1640924646.jpg)
बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको आज ४५ वर्ष पूरा हुँदैछ । विसं २०३३ सालको पुस १६ गते बीपी ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फिर्ता भएका थिए ।
बीपीविरुद्ध नेपालमा मृत्युदण्डसम्म हुन सक्ने राष्ट्रद्रोहका मुद्दाहरु भए पनि स्वेदश फिर्ता हुने निर्णय बीपीले किन गरे ? आफू सुरक्षित छैन भन्ने जान्दाजान्दै बीपीले यस्तो निर्णय किन लिएका थिए ? मेलमिलापको नीतिको निहीत उद्देश्यक के थियो भन्ने विषयमा हामीले अध्येता हरि शर्मासँग मन्थन गरेका छौँ ।
प्रस्तुत छ, बाह्रखरीका बलराम पाण्डे र रमेश वाग्लेले अध्येता शर्मासँग यिनै विषयमा केन्द्रित रहेर गरेको मन्थनको सम्पादित अंश :
बीपी कोइराला मेलमिलाप नीति लिएर आउनुको मूल उद्देश्य के थियो ? अहिलेसम्म फरक फरक धारणा आएका छन् ।
बीपी कोइराला राजाको जेलबाट २०२५ सालमा छुटेपछि विराटनगर जानुभयो । एलिट क्लबमा भाषण गर्नुभयो । त्यसपछि उहाँ भारततिर लाग्नुभयो । बीपी बाहिर गएको चित्त नबुझ्ने मानिसहरु निर्वासनमा गएको विषयमा अनेक टीकाटिप्पणी गर्थे जुन आजसम्म पनि गर्छन् ।
उहाँ निर्वासनमा पनि कसैले निकालेर होइन आफैँ गएको अर्थात् स्वनिर्वासन (सेल्फ एक्जायल)मा हुनुहुन्थ्यो पनि भनिन्छ । जो मान्छेलाई बीपी बाहिर गएको मन परेन अथवा तिनलाई उहाँलाई कमजोर देखाउनु थियो । उनीहरुले बीपी कोइराला चञ्चल स्वभावको हुनुहुन्थ्यो, चाँडो ‘टेम्पर’मा आएर निर्णय गर्नुहुन्थ्यो भनेर टिप्पणी गरेको पाइन्छ ।
तर, राजाबाट अनपेक्षित कदम फेरि पनि हुन सक्छ भन्ने आशंकामा उहाँ निर्वासनमा जानुभएको थियो भन्ने विश्लेषण पनि भएका छन् । विभिन्न मानिसहरुका अन्तर्वार्ता र त्यस बेलाका मानिसहरुका कुराकानीबाट दुईवटा कुरा आउँछन् ।
एउटा चाहिँ नेपालमा बसेर केही कुरा सम्भव छैन । त्यतिबेला नेपालमै बसेर राजासँगको द्वन्द्व सम्भव थिएन । त्यसलाई कसैले बीपी समस्यासँग भाग्ने हुनुहुन्थ्यो भन्छ भने अर्कोले होइन उहाँ बिरामी पनि हुनुहुन्थ्यो उपचार गर्न जानु नै थियो र उहाँ एउटा अनुकूलताको सिर्जनामा पनि लागिरहनुभएको थियो प्रजातन्त्रको पुनस्र्थापनाका लागि भन्छन् ।
जेसुकै कारण होस् बीपी निर्वासनमा भारत जानुभयो । अब मेरो नितान्त व्यक्तिगत विश्लेषणमा आधारित कुरा चाहिँ बीपी यस्तो मान्छे हुनुहुन्थ्यो कि देशबाट निस्किएपछि उहाँको अन्तर्राष्ट्रिय सम्बन्धका कारण, भाइचाराका कारण, उहाँको व्यक्तित्वका कारण र सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षसमेत भइसकेका कारण उहाँ जुनसुकै देश जान सक्नुहुन्थ्यो । भारतबाहेकका जुनसुकै देशमा उहाँ पुग्न सक्नुहुन्थ्यो ।
उहाँ फ्रान्समा बस्न सक्नुहुन्थ्यो जो चाहिँ निर्वासनमा बस्ने बुद्धिजीवीहरुको केन्द्र थियो । जर्मनीमा बस्न सक्नुहुन्थ्यो । युरोपको कुनै पनि सहरमा बीपी बस्न सक्नुहुन्थयो । तर, उहाँले बनारस नै किन रोज्नुभयो ?
किन रोज्नुभयो होला त ?
उहाँ (बीपी)ले बनारस रोजेको हुनाले अहिले नेपाली कांग्रेसमा देखिएको वर्चस्वशाली पुस्ताले बीपीबाट दीक्षित हुने मौका पायो ।
बीपी पेरिस वा लण्डन गएको भए ? त्यहाँ बीपीलाई स्वागत नगर्ने भन्ने प्रश्न नै थिएन । बीपी बनारस नबसेर पेरिस गएको भए गण्डकी छात्र संघमा काम गर्दै गर्दा रामचन्द्र पौडेल पेरिस जान सक्ने सामर्थ्य राख्थे कि राख्दैनथे ? यो महत्त्वपूर्ण कुरा हो । बीपी नजिकै बसेको हुनाले नेपालमा राजनीतिक ढुकढुकीहरुको निर्माण भएको हो । उहाँ त्यहाँ बस्नुहुन्थ्यो, बनारसबाट पटना जानुहुन्थ्यो । त्यसमाथि गिरिजाप्रसाद कोइरालाले २०२८ सालमा ३१ सालमा बेलाबेला गतिविधि गरिरहनुभयो, ‘हिट एण्ड रन’का शैलीका । ओखलढुंगाको घटनादेखि अन्य घटनाहरु पनि आए । त्यसले लोकतन्त्रको प्रश्न नेपालमा जीवित छ भन्ने स्थापित गर्यो ।
एउटा पुस्ता तयार गर्न र म टाढा छैन भनेर देखाउन उहाँ त्यहाँ बस्नुभएको हो । लोकतन्त्रको उद्यमलाई बचाइराख्न उहाँले त्यसो गर्नुभएको हुनसक्छ । बनारसबाट ‘तरुण’ पत्रिका निस्क्यो । त्यहाँ मान्छेहरु पढ्न जान्थे । बनारसमा खुमबहादुर खड्कादेखि चक्र बास्तोलासम्मका नेताहरु बीपी नजिक बस्न गए । बलरामपुर, गोरखपुरदेखि फारबिसगन्ज र अन्य ठाउँका सारा मान्छेहरुको जमघट त्यहाँ हुन्थ्यो । बीपीको निर्वासनमा भारत जाने चयनमा नेपालको प्रजातन्त्रको धुकधुकीलाई बचाइ राख्ने र नयाँ पुस्तामा त्यसको सञ्चार सम्प्रेषण गर्ने उद्देश्य निशित देखिन्छ ।
अर्को कुरा सुवर्णजी भारतमै हुनुहुन्थ्यो । त्यसले गर्दा गतिविधि सञ्चालनमा पनि सहज हुन्थ्यो । तर, भारतमा गतिविधि सञ्चालन कति सहज थियो होला ? कुनै दुःख पाएर शरणमा आएको मान्छेलाई शरण दिनेले पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने जोखिम हुन्छ । त्यसकारण ‘एक्जाइल’मा बस्दाखेरिको राजनीतिको ‘डाइनामिक्स’ नेपालमा हामीले राम्रोसँग पढ्न बुझ्न पाएका छैनौ । कस्तो किसिमको कठिनाइ थियो ? कस्तो सहजता थियो ? सहजता पनि थिए होलान् । बीपीलाई नेपालको ५० किलोमिटर सीमाक्षेत्रमा आउन दिइँदैनथ्यो । त्यस्तो परिस्थिति पनि थियो ।
बंगलादेशको १९७१ स्वतन्त्रता संग्राममा इन्टरनेसनल कमिटी फर बंगलादेश (जयप्रकाशको आह्वानमा बनेको कमिटी) मा बीपीले नै ‘हेड’ गर्नुभएको थियो । बंगलादेशको स्वतन्त्रता संग्राममा बीपी समाहित हुनुभयो भन्ने एउटा भाष्य छ भने बीपीलाई प्रयोग गरियो भन्ने अर्को भाष्य छ । निर्वासनमा बस्दा भएका राजनीतिका पहलुहरुका बारेमा नेपालमा अब धेरैले बिर्सिसके । नेपाली कांग्रेससँग रहेका अलिकति हातहतियार पनि बंगलादेशको मुक्ति वाहिनीलाई हस्तान्तरण गरियो ।
जब तपाईंले राष्ट्रिय मेलमिलापको कुरा गर्दै हुनुहुन्छ । यसको पृष्ठभूमि के थियो, पहलु के थियो भन्ने कुराचाहिँ अलिकति मैले कोट्याउन मात्रै खोजेको । धेरै जानकारी आउन बाँकी नै छ । केही प्रदीप गिरि र दुर्गा सुवेदीले लेख्नुभएको छ । त्यो उहाँहरुको पक्षको छ । तर, विभिन्न पक्षहरु छन् । मैले चाहिँ कुनै पनि घटना हुन्छ भने त्यसमा धेरैवटा पक्ष हुन्छन् भन्ने बुझ्छु । हामीले ती सबै पक्षबाट हेर्नुपर्छ भन्ने मान्यता राख्छु । एकोहोरो भाष्यले इतिहास निर्माण हुँदैन ।
निर्वासनको परिस्थितिमा शरणमा बसेको मान्छेको बीपी कोइरालाको आत्म वृतान्तमा एउटा प्रसंग आउँछ । जब पिताजी कृष्णप्रसाद कोइराला आफ्ना सन्तानहरुलाई लिएर मुम्बईको एउटा महाराजाकहाँ शरण बस्न जानुहुन्छ त्यो महाराजाले यसो हेर्दा्हेर्दै उहाँकी जेठी छोरी नलिनीप्रति आँखा लगाउँछ । अब यहाँ बस्न हुँदैन भनेर उहाँ हिँड्नुहुन्छ । शरण पनि दिएको छ, शरण लिनेले शरण बसेका बेलामा आफ्नो स्वाभिमान पनि कसरी जोगाउने भन्ने प्रश्न त्यहाँ उत्पन्न भएको पाइन्छ ।
बीपीलाई निर्वासनमा रहँदा भारतले नेपाली कांग्रेसको भूमिगत आन्दोलनमा केही कुरा सहजीकरण गरेको भए पनि रहँदा÷बस्दा केही आत्मसम्मानका विषयहरुमा, स्वायत्तताका विषयमा केही प्रश्नहरु, केही अप्ठ्याराहरु निश्चय पनि उत्पन्न हुन सक्छ । त्यही भएर बीपीले जब राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कनु अघि गरेको आह्वानमा तात्कालिक अवस्थाको राम्रो राजनीतिक विश्लेषण गर्नुभएको छ ।
दक्षिण एसियामा सोभियत युनियनको अफगानिस्तानमा आगमनदेखि लिएर भारतमा बदँलिदो परिस्थिति, जयप्रकाश नाराणको खस्किँदो स्वास्थ्य, श्रीमती गान्धी (इन्दिरा गान्धी) को तानाशाही प्रवृत्तिहरु पनि थिए (स्ट्रङ लिडर पनि थिइन् उनी) ।
त्यो सारा कुराहरुको मेलबाट अब भारतमा जुन किसिमको गतिविधि भइरहेको थियो, नेपालको राजनीतिक परिस्थितिमा सुधारका लागि अब भारतमा बसिरहनु उपयुक्त हुँदैन भन्ने लागेर उहाँले त्यो निर्णय लिनुभएको हुन सक्छ ।
धेरै मानिसहरुले भन्छन् – मिसेस गान्धीले उहाँलाई ‘ह्युमिलियट’ गर्थिन् । उहाँसँग राम्रो सम्बन्ध थिएन । सम्बन्ध राम्रो भइरहँदा पनि राजनीति त मुलुकभित्रै हुनुपर्छ नि त । परिवर्तन त मुलुकभित्रै चाहिएको थियो नि ।
अर्को आन्दोलनको ढुकढुकी कृष्णप्रसाद भट्टराई स्वदेशमै बसेर राजनीति गर्नुपर्छ भन्दै बसिरहनुभएको थियो । उहाँहरु त कहिल्यै पनि निर्वासनमा जानुभएन । तर, उहाँहरु यहाँभित्र बस्दाखेरी जसरी बीपीको स्वायत्ततामाथि समस्याहरु आउन थालेका थियो त्यस्तै समस्या यहाँ पनि आएको थियो । त्यसलाई जोड्नु पनि कतै न कतै आवश्यक थियो ।
नेपाल आएपछि पनि बीपीको स्वास्थ्य त ठीक थिएन । तर, उहाँले देखाएको क्रियाशीलता चाहिँ अद्भूत प्रकृतिको देखिन्छ । त्यसको ऊर्जा चाहिँ के थियो ?
बीपीको राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कनुको सबैभन्दा बढी फाइदा हाम्रो उमेरको पुस्ता अर्थात् अहिले ६० वर्ष आसपासमा रहेको पुस्तालाई भयो । सायद, बीपी बाहिरै बसिरहेको भए हामी यो रुपमा राजनीतिक रुपमा, कर्मशीलताका सन्दर्भमा, ‘एक्टिभिज्म’का सन्दर्भमा हुँदैनथ्यौँ होला ।
विदेशिएको राजनीतिलाई मुलुकभित्र लिएर आउने सबैभन्दा ठूलो काम राष्ट्रिय मेलमिलापको पाठ हो । त्यो कोसँग मिल्दा सहज हुन्थ्यो त्यसको छुट्टै विवेचना गरौँला ।
‘सेल्फ एक्जायल’बाट स्वदेश फर्कँदाका जोखिमहरु त धेरै थिए । सात सातवटा मुद्दा थिए । तर, मैले पढेको राजनीतिक सामग्रीमा बीपीको विशेष अदालतको बयान सबैभन्दा उच्चतम राजनीतिक दस्तावेज हो ।
त्यसलाई अंग्रेजीमा अनुवाद गरियो भने कुनै पनि विदेशी राजनीतिक साहित्यमा नपढिने हुँदैन होला । त्यसमा कुनै पनि कमी हुँदैन भन्ने लाग्छ (अभि सुवेदीले पनि नाटकमा प्रयोग गर्नुभएको छ । विभिन्न ठाउँमा प्रयोग गर्नुभएको छ ) । बीपीको लोकतन्त्रप्रति, देशप्रति कस्तो समर्पण थियो भन्ने त्यो पढेपछि थाहा हुन्छ ।
अर्को विदेशबाट आएपछि बीपीको जस्तो किसिमका वक्तव्यहरु हामी सुन्छौँ त्यसमा राजनीतिक भिन्नता त उहाँमा देखिन्छ ।
तर, राजासँगको सम्बन्धका बारेमा बडो ‘कन्ट्रोभर्सियल स्टेटमेन्ट’ दिनुभएको छ । ‘राजासँग मेरो घाँटी जोडिएको छ’ भनेको सन्दर्भहरुलाई हेर्दाखेरी अहिले त्यसैलाई लिएर मानिसहरुले बीपी समर्पणवादी हुनुभयो, राष्ट्रिय मेलमिलाप नै समर्पणको नीति हो कि भनेर जसरी व्याख्या गर्छन् । तर, बीपीले ठूलो परिश्रम गरेर यो समर्पण होइन, यो राजनीतिक गतिशीलता हो भनेर संविधानको तेस्रो संशोधनका सन्दर्भहरुलाई लिएर देशव्यापी रुपमा दौडाहा गर्दा पनि भन्नुभएको छ । दस्तावेजहरु हेर्दा देखिन्छ ।
तर, त्यसमा के हो भने ‘महाराज ! देश नरहे म त विराटनगर जाउँला, सरकार कहाँ गइबक्सन्छ ?’ भनेको चर्चित कथन छ नि !
यस कथनलाई हेर्दा के देखिन्छ भने जनता र राजनीतिको स्थायित्वको निम्ति राज्यको शक्ति र जनताको शक्ति एकठाउँ हुनुपर्छ । राजकीय शक्ति त्यसबेला राजामै थियो । तर, जनताको शक्ति लोकतन्त्र र राष्ट्रियता त्यो भने जनतामा निहित थियो । जनता जहाँ बस्छन् त्यहाँ राष्ट्र बन्छ ।
अर्को कुरा मलाई के लाग्छ भने अन्तर्राष्ट्रिय परिस्थिति र मुलुकको सन्दर्भ त्यस्तो हुँदा नेपाली कांग्रेसको राजनीतिमा यति धेरै असहिष्णु यति सांस्कृतिक र राजनीतिकरुपमा रुढीवादी परम्परावादी व्यक्तिहरुलाई त्यत्रो आधुनिकतामा विश्वास गर्ने नेतृत्व (बीपी कोइराला) ले कसरी लिएर हिँड्यो होला ?
अहिले त नेपाली कांग्रेसको पार्टीपक्ति यस्तो छ । यसको सामाजिक परिवेश अहिले पनि यति सकीर्ण र साँगुरो छ । यस्तो समूहलाई कसरी सँगसँगै हिँडाउनुभयो होला र एकठाउँमा राख्नुभयो होला भन्ने मलाई अप्ठेरो थियो भन्ने लाग्छ । कत्रो दुःख भयो होला उहाँलाई ?
राजकीय शक्ति र जनताको शक्ति मिल्नुपर्छ भनेर बीपीले राखेको कुरामा त्यो राजकीय शक्ति भनेको राजसंस्था नै हो भनेर कतिपय नेताहरुले पार्टी छोडेको अवस्था थियो । अहिले पनि कांग्रेसभित्र धर्म र राजतन्त्रप्रति विश्वास राख्ने ठूलो मत देखिन्छ नि ! त्यो कांग्रेसले बुझाउन नसकेको हो ?
त्यस्तो ठ्याक्कै छैन । केही मत त्यस्तो सोच्नेको पनि छ । राजसंस्था देशको लागि अपरिहार्य हो कि होइन भन्ने सन्दर्भमा ‘यो हाम्रा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने भनाइका आधारमा यो राष्ट्र कसले बनायो भन्दा त्यो पृथ्वीनारायण शाहले हो भन्ने स्थापित गर्न खोजिएको छ । यसले जनतालाई पूरै बेवास्ता गरेको देखिन्छ ।
जनता यो देशमा छन् । एउटा दैवी प्रतिनिधिको रुपमा राजा हो । राजाले शासन गर्न पाउनुपर्छ भन्ने छ । त्यो लोकतन्त्रको मान्यतासँग मेल खाँदैन ।
बीपीको समय के हो भने राजाको वैधानिक नायकत्वमा लोकतन्त्र स्थापना गर्ने अथवा प्रजातन्त्र स्थापना गर्ने भन्ने थियो । त्यो भनेको २००७ सालको जुन बिगुल फुकिएको छ नि त्यही हो । त्यो त्यसबेला उपलब्ध मोडलमध्ये सबैभन्दा सजिलो मोडल हो । समयका कारणले अप्ठेरो हो तर त्यो परीक्षणबाट स्थापित भएको थियो, बेलायतमा थियो ।
बीपी जुन समयमा लड्नुभएको थियो त्यस समयको चेतनाले सबैभन्दा उत्कृष्ट मोडल त्यही सावित भएको थियो । अहिलेको चेतनाका लागि राजाका सन्दर्भ सही बस्दैन । राजा राष्ट्रवादी हुन् कि होइनन् भन्ने प्रश्न हामीले सजिलैसँग गर्न सक्छौँ ।
बीपीको समयमा राजा राष्ट्रवादी ठानिन सक्छन् । किनभने उनको अस्तित्व राज्यसँग जोडिएको हुन सक्छ । राज्यसँग उनको अस्तित्व जोडिएको हुनाले प्रकारान्तरले जनतासँग जोडिएको छ भन्ने थियो । यो प्रश्न मलाई कहिले आयो भने यथेष्ठ प्रमाण त मलाई छैन तर राजाको लगानी भएको एउटा जलवद्यिुत् छ त्यसमा डलरमा पैसा तिर्ने भनेपछि राजालाई पनि बिजनेस म्याटर गर्दो रहेछ नि त होइन ?
राजतन्त्र राजाकै कारण संसारभर गएको छ । तर, राष्ट्र त बचेको छ । अन्ततः जनता जहाँ रहन्छन् देश त त्यहीँ रहने हो नि । त्यो अवस्थामा हिजो राजा र जनताको मेलबाट शीतयुद्धकालीन समय, बदलिदो परिस्थिति, आधुनिकताको दौडलगायतका कारण ६० को दशकमा त्यो सान्दर्भिक थियो होला । तर, अहिलेको दशकमा आएर राजाबिनाको देश हुँदैन भन्ने कुरा त्यति सान्दर्भिक हुँदैन ।
तपाईं त गिरिजाप्रसाद कोइरालासँगै रहेर थुप्रै समय काम गर्नुभयो । बीपीको मेलमिलापको नीति सबैभन्दा पहिले उल्लंघन गर्ने गिरिजाप्रसाद कोइराला हुनुभयो । उहाँले नै बीपीको राजासहितको मेलमिलापको लाइन उल्लंघन गरेर गणतन्त्रमा लैजाने निर्णय र नेतृत्व गर्नुभयो भन्नेहरु पनि छन् नि !
संगत गरेर पनि उहाँको दिमागमा पस्न कति सकियो सकिएन त्यो फरक कुरा भयो । तर, बीपीको राष्ट्रिय मेलमिलापको सिद्धान्तको विरुद्धमा उहाँको निर्णय हुँदै होइन ।
किनभने अस्ति भर्खर पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्ने सन्दर्भमा पाँचबुँदे सहमति गरेर रोल्पातिर भेट्ने कार्यक्रम थियो भनियो, त्यो मलाई थाहा छैन । तर, गिरिजाप्रसादको विश्लेषण के थियो भने राजाको राजनीतिक दलप्रतिको धारणा र सोचाइ अनुदार थियो । त्यो त जगजाहेर नै छ नि ।
राजा र माओवादी मिसिएको भए जीपी (गिरिजाप्रसाद)कै भाषामा ‘दुईवटा बन्दुके शक्ति’ मिसिएको भए लोकतन्त्रको हविगत के हुन्थ्यो ?
मैले आफ्नै विश्लेषणमा के भन्ने गरेको छु भने एकले अर्कोलाई विस्थापन गर्ने राजनीतिका कारण हिंसाको राजनीति मौलायो । त्यो भनेको के ? माओवादीले सबैभन्दा पहिला आक्रमण कसलाई गरेको थियो ?
माओवादीले सबैभन्दा पहिला आक्रमण कांग्रेसकातर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिमाथि गरेको थियो । राज्यका प्रतिनिधिका रुपमा स्थानीय जनप्रतिनिधि त्यो पनि एउटा अमुक दलका कार्यकर्ता लक्षित आक्रमण सुरु भयो । त्यसपछि विस्तारै हत्याहिंसा बढ्दै गएको होइन र ? अरु कम्युनिस्टसँग त विचार विमतिका रुपमा देखिन्थ्यो ।
अरुले त राति एउटा दिउँसो अर्को भन्ने नारा लगाएकै हुन् । (त्यतिबेला लाग्ने नारा– दिनभर एमाले रातभर माओवादी भन्ने थियो) चर्को कुरा सुनिएकै हो । यता राजाले राजनीतिक दलहरुलाई विस्थापित गर्दै लगेको अवस्था थियो । उता माओवादीले तिनै दलहरुमाथि आक्रमण जारी राखेको थियो ।
नेपालमा मनोसामाजिक अध्ययन (सोसियो साइकोलोजिकल स्टडिज) पनि भएकै छैन । तीन वर्षका राजा ज्ञानेन्द्रले श्रीपेच लगाउँदा वा सबैले घर छोडेर जाँदा त्यस्तो बाल मनमा कस्तो कुण्ठा उत्पन्न भयो होला हामीले अहिलेसम्म त्यसको विमर्श गरेकै छैनौ ।
उनलाई फर्काएर लिएर आउनेले बडो गर्वका साथ विदेशिएको राजालाई फर्काएर ल्यायौँ, राजामात्र होइन लोकतन्त्र पनि ल्यायौँ भनेका छन् ।
जो मान्छे सबैले छोडेर एक्लै दरबारमा गुम्सियो, जतिदिन भए पनि राजा त भएकै हुन् । उनको मनमा दलहरुप्रति नकारात्मक सोच रहनु कुनै अन्यथा होइन । त्यसपछि दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र नै राजा भए फेरि ।
दुर्भाग्यवश जसले राजालाई काँधमा बोकेर ल्याएको थियो, त्यही दलको मान्छे प्रधानमन्त्री हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला ।
नेपालमा नेतृत्वको मनोविश्लेषणात्मक (साइकोलोजिकल, साइको एनालिटिकल) अध्ययन भएकै छैन । अहिले पनि ज्युँदै छन् पूर्वराजा ज्ञानेन्द्र । अहिले पनि नेपाली कांग्रेस, कोइराला परिवार र गिरिजाप्रसाद कोइरालाप्रतिको उनको भावना सकारात्मक थियो भन्ने मलाई लाग्दैन ।
मुलुकको समस्या दलहरुका कारण उत्पन्न भएको हो माओवादीका कारण होइन भन्ने निष्कर्षमा उनी पुगे । माओवादीसँग उनको किसिमको साँठगाँठ मिल्दै थियो । राजा र माओवादी एकठाउँ मिलेको भए दुईवटा बन्दुक एक ठाउँ भएको भए (जसले माओवादी र राजा, दलहरुलाई विस्थापन गर्ने गतिविधि गरिरहेका थिए) नेपालमा लोकतन्त्र रहिरहन र पुनःस्थापित गर्न मुस्किल थियो । अहिले पनि कुनै गतिलो÷राम्रो परिस्थिति त छैन । तर, यतिको परिस्थिति पनि कल्पना भन्दा बाहिर हुने अवस्था निर्माण हुन सक्थ्यो ।
राष्ट्र र राष्ट्रियताको सन्दर्भमा जनता राजनीतिको केन्द्रमा हुन्छ भन्ने सन्दर्भमा जीपी बीपीभन्दा टाढा हुनुहुन्नथ्यो । राजा नै लोकतन्त्रको खिलाफमा भइसकेको अवस्थामा लोकतन्त्रको मूल्यमा राजा चाहिन्छ भनेर बीपीले भनेको हो जस्तो मलाई लाग्दैन । त्यो राष्ट्रिय मेलमिलापको सबैभन्दा गलत व्याख्या हो ।
‘राजा ठीक ठाउँमा बसेनन् भने मैले फाल्नुपर्दैन जनताले नै फाल्छन् राजा’ भन्ने बीपीको भनाइको चर्चा हुन्छ नि !
त्यो पनि कहीँ बोल्नुभएको होला । तर, त्यसलाई एकीकृतरुपमा भेट्न सकिएको छैन । अनि बोलेका सबै कुरालाई शाश्वत मान्न पनि सकिँदैन । किनभने राजनीतिज्ञको बोली चाहिँ समयानुकूल, ठाउँ अनुकूल र परिवेश अनुकूल पनि हुन्छ ।
ओखलढुंगा काण्डपछि बीपी अलिक शिथिल भएर जानुभएको थियो भन्ने सुनिन्छ । अन्य राजनीतिक परिवेश वा अन्तर्राष्ट्रिय राजनीतिक परिवेशका कारण भावुक भएर मेलमिलाप नीति लिनुभएको हुन सक्छ ?
मुलुकभित्र घटेको घटनाहरुको जिम्मेवारी, आफूले गरेको कुनै पनि एक्सनको जिम्मेवारी म लिन्छु भनेर त बीपीले भन्नुभएकै हो ।
ओखलढुंगा काण्डको नायक त बीपी नभएर जीपी हुन् । तर, अदालतको बयानमा तपाईँले फलाना अमुक मान्छेलाई चिन्नुहुन्छ भन्दा उहाँ के भन्नुहुन्छ भने– उसलाई म चिन्दिन । तर, उसलाई चिन्दिन भनेर म मेरो उत्तरदायित्वबाट पन्छिन चाहन्न । किनभने मेरो आह्वानमा भएको कदममा उनी सहभागी भएका हुन् । यसको जिम्मा म लिन्छु भन्नुभएको छ । यसैले बीपीलाई नेपालका अरु नेता भन्दा फरक बनाएको छ ।
तपाईंले भनेको कुरासँग म सहमत छु । कुनै मिसन गर्यो त्यो मिसन फेल हुन्छ । त्यतिबेलाको अभियान राज्यलाई नै उल्ट्याउन सक्ने शक्तिशाली थिएनन् । हान । भागको मात्र योजना थियो । नेपाली कांग्रेसको सशस्त्र आन्दोलन २००७ सालको जस्तो पनि थिएन । त्यसले ध्यानाकर्षण गर्ने र जनतालाई आन्दोलनप्रति ‘एजुकेट’ गर्ने कुरा थियो । जनतालाई ‘एजुकेट’ गर्न एउटामात्रै पनि शव जाँदा त्यसले दिने सन्देश र जनतामा रहेको ऊर्जामा आउने परिवर्तन र निराशाले पनि बीपी चिन्तित हुनुहुन्थ्यो ।
नरेश कोइरालाका पछिल्ला लेखहरुले पनि के देखाउँछ भने उहाँ ‘रिफ्लेक्टिभ लिडर’ हुनुहुन्थ्यो । आफूले गरेको कुराहरुलाई समीक्षा गर्ने, आफूलाई घरीघरी चिमोट्ने, कहाँ छु म भनेर घरीघरी कोतर्ने नेता हुनुहुन्थ्यो । अरुजस्तो बाक्लो छालावाला होइन ।
त्यही भएर हामीले नेपाली कांग्रेसको कुरा गर्दा पनि सोच्नुपर्यो कहाँ जाने हो ? राजनीतिको अर्थ के हो ? जीवनको अर्थ के हो ? अहिलेको नेतृत्वलाई चार/पाँच पटक प्रधानमन्त्री किन भनेर सोधियो भने ‘रिफ्लेक्सन’ छैन नि त ।
बीपीको ‘रिफ्लेक्टिभ नेचर’ चाहिँ गान्धीको हत्या भयो भन्ने समाचार सुन्दा हातमा ग्रिनेट बोकेको थिएँ कलकत्तामा र द्विविधामा थिएँ । एकातिर अहिंसाको पुजारीको हत्या भएको छ म ग्रिनेट समाएर नेपालमा क्रान्ति गर्दैछु भन्ने त्यो द्विविधा उहाँमा थियो ।
यसलाई म ‘रिभोलुसनरी’ द्विविधा भन्छु । क्रान्तिकारी मानिसहरुमा नैतिक ‘डिलेमा’ भएन भने नेतृत्व नैतिक संकटको प्रश्नमा खरो उत्रिने प्रयत्न भएन भने त्यस्तो नेतृत्व नेतृत्व नै हुँदैन । हामीमा पनि नैतिक प्रश्नमा के गर्नुहुन्छ के गर्न हुँदैन भन्ने सन्दर्भमा द्विविधा हुन्छ । तर, हाम्रो द्विविधाले त्यति धेरै असर गर्दैन, सामान्य द्विविधा मानिन्छ । तर, राष्ट्रिय व्यक्तित्व र नेतृत्वको द्विविधा (किनभने उसले सार्वजनिक गर्ने निर्णयहरु) ले देशलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्न सक्छ ।
राष्ट्रिय मेलमिलाप उहाँका लागि एउटा नैतिक परीक्षा थियो । म स्वदेश फर्किइन भने यतिधेरै मानिसहरु मेरो आह्वानमा क्रान्तिमा होमिएका छन् । धेरैजनाले जीवन गुमाएका छन् । सहिद र घाइतेहरुका परिवारको कस्तो अवस्था छ भन्नेमा सचेत भएको पाइन्छ । उहाँ आफूसँग जोडिएका मान्छेहरुप्रति बडो चिन्तित हुनुहुन्थ्यो । सबै त्यस्ता हुँदैनन् ।
उहाँले मैले शासकका विषयमा सकारात्मक बोलिदिँदा मसँग जोडिएका मान्छेहरु देशभर हिँड्न पाउँछन् । उनीहरु स्वतन्त्ररुपमा आफ्नो विचार राख्न पाउँछन् भने धेरै दिनसम्म बाहिर बसेका छन् । उनीहरुले समाज कुन अवस्थामा गुज्रिएको छ भनेर बुझ्न पाउँछन् । म पनि देशभर हिँड्न पाउँछु भन्ने कुराको विश्लेषणमा गयौँ भने कहाँनेर गलत हुन्छ त ?
(अध्येता शर्मासँग कांग्रेसको वर्तमान राजनीतिका सम्बन्धमा गरिएको कुराकानी दोस्रो भागमा प्रकाशित गरिनेछ)