काठमाडौं । ललितपुर कुसुन्तीमा प्रहरी र लागूऔषध तस्करबीच दोहोरो हानाहान भएको छ । गोली लागेर लागुऔषध कारोबारमा संलग्न प्रवीण खत्रीको मृत्यु भएको छ ।
महानगरीय अपराध महाशाखाको प्रहरीले खत्रीलाई विशेष सूचनाका आधारमा पक्राउ गर्न खोज्दा उनले आफैँले आफ्नो कन्चटमा गोली प्रहार गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए ।
दुईवटा पेस्तोल बोकेका खत्रीले पहिले प्रहरीमाथि गोली चलाएका थिए । खत्रीसँग हतियार रहेको रहेको जानकारी पाएर पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै गोली हानेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने पक्का भएपछि आफ्नो कन्चटमा आफैँ गोली हानेको एसएसपी अमात्यले बताए । महाशाखाको टोलीले उनी लुकेको घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजेको र प्रहरीलाई समेत गोली प्रहार गर्दै भाग्दै गरेका बेला उनी आफैँले गोली प्रहार गरेको एसएसपी अमात्यले बताए ।
गोली लागी घाईते अवस्थामा रहेका खत्रीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोली खत्रीको घुँडाभन्दा तल लागेको प्रहरीले जानकारी दियो ।