
काठमाडौं । संघ, प्रदेश, स्थानीय तह र स्थानीयवासीको संयुक्त लगानीमा काठमाडौं महानगरपालिका–३१ मीनभवनमार्गमा सामुदायिक भवन निर्माण भएको छ ।
भवन महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रदेश सभा सदस्य गणेश दुलाल, वडाध्यक्ष नारायण भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे ।
१३ आना जग्गामा करिब पाँच आना जमिनमा तीनतले भवन निर्माण भएको छ ।
भवन निर्माणका लागि संघीय संसद् सदस्य प्रकाशमान सिंह, प्रदेश सभा सदस्य गणेश दुलाल, पूर्वसांसद सदस्य राधेश्याम अधिकारी, संविधानसभा सदस्य कल्याणी रिजाल र सावित्रा भुसाल, पूर्वसंसद कृष्णा अमात्यले संसद् कार्यक्रमअन्तर्गत सहयोग गरेका छन् ।
यस्तै, स्थानीय सामाजिक संघ संस्था र व्यक्तिगत रूपमा आर्थिक सहयोग भएको थियो ।
महानगरले भवनमा आवश्यक पर्ने फर्निचर, भाडाकुँडा, लत्ताकपडा, ग्यास, हिटर, चुलोलगायत करिब १६ लाख रुपैयाँ बराबरका भौतिक सामग्री उपलब्ध गराएको छ ।