काठमाडौं । पछिल्ला वर्षमा काठमाडौं उपत्यकाभित्र अपहरणको घटना बढ्दै गएको प्रहरीको तथ्याङकले देखाएको छ ।
यसरी अपहरण पर्नेमा धेरैजसो बालबालिका नै रहने गरेको प्रहरी तथ्यांक छ । फिरौति रकमको लागि बालबालिका नै अपहरणकारीको बढी निशानामा पर्ने गरेको प्रहरी बताउँछ ।
आर्थिक वर्ष २०७२/७३ को तुलनामा गत आर्थिक वर्षमा बालबालिका अपहरणको सङख्या दोव्बरले वृद्धि भएको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष २०७२/७३ मा देशभरबाट ११ जना बालबालिकाको अपहरण भएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७३/७४ मा यो सङख्या दोव्बरले वृद्धि भएर २२ जना पुगेको छ ।
तीनबर्षको अवधिमा देशभरबाट ५१ जना बालबालिका अपहरणमा परेका छन् । यसरी अपहरणमा सबैभन्दा धेरै उपत्यकालगायत तराईका जिल्लाहरुबाट बढी अपहरणमा परेका छन् ।
तीन बर्षमा १८ जना बालबालिका मध्यमाञ्चल क्षेत्रबाट मात्र अपहरणमा परेकोे प्रहरी तथ्याङकले देखाएको छ । मध्य र सुदर पश्चिमाञ्चलमा भने विगत तीन वर्षदेखि कुनै पनि बालबालिका अपहरणमा नपरेको प्रहरीको तथ्यांक छ ।
पूर्वाञ्चल र पश्चिमाञ्चलमा १४–१४ जना बालबालिका अपहरणमा परेका छन् । तीनवर्षमा उपत्यकाबाट भने ६ जना बालबालिकाको अपहरण भएको छ । अनुसन्धान अधिकारीका अनुसार यसरी अपहरणमा पर्ने अधिकांस बालबालिका व्यापारीक परिवारका छन् ।
परिवारमा बच्चा संवेदनशील भएकाले सजिलै फिरौती रकम आउने आशामा अपहरणकारीले बालबालिकालाई नै हेर्ने गरेको प्रहरी प्रवक्ता डीआईजी पुस्कर कार्कीको भनाई छ ।
उनी भन्छन्, “परिवारमा अविभावकले बच्चाकै लागि दिनरात मेहनत गरेको हुन्छ त्यसैले अपहरण गरे सजिलै फिरौती आउने आशामा अपरहण गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ ।”
उपत्यकाभित्र बढ्दो
आर्थिक वर्ष २०७३/७४ मा उपत्यकाभित्रबाट १७ जना अपहरणमा परेका छन् । विगत तीन वर्षको तथ्याङक हेर्दा उपत्यकामा अपहरण हुनेको सङख्या बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७१/७२ मा देशभरमा ७० जनाको अपहरण हुँदा उपत्यका भित्रमात्र ११ जना अपहरणमा परेका थिए । आर्थिक वर्ष २०७२/७३ मा देशभरमा अपहरणमा पर्नेको सङख्या ७० बाट बढेर ७७ पुगेको छ ।
उपत्यकाभित्र अपहणको सङख्या १६ पुगेको छ । उपत्यकाभित्र ठुला ठुला व्यापारी र फिरौती रकम सहजै उठ्ने भएकाले उपत्यकामा अपहरण बढि हुने गरेको प्रहरी प्रवक्ता कार्की भन्छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्, “अपहरणकारीले जहिले पनि सहज बाटो हेर्न गरेका हुन्छन् । अपहरणकारीको निशानामा सधैजसो बालबालिका पर्ने गर्छन् । बालबालिका अपहरण परेमा परिवारका सदस्यबाट सहजै फिरौती लिन सकिने भएकाले पनि यस्तो देखिएको छ ।” रकमको लोभमा बालबालिका अपरहण गर्नेहरु अहिलेसम्म कानुनबाट बचेको रेकर्ड नभएको र फिरौती रकम असुल्न पनि नपाएको प्रहरी बताउँछ ।