
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सहभागी हुने तयारी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले आफूहरूका माग सम्बोधन भए लोसपा सरकारमा जानसक्ने बताएका छन् ।
लोसपाले नागरिकतासम्बन्धी मुद्दा समाधान गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
मंगलबार मधेस प्रदेशमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले लोसपा सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताए ।
"वर्तमान प्रधानमन्त्रीसँग लोसपाको मागबारे कुरा भइरहेको छ । झुटा मुद्दा लगाइएको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादर कार्कीसँग पनि कुरा भइरहेको छ । पटकपटक मुद्दाको विषयमा उहाँले पनि जानकारी लिइरहनुभएको छ । सरकारमा जानेबारे अहिलेसम्म औपचारिक नभएपनि हामी छलफल गर्न तयार छौँ," ठाकुरले भने।
तर, आफूहरूका माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने उनको दाबी छ ।
"हाम्रो माग सम्बोधन पहिलो प्राथमिकता छ । नागरिकता विधेयक र मधेश आन्दोलनमा लगाइएको झुटा मुद्दा फिर्ता भएपछि मात्रै सरकारमा जाने/नजाने कुरा बारे हामीले निर्णय लिन्छौँ," ठाकुरले भने ।
मंगलबार जनकपुर आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि लोसपा सरकारमा सहभागी हुन लागेको संकेत गरेका छन् । तर, गठबन्धनमा औपचारिक रूपमा छलफल भने नभएको उनले बताए ।
"प्रधानमन्त्रीसँग भेट्दा हामीलाई पनि लोसपालाई सरकारमा ल्याउने कुरा गर्नु भएको छ," उनले भने ।