site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एउटा राइडरको फिल्मी सपना 

केही महिनाअघिको घटना हो । यौटा जरुरी कामले गर्दा महाराजगन्जस्थित अफिस जानुपर्ने थियो । आफू कीर्तिपुरमा थिएँ । त्यसैले चिनेजानेका साथीभाइबाट मोटरबाइक वा स्कुटी प्राप्त गर्ने असफल प्रयास गरेँ । तर, जोरजाम जुटेन ।

फलतः मोबाइलमा एउटा एप्लिकेसन डाउनलोड गरेर बाइक राइडरलाई बोलाएँ । कीर्तिपुरबाट महाराजगन्जसम्म पुग्न राइडरलाई २०० रुपैयाँ तिर्नुपर्ने हुँदो रहेछ ।

हठात् सम्झिएँ, स्वास्थ्य व्यवसायी परिषद् पनि जानुपर्ने । त्यहाँ पनि काम भएकोले पुग्नुपर्ने नै थियो ।

कालो चस्मा र आँखासम्म छोपिने गरी मास्क लगाएका बाइक राइडर मेरासामु आइपुगे । मैले महाराजगन्ज जानुभन्दा पहिले बाँसबारीमा रहेको परिषद्मा जानुपर्ने आग्रह गरेँ ।

मेरो कुरा सुन्नासाथै राइडरले सोधे, ‘तपाईं पनि स्वास्थ्यको मान्छे हो ?’
मैले ‘हो’ भनेपछि उनले भने, ‘मैले पनि कुनै जमानामा स्वास्थ्य विषयको यौटा कोर्स पूरा गरेर त्यहीँबाट दर्ता लिएको हुँ । मलाई थाहा छ त्यो ठाउँ ।  पहिले त्यहीँ पुर्याइदिन्छु ।’ यति भन्दै राइडरले बाइक स्टार्ट गरे ।

बाइकमा सजिलो गरी बसेपछि मैले उनीसँग जिज्ञासा राखेँ, ‘अनि तपाईं स्वास्थ्यकर्मी भएर पनि यो बेग्लै व्यवसायमा किन आउनुभएको नि ?’
मोटरबाइक हाँक्दै उनले आफ्नो बाल्यकालदेखिका सारा इतिहास बताए । भने, ‘मेरो जिन्दगीको लामो कथा छ सर । म एकदम राम्रो आर्थिक अवस्था भएको, काठमाडौंको रैथाने परिवारमा जन्मिएको एक्लो छोरो हुँ । त्यसबखतको हाम्रो सम्पत्ति आजका मितिअनुसार मूल्यांकन गर्ने हो भने झन्डै तीन अरबभन्दा बढी हुन्छ होला । तर, म त्यहाँबाट झरेर सडकमा पुगेँ ! र, अहिले मेरो परिवारको लालनपालन गर्न, फेरि पहिलेकै अवस्थामा पुग्न संघर्ष गर्दै छु ।’

उनले बाइक ठ्याक्कै परिषद्को ढोकामा लगेर रोके । म भित्र गएँ । आफ्नो काममा एक छिन अलमलिएँ । अनि, काम सकेर बाहिर निस्किएँ ।
बाहिर निस्केर हेर्दा राइडर थिएनन् । यताउता खोज्दै जाँदा यौटा कुनामा पर्खालतिर फर्केर उनी उभिइरहेका देखिए । 
मैले नजिकै गएर कोट्याएँ । राइडर झस्किएझैँ लागे । उनले यताउता पल्याकपुलुक हेरे । अनि मात्रै बाइक स्टार्ट गरे ।
अघि बाइक खोजेको बेला उनी नभेटिएकोमा मैले रिसाएझैँ गरेँ ।

उनले यताउताका घरहरू देखाउँदै भने, ‘यीमध्ये कतिपय ठूला घरहरू मेरो ससुरालीतिरका मानिसका हुन् । उनीहरू मैले यो काम गरेको देख्दा अप्ठेरो मान्छन् । यता आउँदा मात्रै होइन, म अस्पतालतिर जाँदा पनि कालो चस्मा र मास्कले मुख छोप्छु ।’
‘अस्पताल जाँदा पनि मुख छोप्ने नि !’ मैले अचम्मको भाव प्रकट गरेँ ।

उनले पीडा पोखे, ‘मसित खेलेर हुर्केका, स्कुल–कलेज सँगै पढेका १७ जना साथीहरू विभिन्न अस्पतालहरूमा डाक्टर छन् । मसित भेट्दा उनीहरूलाई पनि अप्ठेरो, मलाई पनि अप्ठेरो !’

‘हेर्नुस् मित्र, तपाईं आफ्नो अगाडिका मान्छे मात्र नहेर्नुस् । बरु, पछाडिका मान्छेलाई पनि हेर्नुस् । सफलता सबैले पाउँछन् भन्ने हुँदैन । सफलता मात्रै होइन, विफल भएकाहरूतिर पनि हेर्ने गर्नुस् । अनि मात्रै तपाईंलाई राहत मिल्छ ।’
‘सर, मेरो नातागोता, साथीभाइहरूमा मजति असफल कोही छैन । सायद, यो संसारमै कोही छैनन् होलान्, म जति असफल ।’
उनी बोल्दाबोल्दै रोकिए । म अक्क न बक्क परेँ । उनलाई कसरी सान्त्वना दिऊँ भनेर सोच्न थालेँ ।
अनि भनेँ, ‘मैले लेखेका कथाहरू पढ्ने गर्नुस् । त्यहाँ तपाईंले भन्दा पनि बढी दुःख पाएका मान्छेका कथा भेट्नुहुनेछ ।’ मसँग सान्त्वना दिने यही मात्रै उपाय थियो ।

उनले एक्कासि बाइक रोके । र, मेरो मुखमा हेर्दै छक्क परेजसरी सोधे, ‘सर, तपाईं कथा पनि लेख्नुहुन्छ ? त्यसो भए मेरो बारेमा पनि यौटा कथा लेखिदिनुस् है । म मेरो कथामाथि यौटा फिल्म बनाउन चाहन्छु । र, फिल्मको नाम हुनेछ, ‘करोडपतिबाट रोडमा पुगेर फर्केको करोडपति’ ।’

उनले थपे, ‘म यो फिल्मबाट सारा दुनियाँलाई बताउन चाहन्छु, म करोडपति हुँ भनेर घमन्ड गर्दा मान्छे कसरी बजारिएर रोडमा पुग्छ । अनि, त्यही मान्छेले सारा दुःख भुलेर अहोरात्र मिहिनेत गर्याे भने फेरि उठेर कसरी करोडपति बन्न सक्छ भनेर देखाउन चाहन्छु ।’

‘म कहिले लेखुँ त तपाईंको कथा ?’ मैले हाँस्दै प्रश्न गरेँ ।
‘जब म पहिलेकै अवस्थामा पुग्नेछु । तर, त्योभन्दा अगाडि यो कथा कसैलाई नबताउनु होला है । जब कथा पूरा हुन्छ, अनि म आफैँ तपाईंलाई भेट्न आउनेछु ।’
मैले सहमति जनाएँ ।

गन्तव्यमा पुगेर मैले ३ सय रुपैयाँ निकालेर दिएँ ।
उनले भने, ‘सर, मैले २ सय भाडा भनेर ल्याएको हो । मैले लागेको मूल्यभन्दा एक रुपैयाँ पनि बढी लिने गरेको छैन ।’
मैले भनेँ, ‘तपाईंले मलाई महाराजगन्जसम्म भनेकोमा बाँसबारी समेत पुर्याइदिनुभयो । मैले पनि विनापारिश्रमिक सित्तैमा काम लगाउने गरेको छैन ।’

मैले पनि जिद्दी नै गरेँ । र, उनको हातमा सय रुपियाँका तीनवटा नोट थमाएँ ।
उनले ती नोटहरू समाए । तर, त्यो पैसा खल्तीमा नहालेर हातमै लिएर एकोहोरो हेरिरहे । म फटाफट अफिसतिर लागेँ । 
अफिसभित्र छिरेपछि झ्यालबाट हेरेँ, उनी अझै पनि मैले दिएका तीन नोट हेरिरहेका थिए । 

(तारकेश्वर, काठमाडौं)
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro