
विराटनगर । प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले लेटाङ घटनामा घाइतेहरूलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
मंगलबार कोसी तथा नोबेल अस्पतालमा पुगेर उनले घटनामा घाइते भएका प्रहरी र स्थानीयको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । स्वास्थ्य अवस्था बुझेपछि उनले घाइतेको उपचारका सम्बन्धमा कुनै कमजोरी नगर्न अस्पताल प्रशासनलाई आग्रह गरे ।
उनले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याइने पनि बताए ।
आइतबार स्थानीय विद्यालयका एक शिक्षकले बालिका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आराप लागेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा धारितलो हतियारबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
मन्त्री कार्कीले समाजलाई आक्रोशित र आतङ्कित बनाउन नहुने बताए । “हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोही पनि कानुनी दायरामा आउँछन् । अनुसन्धानको जारी छ ।”
मन्त्री कार्कीसँगै प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल पनि अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।