site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
‘च्याम्पियन ट्री’ पहिचानबाट वानस्पत्य पर्यटनमा सहयोग

के तपाईंको घरको आँगन, बगैँचा वा खेतबारीमा कुनै प्रजातिका बढी उमेरका रुख छन् ? छिमेक वा आफ्नो वडामा अझै पूर्व मेचीदेखि पश्चिम महाकालीतिरको झनै जंगलको भित्री भागहरूको अवलोकन गर्नु भएको छ भने स्थानीय क्षेत्रको हावापानी अनुसार अनेक जात, जाति वा प्रजातिका रुखहरू देख्दा मन आल्हादित हुन्छ नै । नेपालमा प्राचीन कालदेखि नै रुखको महत्त्व बुझी विभिन्न जात वा प्रजातिका रुख लगाइएको पाइन्छ । ऋषिमुनिहरू ठूलठूला रुखमुनि तपस्या गरेर बस्थे । अझै नेपालमा राणाकालमा राणाहरूले सोखका कारण वा रुखको महत्त्व बुझी विभिन्न प्रजातिका विरुवा बेलायत (युरोप) वा अमेरिकाबाट झिकाई आआफ्ना दरवारमा रोपेको हामीलाई जानकारी भएकै कुरा हो । हाम्रो देशका सडक किनार, मठ मन्दिरको प्रांगण वा गोरेटो वा घोडेटो बाटामा चौतारा बनाई विभिन्न प्रजातिका रुख लगाउने चलन धेरै अघिदेखिको हो ।  तिनको आआफ्नै महत्त्व छन् ।
    
यौटा रुखको मूल्य :
मिचिगन स्टेट विश्वविद्यालयको अद्यावधिक अभिलेखअनुसार कलकत्ता विश्वविद्यालयका प्राध्यापक टी.एम.दासले रुखको महत्त्वका बारेमा लेखेका छन् – एउटा ५० वर्ष उमेरको रुखले ३१ हजार २५० डलर बराबरको अक्सिजन उत्र्सजन गर्छ । यसैगरी ६२ हजार डलर बराबरको वायु प्रदूषण नियन्त्रण गर्छ, ३१ हजार २५० डलर बराबरको भूक्षय नियन्त्रण र माटोको उर्वराशक्ति वृद्धिमा सहयोग पुर्याउँछ । यस्तै ३७ हजार ५०० डलर बराबरको पानी शुद्धीकरण,  ३१ हजार २५० डलर बराबरको पशुहरूलाई आश्रयस्थल उपलब्ध गराएर सहयोग गर्छ ।

यस आंकडामा ती रुख वा वृक्षबाट प्राप्त हुने फलपूmल, काठपातबापत तिनले दिने सौन्दर्यको मूल्य समावेश गरिएको छैन । त्यसैगरी वन तथा जलाधार संरक्षणको माध्यमबाट कृषियोग्य भूमिको संरक्षण र उत्पादकत्वमा वृद्धि, पानी मुहान, वन्यजन्तु र जैविक विविधताको संरक्षण, जलवायु शुद्धीकरण जस्ता मानव स्वास्थ्य रक्षा एवं प्रकृति संरक्षण र वातावरणीय स्वच्छता कायम राख्ने कार्यमा ठूलो टेवा पुगेको हुन्छ । अझ रुखहरूले विशेषगरी अक्सिजन उत्सर्जन गर्ने हुँदा मानव स्वास्थ्यका लागि त रुखहरू झन् महत्त्वपूर्ण मानिन्छ ।

KFC Island Ad
NIC Asia

महत्त्वपूर्ण प्राकृतिक सम्पदा :
नेपालको कुल क्षेत्रफलको करिब ४४.७४ प्रतिशत भूभाग वन जंगलले ढाकेको छ । कृषिलगायत पर्यटन, वातावरण, जैविक विविधता एवं भौगोलिक विकास संरचनाको मेरुदण्डको रूपमा रहेको वन क्षेत्रबाटै मुलुकवासीका अधिकांश दैनिक कृषि आवश्यकताका काठ, इन्धन ७० प्रतिशत, पशु आहार ४० प्रतिशत, जडीवुटी लगायतका काष्ठ एवं गैरकाष्ठ वन पैदावारको आपूर्ति हुँदै आएको छ । 

वन नवीकरणीय प्राकृतिक स्रोत भएकोले यसको समुचित व्यवस्थापनका माध्यमबाट वस्तु र सेवा उपलब्ध गराउँदै  समृद्धिको आधार बनाउन राष्ट्रिय योजना आयोगले १५ औं योजनामा समृद्धिका लागि वन कार्यक्रम रूपान्तरणकारी योजनामा समेत समावेश गरेको छ । 

Royal Enfield Island Ad


‘च्याम्पियन ट्री’ के हो ? :
रुखको वास्तविक नामको पहिचान, यसको जाति वा प्रजाति, यसको धार्मिक महत्त्व, यसको वास्तविक र अनुमानित उमेर वारे ‘च्याम्पियन ट्री’मा पहिचान हुने गर्छ । यो कार्यबाट यस्ता रुखको संरक्षण तथा सम्बद्र्धनको बाटो खुल्छ भने संरक्षणका अवसरसमेत प्राप्त हुन्छन् । यस्ता अप्राप्य रुखहरू राष्ट्रको वन तथा वृक्ष सम्पदामा गणना गर्दा राष्ट्रको महत्त्वसमेत प्रतिष्ठापित हुन जान्छ । यस्ता कामहरूले वृक्षहरूको विस्तृत विवरण समेटिँदै जानुका साथै लोपोन्मुख अवस्थामा रहेका रुख तथा प्राकृतिक वन, वन जंगल, वाणिज्य महत्त्वले वृक्षरोपण गरिएका सामुदायिक वन जंगलहरूको महत्त्वसमेत उजागर हुन जान्छ ।
विश्वमा  ‘च्याम्पियन ट्री’ पहिचानको आरम्भ :
विश्वका विभिन्न मुलुकमा ५००० वर्षभन्दा माथिका रुखहरू रहेको भनाइ पढ्न पाइन्छ । हरेक देशले आआफ्ना मुलुकमा भएका वनसम्पदाको विकास एवं संरक्षणका लागि वन मन्त्रालय तथा त्यससँग आबद्ध संस्था स्थापना गरेको पाइन्छ । च्याम्पियन ट्री पहिचान गर्ने कार्यको थालनी विश्वमा सर्वप्रथम सन् १९४६ देखि अमेरिकाले प्रारम्भ गरेको हो । दक्षिण अफ्रिकाले सरकारीस्तरबाटै सन् १९८२ मा अग्ला रुखहरूको राष्ट्रिय दर्ता कार्य अगाडि बढाएपछि सन् २००३ देखिमात्र निजी रुखहरूको वर्गीकरण र तिनका समूहहरू वर्गीकरण गरी च्याम्पियन ट्री तोकिएका थिए । अहिले त त्यहाँको सरकारले सर्वसाधारण व्यक्तिले पनि च्याम्पियन ट्री पत्ता लगाई सरकारी निकायमा पेस गरेको खण्डमा प्राप्त विवरणहरूको अध्ययन गरी वर्षको एक पटक च्याम्पियन ट्री घोषणा गर्ने कार्यक्रम नै अघि सारेको हँंदा दक्षिण अफ्रिकामा हाल यस्ता रुखहरूको संरक्षण तथा सम्बद्र्धनमा सहयोग मिलेको छ । विश्वमा बेलायत, न्युजिल्यान्ड, अमेरिका, आयरल्यान्ड, दक्षिण अफ्रिका र क्यानडा (ब्रिटिस कोलम्बिया) च्याम्पियन ट्री पहिचान गर्ने राष्ट्रमा अग्रणी मानिन्छन् । 


च्याम्पियन ट्री मापनका आधारहरू :
कसरी रुखहरू च्याम्पियन ट्रीका लागि योग्य हुन सक्नेछन् भनी विभिन्न मुलुकले यसका लागि आआफ्नै मापदण्डहरू बनाएका छन् । रुखको ऐतिहासिक महत्त्व, वर्ष, आकर्षण र त्यसको लम्बाइ नै हुन् । यस्ता रुख वास्तवमा अरु रुखका तुलनामा अग्ला र हेर्दा नै प्रभावशाली देखिने हुन्छन् । यो रुख पहिल्याउने अन्य कसीमा मुख्यरूपमा यसको आकर्षण, उचाइ र उमेर पत्ता लगाउनु नै हो ।
 रुखको लम्बाइ र आकार नै मोटामोटी रूपमा निर्णायक आधार मानिन्छ जसमा कुल लम्बाइ, रुखले जमिन ओगटेको वर्गमिटर र फैलिएको हांगाबिंगाले ढाकेको क्षेत्र नै मापनको आधारस्तम्भ हो । यी तीनमध्ये करिब दुई आधार पनि कहिले काहीँ च्याम्पियन ट्री पहिचानका लागि निर्णायक हुन सक्छन् । विश्वका विभिन्न मुलुकमा यससँग आबद्ध विशेषज्ञहरूले च्याम्पियन ट्री घोषणा गर्ने आधार मोटामोटी रूपमा यिनैलाई अंगीकार गरेका छन् । रुखको वानस्पतिक, ऐतिहासिक र धार्मिक  महत्त्व, अग्लो र मोटो रुख, रुखको फेदको मोटाइ, हांगाहरू चारैदिशातिर फैलावट एवं रुखको जरा जमिनमा ४.५ फिटसम्मको वा सोभन्दा भित्र गएको आदिलाई मापदण्ड मानिएका छन् ।
नेपालमा च्याम्पियन ट्री पहिचान सक्रियता :
जैविक विविधताले भरिपूर्ण ललितपुर जिल्ला पर्यटकीय गन्तव्यस्थलमात्र नभएर महत्त्वपूर्ण धार्मिक महत्त्व बोकेको क्षेत्रको रूपमा विश्वमै आफ्नो पहिचान कायम राख्न सफल भएको छ । विश्व सम्पदा सूचीमा परेको ललितपुर जिल्लाका कतिपय मठमन्दिरहरूको प्रांगणमा धेरैवर्ष पुराना रुखहरू विद्यमान छन् ।


झण्डै ५ वर्षअघि काठमाडौंमा स्थापित नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे प्रतिष्ठान वर्षैभरि वनस्पति बारे चर्चा परिचर्चाहरू गरिरहने बौद्धिक वनस्पतिविद् एवं समाजशास्त्रीहरू सम्मिलित एक बृहत् थलो हो । नियमितरूपमा मासिक बैठक गरी ६५ औं मासिक बैठक सम्पन्न गरिसकेको यस संस्थाले दुई वर्ष कोरोना कहरका कारण आफ्ना नियमित कार्यक्रमहरू जुम मिटिंगबाट जोडिएर भए पनि वनस्पतिका क्षेत्रमा विभिन्न सिर्जनशील कामहरू गरी जनमानसमा वनस्पतिको महत्त्व विस्तार गर्न सहयोग पुर्याएको छ । 
नेपालको परिप्रेक्ष्यमा च्याम्पियन ट्री पहिचान गर्ने योजनासहित काम गर्न अहिलेसम्म कोही पनि अग्रसर नभएको अवस्थामा यस प्रतिष्ठानका प्रथम अध्यक्ष एवं वनस्पतिविद् मधुसुदन विष्टको सक्रियतामा चार वर्षअघि ललितपुरको कृषि अनुसन्धान परिषद्को भवनदेखि दक्षिण धापाखेल क्षेत्रसम्मको मूल सडकका रुखहरूको गणना एवं तिनको वैज्ञानिक नामाकरण गर्ने कार्य सम्पन्न गरिएबाट प्रतिष्ठानलाई नयाँ र थप ऊर्जा प्राप्त भयो । सन् २०२१ मा प्रतिष्ठानका वर्तमान अध्यक्ष पुष्पमान अमात्यले आफ्नो चारबुँदे कार्यक्रममै ललितपुर नगरपालिका क्षेत्रका कल २९ वडामा रहेका विभिन्न रुखहरूको अध्ययन गरी  ‘च्याम्पियन ट्री’ पहिचान कार्यक्रम प्राथमिकतासाथ ल्याउनु भएपछि यस कामले पूर्णता पाएको हो । अमात्य ललितपुरको कुमारी पाटीस्थित कान्तिपुर भ्याली कलेजका संस्थापक प्रिन्सिपलसमेत हुनुहुन्छ । यस कलेजले वनस्पति विषयमा स्नातक तहको पढाइ सञ्चालन गर्दै वनस्पति क्षेत्रका लागि आवश्यक  जनशक्ति परिपूर्ति गर्दै आएको छ । साथै अमात्य ललितपुर महानगरपालिकाका वनस्पति सल्लाहकार समेत हुनुहुन्छ । 


‘च्याम्पियन ट्री’ अध्ययन टोली :
लामो समयसम्म नेपालको वनस्पति क्षेत्रमा कार्यरत पुष्पमान अमात्य र हरिकृष्ण सैंजू यस अध्ययन टोलीमा क्रमशः संयोजक र सदस्यका रूपमा संलग्न हुनुहुन्थ्यो । उहाँहरू वनस्पति विभागका हस्तिका रूपमा समेत परिचित हुनुहुन्छ । ललितपुर महानगरपालिकाले सहयोगमा यो कार्य सम्भव भएको हो । अनुसन्धान टोलीले ललितपुर महानगरपालिकाको २९ वटै वडा कार्यालयको स्थलगत अध्ययन गरी स्थानीय वडा अध्यक्ष तथा सदस्य एवं जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरेपछि मात्र जनप्रतिनिधिहरूको रोहबरमै स्थानीय रुखहरूको अध्ययन सम्पन्न गरिएको थियो । उनीहरूको विचार तथा धारणाहरूलाई प्रतिवेदनमा समेट्ने प्रयास गरिएको छ । 


कार्यक्रमले संगेटेका क्षेत्र :
ललितपुर क्षेत्र मल्लकालीन संस्कृति र इतिहास बोकेको प्राचीन नगरको रूपमा परिचित छ । ललितपुर महानगरपालिकाको २९ वटा वडाका विभिन्न मठमन्दिरका प्रांगणमा प्राचीनकालदेखि नै धार्मिक महत्त्वका विभिन्न रुखहरू रहेका छन् । तिनका साथै ललितपुर क्षेत्रमा राणाकालीन विभिन्न दरबारका प्रांगणमा रहेका विभिन्न प्रजातिका रुखहरू समेत छन् । यी दरबारहरू विस्तार विस्तार विक्री हुने बmम बढेपछि यी क्षेत्रमा भएका धेरै वर्ष पुराना रुखहरू समेत मासिएका छन् ।  यसदेखि बाहेक प्राप्त सूचनाका आधारमा व्यक्ति विशेषका घरहरूमा रहेका विभिन्न रुखहरूसमेत अध्ययनका क्षेत्रमा परेका थिए । ‘च्याम्पियन ट्री’ पहिचान गर्ने कार्य प्रथम चरणमा पूरा भई यसको प्रतिवेदन ललितपुर महानगरपालिकामा हालै बुझाइएको छ ।

अध्ययनको निष्कर्ष :
ललितपुर महानगरपालिकाको कुल २९ वडामध्ये २७ वटा वडामा ‘च्याम्पियन ट्री’ पहिचान भएको छ । वडा नं. १ र १७ मा च्याम्पियन ट्री परेनन् । अध्ययन टोलीले स्थलगत अध्ययनका क्रममा ‘च्याम्पियन ट्री’ पहिचान भएका रुखहरू ज्यादै अमूल्य, लोपोन्मुख, लुकेको खजानाको रूपमा रहेको अवस्थामा पाइएको प्रतिवेदनमा उल्लेख छ । तिनीहरूमा Talauma hodgsonii, Michelia champaca, Magnolia grandiflora, Crateva religiosa, Cassia fistula आदि रहेका छन् ।  ललितपुर महानगरपालिकाको हरित सम्पदा संरक्षणमा प्रतिवेदनले कोसे ढुंगाको रूपमा काम गर्ने उल्लेख गरिएको छ । यस कार्यलाई देशभरका अन्य महानगरपालिका, नगरपालिका, गाउँपालिकाहरूमा विस्तार गरिएमा स्थानीय बासिन्दा एवं युवा पुस्तालाई उनीहरूका पुर्खाको युगौंदेखि हरित प्रकृतिमाथिको  क्षेत्रमा भएका माया, ममता उजाजर एवं दीक्षित गर्नुका साथै च्याम्पियन ट्री संरक्षणका दिशामा उत्प्रेरण गर्न सहयोग मिल्ने प्रतिवेदनमा उल्लेख छ । देशको हरित सम्पदासम्बन्धी ज्ञान एवं वनस्पति सम्पदाको विकासका लागि प्रस्तुत अध्ययन प्रतिवेदन हाते कितावको रूपमा सहयोगी हुनुका साथै वनस्पति क्षेत्रमा औषधीय, सौन्दर्यमय र धार्मिक महत्त्वको वृक्षको अनुसन्धानका लागि सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ । प्रतिवेदनले अध्ययनका क्रममा कतिपय यस्ता ‘च्याम्पियन ट्री’ भएका क्षेत्रहरूलाई  पार्क क्षेत्रको रूपमा विकसित गर्न सकिने समेत औँल्याएको छ । यी क्षेत्रहरूमा पाटन दरबारको भण्डारखाल क्षेत्र, मंगलबजार, ललितपुरको सुनाकोठीको बालकुमारी पार्क, ललितपुरकै युएन. पाक परेका छन् । नेपालमा बायो टुरिजम (वानस्पत्य पर्यटन) प्रबद्र्धनका दिशामा यसलाई परिचालन गर्न सकिएको खण्डमा ललितपुरमा पर्यटन विकासका लागि थप बल पुग्न सक्ने पंक्तिकारको धारणा छ । पर्यटकहरूलाई यस्ता अमूल्य वानस्पतिक सम्पदा अवलोकन गराउन एक नयाँ पदमार्गको विकास गरी कार्यान्वयन गर्न सकिने अवसर सिर्जना भएको छ । यसलाई नेपालको पर्यटन विकासको क्रममा  “नयाँ पर्यटन उत्पादन” को रूपमा समेत अंगीकार गर्न सकिनेछ ।


‘च्याम्पियन ट्री’को सूचीमा पर्न सफल रुखहरू :
ललितपुर महानगरपालिका क्षेत्रको विभिन्न मन्दिरको प्रांगण, सडक किनारा वा चोकहरू, व्यक्तिगत घरको प्रांगणमा रहेका यस्ता रुखहरूको धार्मिक महत्त्व, यिनीहरूको बुढ्यौली उमेर, रुखको जातका आधारमा ‘च्याम्पियन ट्री’ मा समावेश गरिएका छन् । च्याम्पियन ट्री को श्रेणीमा पर्ने रुखहरू कम्तीमा ८० वर्षदेखि ५०० वर्षसम्मका भएको अनुमान गरिएको छ ।  ललितपुरको वडा नं. १९ स्थित अग्निशाला मन्दिर प्रांगणमा रहेको वरुण वृक्ष,  एकान्तकुनाको चोकमै रहेको कपुरको रुख, बगलामुखी मन्दिरको प्रांगणमा रहेको पीपलको रुख, सानेपा चोकमा रहेको खरीको रुख, झंसिखेलको अम्मरकुटी प्रांगण बेजिल होममा रहेको कनक चम्पा र पुल्चोक श्रीमहल प्रांगणमा रहेको भालुकाठ रुख च्याम्पियन ट्री को सूचीमा पर्न सफल भएका छन् । मापदण्डभित्र परेका रुखहरूलाई ‘च्याम्पियन ट्री’ का सूचीमा राखिएका छन् । च्याम्पियन ट्रीको सूचीमा परेका ३० वटा रुखहरूको वैज्ञानिक नाम र नेपाली नाम निम्नानुसार रहेका छन् ।


नेपालको इतिहासमै पहिलो पटक ‘च्याम्पियन ट्री’ पहिचान गर्ने महत्त्वका सन्दर्भमा प्रतिष्ठानका वर्तमान अध्यक्ष एवं नेपालमा यस कार्यक्रमका संयोजक पुष्पमान अमात्यको धारणा – नेपालमा वन विकासका लागि वि.सं. १९९९ मा काम गर्न सुरु गरेको ७९ वर्ष पुगेको भएपनि वन जंगलको संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा यस क्षेत्रमा हामी विश्वमा निकै पछि परेका छौँ । अझ राष्ट्रियस्तरको मेगा योजनाका रूपमा जहाँतहीँ वमिानस्थल बनाउने सरकारी योजनाले वन सम्पदामाथि झनै प्रहार हुँदै गएकाले ‘च्याम्पियन ट्री’ लोपोन्मुख अवस्थामा छन् । नेपालमा ‘च्याम्पियन ट्री’ पहिचान गर्ने कार्यमा प्रत्यक्ष संलग्नताका सन्दर्भमा प्राप्त अनुभूति वारे जिज्ञासा राख्दा वानस्पतिक सामिप्य अझै बढ्दै गएको र यस क्षेत्रमा विभिन्न रचनात्मक एवं सिर्जनशील कार्यहरू गर्न आत्मविश्वास बढेको अमात्यले बताउनुभयो । ‘च्याम्पियन ट्री’ पहिचान गर्ने कार्य ललितपुर क्षेत्रबाट फैलाएर देशव्यापी बनाउन के कस्ता कार्ययोजनाहरू छन् भन्ने जिज्ञासामा वनस्पतिविद् अमात्यले नेपालका प्रथम बोटनिस्ट प्रयागराज पाण्डे फाउन्डेसनले देशव्यापीरूपमा यस कार्यक्रमलाई कसरी विस्तार गर्न सकिनेछ भन्ने बारेमा छलफल गरिरहेको खुलासा गर्नुभयो ।

सो अध्ययन टोलीका सदस्य एवं वनस्पतिविद् हरिकृष्ण सैंजु हाम्रो देश नेपालमा पनि रुखको संरक्षण सम्बन्धी कडा कानुन कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राख्नुहुन्छ । 

वनस्पतिविद् मधुसुदन विष्टले नेपालमा पहिलोपटक सम्पन्न ‘च्याम्पियन ट्री’  पहिचान गर्ने कार्य नेपालमा वनस्पति क्षेत्रको संरक्षणको दिशामा यौटा कोशेढुंगाको रूपमा अंकित हुने बताउनु भएको छ ।

( मिडिया प्वाइन्टका कार्यक्रम निर्देशक अर्जुन विष्ट वनस्पति विषयमा पनि कलम चलाउँछन् ) 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro