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभाव भन्न सक्ने गरि अगाडि बढौँ,” उनले भने, “बैंकले निक्षेपकर्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्ने गरी मूल्य श्रृङ्खला निमार्ण गरौँ, बैंकले कृषिमा लगानी गर्छन् ।”

उनकै जस्तो बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पनि बैंकहरूले कृषि क्षेत्रमा पर्याप्त रूपमा कर्जा लगानी गरेको बताए । उनले कुल कर्जा ‘फोर्टफोलियो’ बाट ५२५ अर्ब कृषि क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा ४४० अर्ब लगानी भइसकेको बताए ।

“४४० अर्ब कर्जा कृषि क्षेत्रमा लगानी भएको छ, करिब १ खर्ब कम छौँ । अहिले बैंकमा स्रोतको समस्या छ, स्रोत अभावलाई कम गर्दै कृषि क्षेत्रमा बैंकहरूको लगानी वृद्धि भइरहेको छ,” उनले भने, “१० लाखसम्मको कृषि कर्जामा १ पानामा स्वीकृत गर्ने भनेर बैंकर्स संघबाट बैंकहरूलाई सर्कुलर गरेका छौँ । अब कर्जा मात्रै नभएर कृषिको विकासका लागि सबै मिलेर ‘चेन म्यानेजमेन्टमा’ काम गरौँ ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पनि कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’मा नै समस्या रहेको बताए ।

शाहले आफ्ने अनुभव सनाउँदै भने, "धेरै ठाउँमा जाँदा तपाईंहरू किसानलाई कर्जा दिनुहुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्यो, घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसनसँग पठायौँ, गाउँमा खेत त छ तर किसान साउदी, मलेसिया र जापानमा रहेछन् । जो किसान रहेछन् उनीहरूले पैसा रोपेर केही हुँदैन बिज चाहियो भन्ने रहेछन्,” बैंकर शाहले भने, “बिज भए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भने गुनासो गरे । हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बिज, मल, पानी र बजारीकरण पनि चाहिन रहेछ भन्ने गुनासो आयो ।”

उनले बैंकहरू कर्जा दिन तयार भएपनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए ।

“कर्जा दिन बैंक तयार छौं । तर, हाम्रो किसानले कर्जा लिएर ब्याज मात्रै हैन तिर्ने मात्रै हैन त्यसबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नुभएको छ,” उनले भने, “नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अगाडि बढेको छ । हामी प्रतिबद्धता जनाउँछौँ, तर जबसम्म लगानी गरेको पैसाको साँवा र पैसा फितौ आउँछ भनेर देखिदिन्न लगानी गर्न समस्या हुन्छ ।”

बैंक निक्षेपकर्ताको पैसाबाट चल्ने भएकाले पैसा सुरक्षित नखिएसम्म कृषि क्षेत्रमा समस्या रहने उनले बताए । “अब त्यो ‘इको सिस्टम’ बनाउन बैंकहरू अगाडि बढ्छ । ५० हजार, ५ करोड र ५० करोडको लोन चाहिए पनि पछि हट्दैन । तर, हामी सावाँ र थारै ब्याज उठ्छ भन्ने वातावरण देख्न चाहान्छौँ ।”

ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्य कृषि क्षेत्रले जीडीपीमा दिएको योगदानको ५० प्रतिशत कर्जा जाँदा पनि कृषिमा बैंकहरूले लगानी गरेनन् भन्न नमिल्ने बताए ।

“निक्षेप र जीडीपी साइज बराबर छ । ४० खर्बको जीडीपी, ४० खर्ब लगानी छ । त्यसको २५ प्रतिशत योगदान भएको कृषिमा जीडीपीमा दिएको योगदानका ५० प्रतिशत अथात् ५ खर्ब लगानी छ,” उनले भने, “५  खर्ब लगानी हुँदा पनि कृषिले फड्को मार्न सक्दैन भने त्यसमा केही समस्या त पक्कै छ, कृषिको इकोसिस्टमा खै ?”

बैंकले कृषिमा २/४ लाख देखि अरबौँ पनि लगानी गरेको र कुनै किसानलाई एक त्रैमासमा ब्याज तिर्न अर्को त्रैमासमा तिर्नको लागि पनि छुट दिने गरेको उनले बताए । “कृषिमा बैंकले पैसा दिएकै छ । हामी कहाँ अलमलिएका छौँ,” उनले भने, “सबै ‘इको सिस्टम’मा कहाँ समस्या छ सोचौँ । बैंकलाई मात्रै दोस नथोपारौँ ।”

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले औपचारिक कर्जाको सुरुवात नै कृषि कर्जाबाट भएको बताए । “कृषि कर्जाको संस्थागत रूपमा १९९४ मा नेपाल बैंकले विराटनगर जुट मिललाई १ लाख रुपैयाँ लगानी गरेर सुरु भएको हो, जुन नेपालमा बैंकबाट भएको पहिलो कर्जा लगानी पनि हो,” उनले भने, “कृषिमा बैंकहरूले कर्जा लगानी गरिरहेका छन्, भने त्यसबाट लाभ नपाएको गुनासो किसानको छ । कतै नै कतै 'मिसम्याच’ त भइरहेको छ ।”

कृषिको नाममा कर्जा लिएर जग्गा खरिद गर्ने क्रम पनि बढेको भन्दै कृषकको नाममा त्यस्तो गलत कार्य हुने गरेको उनले बताए । 

मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले एसियाकै पहिलो कृषि मेला भनेर गर्व गर्ने अवस्था रहेपनि नेपालमा कृषिको अवस्था कस्तो छ भनेर यही मेलाले देखाएको बताए ।  

“पछिल्लो एक दशकमा सबैभन्दा बढी गाली नेता र बैंकले खाएको अवस्था छ,” उनले भने, “कर्जाले मात्रै उत्पादन बढ्दैन, जबसम्म भ्यालू चेन बन्दैन, कृषिमा प्रविधि हस्तान्तरणका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय बजारीकरण गर्न नसकेसम्म उत्पादन बढ्दैन ।”

कृषिको विकासका लागि प्राइभेट सेक्टरको पब्लिक लिमिटेड कम्पनी खोल्नुपर्ने उनले बताए ।

कृषि सहकारी केन्द्रीय संघका अध्यक्षसमेत रहेका साना किसान विकास लघुवित्तका अध्यक्ष खेम बहादुर पाठक अहिले पनि इजरायल गएर प्रविधि सिकेर आएका युवा कर्जा नपाएर व्यवसाय गर्न नसकेको बताए ।

“यहाँ बैंकका सीईओहरूले किसानले कर्जा नपाउने अवस्था नरहेको बताइरहनुभएको छ । तर, साना किसानले प्रविधि भित्राउन भनेर ३१ सय युवालाई इजारायल पठायो । उहाँहरूले नेपाल फर्केर ठुलो व्यवसाय गर्न कर्जा पाउनुभएको छैन,” उनले भने, “साँच्चै कृषि गर्ने गाउँको किसानले बैंकबाट पैसा लिन सक्दैन । साँच्चिकै किसानको बीचमा समस्या छ, उनीहरूले धितो राखेर बैंकबाट कर्जा लिन सक्ने अवस्था छैन ।”

भारतमा किसानले मल बिउ अनुदानमा पाउने, नेपालमा किसानले बिउ, मल, पुँजी केही पनि नपाउने अनि कसरी उत्पादन र प्रतिस्पार्धा हुन्छ ? भनी उनले प्रश्न गरे । “ठुला सहरमा किसानले डोको बिसाउने ठाउँ पाउँदैनन् अनि युवा किन खाडी नजाने,” उनले भने ।  

बैंक वित्तीय संस्थाले जति कुरा गरे पनि अहिले कसरी धेरै भन्दा धेरै ब्याज लिने भन्ने प्रर्तिपस्पर्धा अभियान चलेको र किसान ठगिएको उनले दाबी गरे ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्