‘एइ केटी आइज कफी पिउन’ भन्दै फोन गरी उही चन्चले झापाली झरनाले । जो केही वर्षअघि मेरी साथी बनेकी थिई । म त छ्क्क परेँ । यतिका दिनपछि फोन आयो । खुसी हुँदै गएँ ।
कफी टेबुलमा आइपुग्यो । वेटर आँखा जुधाएर हाँस्दै थियो । म भने कपमा भएको तातो कफी माथिको ‘लभ साइन’ अर्थात् मुटुकाे चित्र हेर्दै थिएँ । वाह यस्तो कफीमा प्रेमकाे चिह्न बनाउने विचार चाहिँ सबैभन्दा पहिले कसको दिमागमा फुरेकाे होला ? ऊ पटरपटर गर्न थाली । मनमा केही नराख्ने प्याच्च बोल्ने बानी उस्तै रहेछ ।
याे झरना निडर केटी । अनि उस्ले मलाई एइ केटी भनेर बोलाएको असाध्य मन पर्छ । नारी दिवसको कार्यक्रममा काठमाडौं आएकी रे ! भोलि उस्को कार्यक्रम रहेछ । मलाई निम्तो दिई । अनि उसका कुरा नसुनेर पनि त भएन । तिनै कुरा मैले घर गएर शब्दमा उतारेँ ।
चाहिँदैन ‘नारी दिवस’ बरू इच्छा लागेको काम गर्ने स्वतन्त्रता, दुई पलको खुसी र चैन दिनुस् महोदय ! पुरुष दिवस बनेको छैन त । किन बन्यो यो नारी दिवस ?
नारी दिवसको सट्टा भान्सा दिवस बनाइदिनुस् न सरकार जो ३६५ दिनै हामीलाई काम लाग्छ । गृहिणीको दिनचर्या कति गाह्रो छ उनैलाई थाहा छ । महापुरुषहरू भने कटाक्ष गर्छन् - यी आइमाईहरु दिनभर के गरेर बस्दा हुन् घरमा ? यिनको दिमाग कसरी चल्दो हो ? बाहिरका चर्का नारावाजी र जुलुसहरू घरभित्र साङ्लाले कसिएका सपना । सयमा एक दुई नारीले झिटिझाम्टी पारेर उँड्दैमा अरु सबै महिलालाई साङ्लाले कस्नै पर्छ र ? जन्मेदेखि मृत्युसम्म पुरुष स्वतन्त्र छ । आफू खुसी बस्छ, खान्छ, रमाउँछ । आफूखुसी निर्णय लिन्छ । महिलाले भने बिरलै ती हक पाउँछन् ऽ जन्मिएको घर छोड, रहर तोड, नयाँ सम्बन्ध जोड, नयाँ आँगनमा रमाऊ, परिस्थितिसँग लड, मनलागेको क्षेत्रमा काम नगर । अनेक अनेक भोगाइ ।
आमाको दर्दनाक भोगाइ साक्षी छ, सासुको मलिनो दबिएको आवाज साक्षी छ, भाउजुहरुको कहालीलाग्दो कथा साक्षी छ । " सह सह सहनु पर्छ " छोरी । " नकह नकह कसैलाई कहनु हुन्न मनको बह" छोरी । हरदम कानमा गुन्जिरहने यी वाक्य !
त्याग, धैर्य, सहनशीलता सबै नारीमै किन हुनुपर्ने ? यी गुण पुरुषमा पनि भए के हुन्छ ? कमजोरी जो सुकैको होस् घर बिग्र्यो भने दोष सधैँ महिलालाई नै किन ? जुन दिन नारीले सहन छोड्नेछिन् नब्बे प्रतिशत घरबार बिग्रनेछ्न् । नारीले काखको बच्चा छोडेकी र पुरुषको मन टुक्रा टुक्रा पारेकाे कथा पनि समाजमा नभएका होइनन् । होस् । पुरुषको भावनासँग वर्षौँ खेलेर उसलाई घरको न घाटको बनाएका पनि छन् । तर कथाको एउटा पाना दु:खद भयो भन्दैमा सबै पात्र दोषी मान्नु कहाँ को न्याय हो ? फेरि कथामा खलपात्र पुरुषमात्र होइनन् नारीका लागि त नारी नै पनि बनेका छन् ।
ए साँच्चै ! नारी दिवस हो नि आज भनेर कुकरमा सिट्टी नलाऊँ त के हुन्छ ! सबेरै ओछ्यानमा चिया नपुगोस् त के हुन्छ ? छोराछोरीलाई गृहकार्य नगराऊँ त के हुन्छ? लालाबाला भोकै हुन्छन् घर जिङ्गरिङ्ग हुन्छ । कुचो न समातौँ त तातो रिस पोखिन्छ ।
एक दिन भान्साको काम गर्नुपर्दा यत्रो विधि रिस उम्लिने रहेछ । हामी ३६५ दिनै लुरुलुरु पकाउछौँ त । बदलामा केही मागेको छैन जसमात्र दिए पुग्छ । त्यो पनि नपाउँदा पो यत्रो विधि उकुसमुकुस भएको हो । दुवै जनाले काम बाँडीचुँडी गरे जुन काम पनि सहज हुन्थ्यो क्यारे । यस्तो लाग्छ घरभित्रको कामको ठेक्का नै महिलालाई मात्र परेको हो । अरूले गर्नै हुन्न । उस्कै सहीछाप लागेको हुनुपर्छ । यो भयाे घरभित्रको कुरा ।
केही अड्डाका कुरा गरौँ अब ।
पति ठूलो पदमा पुग्दा पत्नीलाई गर्व लाग्छ । आफूले थोरै पढेकोमा कुनै दुःख मनाउ हुँदैन । मेरो श्रीमानको उन्नति प्रगति नै मेरो हो भन्छिन् । खुसीखुसी घर बच्चा सम्हाल्छिन् । तर, पत्नी ठूलो पदमा पुगिन् भने या भनौ ‘हाई प्रोफाइल’ भइन् भने पतिले आफू कमजोर र अपमानित भएको ठान्न थाल्छन् । किन अहम् पालेर बस्छन् होला यी पुरुषहरू? यही अहङ्कारले सुरु हुन्छ घरायसी युद्ध । तेरो फुर्ती बढी भयाे अब लगाम कस्नुपर्छ । धेरै बाठी भइस् । तेरो जागिरले केही लछारपाटो लागेको छैन । यस्ता वचन वाण सुन्नुपर्छ । कि जागिर छोड् कि घर छोड रे । आफ्नो सपना बचाउन ठूलो मुल्य चुकाउनु पर्ने दिन पनि आउँछ । नारीले आफ्नो पढाइ, योग्यता, सीपले काम गर्दा पनि किन त्यति रिस ? श्रीमान् श्रीमतीको हैसियत बराबरमा पुग्छ या पतिभन्दा पत्नीको हैसियत उच्च हुन्छ अनि सम्बन्ध विच्छेदसम्म कुरा पुग्छ ।
तीन करोड मानिसहरूमा पचास लाख जोडी मिल्नु कुनै सुखद कुरा लागेन मलाई ।
अर्कोतिर लाखौं लाख युवा खाईनखाई घर व्यवहार मिलाउन दुःख गरेर कमाएकाे पैसा पठाउँछ्न् यता पत्नीहरू पैसा कुम्लाएर कुलेलम ठोक्छन् । यसरी पाे उनीहरू नारी दिवस मनाइ दिन्छ्न । ती युवाको आँसु कस्ले बुझ्नु ?
नारी दिवसको सार्थकता केही देख्दिन म त ।
जिन्दगी चलाउन सहज छैन । तर, किन यस्तो खुम्चिएको सोच पाली बसेका छौँ हामी । सबै कुरा विदेशी को सिक्ने हामीलाई सोच फराकिलो बनाउन किन आएन ? आफूलाई स्वतन्त्रता मन पर्छ भने त्यो अर्कोलाई पनि मन पर्छ भनेर किन सोचिँदैन ?
घरायसी महिलाहरुको कुरा पनि राखौँ जो लाखौंँ खुसी, रहर, समय. धैर्य आफ्नो परिवारलाई खर्चिएका हुन्छन् । इज्जत सोचेर संघर्ष गरिरहेका छ्न् । छोराछोरी डाक्टर, इन्जिनियर बनाउन रातदिन उनीहरुकै पालन पोषणमा खटिएका छ्न् । यस्ता नारीको गुनासो नपोख्नु त सरासर अन्याय भएन र ?
कामकाजी महिला भन्ने गर्छिन् -
घरको काम गर, अफिस जाउ, हाँसी हाँसी इष्टमित्र रिझाऊ । के हाम्रो मन मेसिन हो? मेसिनै बन्न पर्ने हाे भने किन चाहियाे याे "नारी दिवस " । नारीको उन्मुक्ति सबै भ्रम हुन् त?
पुरुषलाई मात्र कति व्यङ्ग्य हानेको जस्तो लाग्यो होला । यो व्यक्ति कसैलाई हाेइन पुरुषप्रधान समाजकाे साेचलाई भनेको हो । जहाँ लाग्नु पर्ने हो त्यहीँ लागोस् यो निसाना पनि । नारीले सहनजस्तै पोखिन पनि जानेकी हुन्छिन । पुरुष त सहन पनि नसक्ने वेदना पाेख्न पनि नसक्न्ने हाे ? दोष कस्को त ??
नारीलाई इज्जत गर्ने असल पुरुष पनि छन् । पत्नीका हरेक रहर पूरा गर्न आफू दुःख गर्छन् । सबै पुरुष गलत छैनन् । सबै नारी असल पनि हुँदैनन् । यो समाजका नराम्रा कुरा ह्टाउने जिम्मा नारी पुरुष दुवैको हो । समाज सभ्य बनाउने मन सबैको एउटै होस् । रहर सबैको उस्तै हो । नारीको आवाजलाई सम्मान गरौँ । सम्मान दिनुस् र सम्मान पाउनुस् ।