
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्तर्गत सरकारसँग सहकार्य गर्न प्रस्ताव गरेको छ । बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसँग प्रस्ताव गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवसँग चेम्बरले आत्मनिर्भर कृषिका लागि सहकार्य गर्न प्रस्ताव गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताए । कृषि प्रधान मुलुकमा वार्षिक ५० अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात हुनु मुलुककै लागि दुर्भाग्य भएको उनले बताए ।
आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफुल, घिउ तेल, चिनी समेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरी व्यापार घाटा बढेको उनले बताए ।
“सरकारले उपयुक्त लगानीको वातावरण बनाइदिने हो भने निजी क्षेत्र कृषिमा लगानी गर्न तयार छ । किसानको उत्पादनदेखि बजारीकरण राज्यले साथ दिन आवश्यक छ । खेती किसानीमा लाग्ने कृषकलाई राज्यले सहुलियत ऋणसँगै अनुदानको व्यवस्था गर्न आवश्यक छ,” उनले भने ।
कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिएपनि प्रभावकारी हुन नसकेको र सरकारसँग कृषि अनुदान लिएर जग्गाको कारोबार भइरहेको गुनासो बढेको अध्यक्ष मल्लको भनाइ छ । ३० प्रतिशत बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
कृषिमन्त्री यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषकमैत्री वातावरण बनाउन सरकार लागि परेको दाबी गरे । कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षाअनुसारको काम हुन नसकेको उनको भनाइ थियो । कृषिमा तीन खम्बे अर्थनीतिका लागि आफूले पहल गरिरहेको र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि मन्त्रालयमा काम भइरहेको उनले बताए ।
कृषिकले उत्पादन गरेका वस्तुहरूको उत्पादन भण्डारणदेखि बजारीकरणसम्मको व्यवस्था सरकारले गर्नेगरी तयारी भइरहेको बताए । मन्त्री यादवले पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताए । इजरायलबाट फर्किएका युवाहरूले मन्त्री यादवसँग नेपालमा कृषि उत्पादनमा भोग्नु परेका समस्या सुनाएका थिए । उनीहरूले विदेशी प्रविधि तथा उन्नत जातको बिऊ भित्र्याएर नेपालमा कृषि प्रर्वद्धन गर्न खोजेपनि नीतिगत झण्झटका कारण समस्या भएको गुनासो गरे ।
कार्यक्रममा इजरायलका लागि पूर्वराजदूत डा. अन्जान शाक्यले इजरायलको कृषि प्रविधिबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।