site stats
ब्लग
अब शिक्षकले के ओढ्ने ?

नेपाल विकास अनुसन्धान प्रतिष्ठान र रिसोर्सेस हिमालयको संयुक्त आयोजनामा सञ्चालित एक अन्तर्क्रिया कार्यक्रमा एउटा नौलो विषयले प्रवेश पायो । सरकारी विद्यालयमा पढाउने इलाम जिल्लाका एक शिक्षकले भने – इलाम जिल्लाका विद्यालयहरूको पाठ्यक्रममा कम्प्युटर विज्ञान हटाएर पर्यटन विषय राखिएको छ ।

कार्यक्रममा सहभागी सबैले यसलाई आश्चर्यका रूपमा लिए । पाठ्यक्रम विकास केन्द्रले कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षा अनिवार्य विषयका रूपमा राखेको जानकारी थियो । तर, छलफलबाट थाहा भयो - यसै वर्षदेखि कक्षा ६ को कम्प्युटर शिक्षा हटाएर यसलाई विज्ञान र प्रविधि विषयको एक परिच्छेदमा सीमित गरिएको छ ।

छिमेकी भारतमा सरकारी विद्यालय पढेर कम्प्युटर इन्जिनियरिङमा विद्यावारिधि गरेका पराग अग्रवाल ट्विटरका कार्यकारी प्रमुख भएको समाचार ताजै थियो । उनको तलब मासिक रु एक करोडको हाराहारीमा रहेको बारे मैले त्यसै कार्यक्रममा श्रोताहरूको ध्यानाकर्षण गराएको थिएँ । नेपालमा पनि त्यही श्रेणीका कम्प्युटर इन्जिनियर वा उद्यमी उत्पादन गर्न अब हामीलाई कुनै बाधा छैन भन्ने विषयको उठानसमेत मैले गरेको थिएँ । कक्षा ६ बाट कम्प्युटर विषय हटाएको जानकारीले मेरो दृष्टिकोणमा बज्रपात भएको महसुस हुनु स्वाभाविकै थियो ।

NMB Bank
Dabur nepal
Agani Group

सरकारी विद्यालयका पाठ्यपुस्तक निःशुल्क वितरण हुने नीति सरकारले लिएको भए पनि अभिभावकले पसलबाट पुस्तक किन्नुपर्ने र पछि विद्यालयले सोधभर्ना गर्ने गरेको पनि मैले थाहा पाएँ । कक्षा ६ मा लागु गरिएको परिवर्तित पाठ्यपुस्तक किनेर कम्प्युटर विषयका सामग्री हेर्ने विचार आयो । 

म हान्निएर कोटेश्वरका पुस्तक पसलमा पुगेँ । बिहानको ८ बजेको हुँदो हो । दुई, तीनवटा पसल चाहार्दा पनि पुस्तक भेटिएन तर अर्को एक नौलो कुरा मेरो मञ्चमा प्रवेश गर्‍यो ।

Global bank

कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने सेतीओपी मार्गका बिजुलीका खम्बा र भित्तामा टाँसिएको पर्चाले मेरो ध्यान खिच्यो – प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महाधिवेशन स्थल ।

म पर्चाले देखाएको निशाना पछ्याउँदै हिडेँ । नभन्दै महादेवस्थान मन्दिर पुग्नुअघिको भोजभतेर गृहमा तामझाम देखियो ।

प्रवेशद्वारमा राखिएको तुल पढेँ । निश्चिन्त भएँ र भित्र पसेँ । प्रवेशद्वारको देब्रे कुनामा घाँटीमा परिचयपत्र भिरेका दुईजना सहभागी गफ गर्दै गरेका भेटिए । 

‘यहाँहरू कुन जिल्लाबाट ?’ 

‘बझाङ ।’ 

प्रत्युत्पन्न मतिले काम गर्‍यो । मैले सोचेँ – म पढेको विद्यालय वा जिल्लाबाट पनि कोही आएको होला ।

म बझाङीसँग विदा भएर अघि बढेँ । दाहिनेतिर एउटा कुर्सीमा बसेर खाजा खाइरहेका त्रिदेवी भेटिए । म उनीहरूसँग मिसिएँ ।

खाली कुर्सीमा बसेँ ।

‘नमस्कार ! यहाँहरू कुन जिल्लाबाट ।’

मेरो सोधखोजले काम गर्‍यो । दुई जना मोरङ र एक जना सुनसरीबाट आएका रहेछन् । मैले मेरो बिजिनेस कार्ड दिएँ ।

एक जनाले आश्चर्यभावमा भनिन् - ‘हजुर पनि खतिवडा पो हुनुहुँदो रहेछ !’ 

यसो भन्ने देवीजी मेरै बन्धु परिछन् । मैले एकै छिन कुरा गरेँ र मेरो माग राखेँ ।

‘यहाँहरूको अध्यक्षलाई भेट्ने इच्छा थियो ।’

‘ल हिँड्नुहोस् । उहाँ अधिवेशन कक्षको मञ्चमा हुनुहुन्छ ।’

खतिवडा मिसले मलाई मञ्चमा पुर्‍याइन् र परैबाट संकेत गरिन् । सहभागीहरू दुइ सय हाराहारीमा थिए । धेरैले अनौठो मानेर मतिर हेरे । मूल कार्यक्रम सुरु हुन बाँकी थियो । म सिधै मञ्चमा गएँ ।

प्रमुख अतिथि र अध्यक्षको केही गम्भीर वार्तालाप चल्दै थियो । मैले बिथोलेर बिजिनेस कार्ड दिएँ ।

‘शिक्षक र विद्यार्थीका लागि कम्प्युटरको महत्त्वपूर्ण राष्ट्रिय कक्षा लिइरहेका छौँ । यो अधिवेशनमा सूचना प्रसार गर्ने मौका दिनु होला ।’ 

प्रमुख अतिथिले मास्क खोले । उनी त मेरै आफन्त परेछन् । मेरो काम सजिलो हुने ठहर्‍याएँ । मूल कार्यक्रम सकिएपछि छोटो समय पाउन सक्ने सम्भावना देखियो ।

म अनौपचारिक पोसाकमा थिएँ । घर फर्किएँ । एक घन्टापछि प्रमुख अतिथिलाई फोन गरेँ । तेस्रो पटकमा उठ्यो । आधा घन्टापछि आउनु भन्ने संकेत प्राप्त भयो । ठीक समयमा पुगेँ र  सभाकक्षको पछाडि गएर बसेँ । मञ्चमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केही नेता थिए । 

पञ्चायती व्यवस्था ढाल्ने सिलसिलामा शिक्षक आन्दोलनको अगुवाइ गर्ने भुटनदेवी माविका तत्कालीन प्रधानाध्यापक बद्रीप्रसाद खतिवडा पनि मञ्चमा थिए । म पुगेको केही बेरमै अध्यक्षको सम्बोधन शुरु भयो । करिब ४० मिनट उनको भाषण सुनेँ । सङ्गठनको झण्डामा कलमको एङ्गल नमिलेको, सङ्गठनको नाम नै अरुसँग जुधेको, राजनीतिक दलसँगै  टुक्रेको सङ्गठनले बेहोरेका समस्या आदि विषयमा उनको अभिव्यक्ति अनवरत प्रसार भइरह्यो । 

मलाई ती कुरामा कुनै चासो थिएन । पालो पर्खेर मञ्चमा उभिएर बोल्नुले कुनै मूल्य थप गर्लाजस्तो लागेन । मेरो उद्देश्य सभाका सहभागीलाई भर्चुअल प्लेटफर्ममा हुने ‘कम्प्युटर कक्षा’ बारे जानकारी दिनु थियो । मैले कागजमा खेस्रा गरेर सूचनाको अन्तिम रूप दिएँ । एक जना स्वयंसेवकलाई प्रमुख अतिथि समक्ष त्यो कागज पुर्‍याइदिन लगाएर म हिँडेँ । 

त्यस दिन बेलुका र भोलिपल्ट गरी दुईजना शिक्षकको फोन आयो । मैले उनीहरूको विद्यालयलाई 'ह्वाट्स अप' समूहमा जोडेँ ।

एउटा विद्यालयका कक्षा ६ का विद्यार्थी राष्ट्रिय कक्षामा सहभागी भए । 

कोरोना काल सुरु भएपछि नेपाल विकास अनुसन्धान प्रतिष्ठानले नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा सात प्रदेशका ३५ वटा विद्यालयमा ‘फोन कक्षा’ को नमुना परीक्षण गरेको थियो । इन्टरनेट आवश्यक नपर्ने हुनाले नेपालको जुनसुकै कुनामा पनि महामारीका बेला शिक्षण–सिकाइमा यो तरिका विकल्पको रूपमा स्थापित हुने सम्भावना थियो तर सोचेको उपलब्धि हासिल हुन सकेन । 

अधिकांश प्रधानाध्यापक  र शिक्षकहहरू राजनीतिको खोल ओडेर जागिर जडताको सिकार भएका र जोखिम नलिने प्रवृत्तिका भएका कारण तिनले यस्ता वैकल्पिक विधिमा चासो दिएनन् । 

यथास्थितिभन्दा फरक चिन्तनको बीजारोपण गर्न शिक्षा क्षेत्रमा पनि कठिन भएको वर्तमान परिस्थितिमा शिक्षक सङ्गठनको महाअधिवेशनमा गरिएको ‘एजेन्डा हस्तक्षेपकारी कार्य’ ले केही प्रतिफल दिएको थियो । मेरो नौलो क्रियाकलापका बारेमा पूर्वमन्त्री गणेश शाह, विवेकशील साझाका नेता केशव दाहाल आदिलाई पनि सुनाएँ ।

अरूको सभामा गएर एजेन्डा हस्तक्षेप गरेको केही दिन भएको थियो । बद्रीप्रसाद खतिवडासँग एक अर्को रोचक अवसर सिर्जना भयो । 'घोस्ट राइटिङ नेपाल'ले उनको ‘अभियन्ता’ नामको पुस्तक प्रकाशन गरेको रहेछ । केही विमोचन समारोहमा मैले केही पुस्तकको समीक्षा गरेर स्लाइड प्रस्तुत गरेको बारे घोस्ट राइटिङका अध्यक्ष कमल ढकाललाई सुनाएको थिएँ । उनले ‘अभियन्ता’ को विमोचन समारोहमा पनि प्रस्तुतिका लागि मलाई निम्ता दिए । 

मैले सहर्ष स्वीकार गरेँ ।

विमोचन समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आउने कुरा सुनेको थिएँ तर  उपस्थित भए अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल । एकातिर पुस्तक विमोचन समारोहमा स्लाइड देखाउनु नौलो प्रयोग थियो भने अर्कातिर प्रस्तुति प्रभावकारी बनाउने चुनौती थियो । 

कार्यक्रम तीनकुनेको रोयल ब्यान्क्वेटमा राखिएको थियो जहाँ प्रोजेक्टर, स्क्रिन आदिको नामनिसाना थिएन । यी ‘सुविधा उपलब्ध छैन’ भनेर जानकारी दिने व्यक्तिसमेत खोजी गर्दामात्र भेटियो । आखिर प्रस्तुति भयो, भित्तो नै स्क्रिन भयो । प्रोजेक्टर अन्यत्रैबाट ल्याइयो ।

बद्रीप्रसाद नातामा मेरा हजुरबुबा पर्ने भएकाले मलाई ‘एजेन्डा हस्तक्षेप’ गर्न र आफ्नो कुरा भन्न अवसर थियो । कार्यक्रममा उनका पुत्र स्वास्थ्यमन्त्री विरोध खतिवडा, उनकी नातिनी पूर्वनेपाल सुन्दरी शृङ्खला खतिवडा, पूर्वमन्त्री हृदयेश त्रिपाठी आदि उपस्थित रहेकाले मेरा सन्देशहरूको केही दूरगामी प्रभाव पर्ला कि भन्ने आशा पनि थियो ।

नेपालको राजनीतिक इतिहासमा पानीढलो बनेको २०३६ सालको विद्यार्थी र शिक्षक आन्दोलनको प्रसङ्ग अघि सार्दै आजको सन्दर्भमा शिक्षक राजनीतिको औचित्यका बारेमा लेखकको धारणा मैले महत्त्वका साथ प्रस्तुत गरेँ ।

बद्रीप्रसादले लेखेको जस्ताको तस्तै सुनाएँ –

“निर्दलीय पञ्चायती व्यवस्थालाई फाल्नका लागि आन्दोलनको आवश्यकता थियो । अब प्रजातन्त्रमात्र होइन लोकतन्त्रसमेत आइसकेको अवस्थामा अब शिक्षकले राजनीतिमा लाग्नु हुँदैन । झोले कार्यकर्ता भएर राजनीतिमा संलग्न हुनु धोका हुनेछ ।”

मैले आफ्नो प्रस्तुतिमा यो विषयलाई उकेरा लगाउँदै भनेँ – 

“शिक्षकले राजनीतिमा लाग्नुपर्ने एक कालखण्ड थियो । त्यो अब पूरा भयो । अब शिक्षकले राजनीतिमा लाग्नु हुँदैन । यी वाक्यहरू हजुरबाका हुन् । पुस्तक नपढुजेन्ल मलाई चिन्ता थियो, हजुरबाले यो विषयमा के लेख्नु भएको होला भन्ने । म अहिले हर्षित भएको छु । अब शिक्षकले राजनीतिको खरानी घस्नु जरुरी छैन । यसमा नाति र हजुरबाको धारणा एक भएको छ ।"

पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथि भएकाले उनले अन्त्यतिर सभालाई सम्बोधन गरे । मलाई मेरो मिहिनेतले विमोचन समारोहमा अड्डा जमाएको अनुभूति भयो जब खनालले मेरो अभिव्यक्तिलाई पृष्ठभूमि बनाए ।

उनले भने, ‘अहिले शिक्षकहरू राजनीतिमा लाग्नु हुन्न भन्ने नयाँ चिन्तन आएको छ । शिक्षकहरूलाई तपाईंले राजनीतिमा नलाग भनेर रोकेर कहिले पनि रोकिन्न । त्यो विचारको प्रश्न हो । दृष्टिकोणको प्रश्न हो । मानिसको व्यक्तिगत स्वतन्त्रताको प्रश्न हो।

पुस्तकका टिप्पणीकर्ताको रूपमा मैले बोलेको अवधारणा आधार बनाएर उनले थप कुरा भने- ‘टिप्पणीकर्ताले एक अवधारणा अघि सारे, अब संघर्षको जीवन सकियो त्यसैले निर्माणतर्फ लाग्नुपर्छ । मैले सुन्नमा गल्ती गरेको हुनुपर्छ मेरो ठम्याइ छ । सुन्नमा गल्ती गरेको होइन र राजनीतिक संघर्ष सिद्धियो भन्ने अवधारणा बद्री कामरेडले राख्नु भयो र पुस्तकमा पनि यस्तो लेखिएको छ भने त्यो गलत हो ।’ 

एकातिर मैले हस्तक्षेप गरेको विषयवस्तुले पूर्वप्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का हस्तीको मथिङ्गल हल्लाइदिएको थियो । तर, खनालले जिकिर गरेको विषयवस्तु भने मेरो मथिङ्गलमा पस्न सकेन ।

मैले राजनीतिका खेलाडीहरूको राय लिन मनासिब सम्झे । केशव दाहाललाई बेलिविस्तार लगाएँ । मैले उठान भएको विषयवस्तु छोटकरीमा राखेँ ।

“लोकतन्त्र, संघीयता सबै गर्दा राजनीतिक वर्णक्रममा पल्लै छेउ पुगिसकियो । सरकारमा जेएन (झलनाथ) कामरेडहरूको दल पनि समावेश छ । उहाँहरूको जिकिर छ, संघर्ष अझै बाँकी छ र शिक्षकले राजनीति गर्न छोड्नु हुन्न ।“ 

दाहालको बुझाइले मलाई झन् चकित गरायो । उनको थप टिप्पणी थियो –

“डा. साहेब ! उहाँहरूले भन्नुभएको यस्तो हो, सरकार कब्जा भएको छ तर राज्यसत्ता कब्जा भएको छैन । पुँजीवादी लोकतन्त्र पो आयो त । हामीलाई चाहिएको समाजवादी लोकतन्त्र हो । त्यसपछि अन्तिम गन्तव्य साम्यवादी लोकतन्त्र ।"

कोरोनाकाल शुरु हुनुअघि म चीनको ठूलो सहर सेनजेनको युनिभर्सिटी टाउनमा अवस्थित विश्वविद्यालयमा अतिथि प्राध्यापक बनेर गएको थिएँ । त्यहाँ आयोजित एक रात्रिभोजमा चीनको कम्युनिस्ट पार्टीका एक नेता भेटिए ।

अंग्रेजी भाषा राम्रै बोल्ने रहेछन् । उनको र मेरो सामिप्य बढ्यो । अर्को दिन पनि उनीसँग मेरो भेट भयो । हलुका वातावरणमा कुरा गर्न थाले । कुरैकुरामा उनले मलाई सोधे - ‘तिम्रो मुलुकको विकास नहुनुको मूल कारण के हो ?’ 

‘धेरै छन् । मुख्य चाहिँ आधुनिक इन्जिनियरिङ र प्रविधिको उपयोग हुन नसक्नु हो ।’ 

मेरो जवाफ उनलाई उचित लागेन । 

उनले भने - ‘मेरो विचारमा तिम्रो मुलुकको मूल समस्या भनेको जनताको अधिकांश समय राजनीतिक गतिविधिमा बित्नु हो । द्रूत आर्थिक विकासका लागि बहुसंख्यक जनताले विचार र समय दुवै दान गर्नु जरुरी हुन्छ ।’ 

उनको कुरा पनि मलाई बेठीक लागेन । यता आफ्ना नेताहरूको कुरो पनि ठीक लाग्ने नै भयो तर, राजनीतिमा भन्दा पनि मेरो चासो शिक्षण पेसामा रहेको छ । कम्प्युटर विज्ञानजस्तो विषयमा हाम्रा विद्यार्थीको चेत बढाउन अब कुनै तगारो छैन । तर प्रश्न चिन्ह शिक्षकको भूमिकामा छ ।  

यसैले अहिलेको परिवर्तित परिस्थितिमा शिक्षकहरूको भूमिका के हुने भन्ने विषयमा सर्वमान्य अवधारणा बन्न नितान्त जरुरी छ ।

अबको परिस्थितिमा शिक्षकहरूले के ओढ्ने - शिक्षण सिकाइको दोसल्ला कि राजनीतिको खोल ?
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय