महाभारतकाे कथामा एउटा प्रसङ्ग छ घटोत्कच पुत्र बर्बरिकको । युद्धमा उनलाई भाग लिन नदिन कृष्णले षड्यन्त्रपूर्वक मारे तर महाभारतकाे लडाइँ हेर्न भने दिए । युद्धकाे अन्त्यपछि बर्बरिकलाई सोधिँदा भनेका थिए - कृष्ण र कृष्णा (द्रौपदी)मात्र देखेँ रणभूमिमा ।
चौधौँ महाधिवेशनमा सभापति पदमै छ जना उमेदवार छन् । सबै पदमा गरेर पुग न पुग एक हजारले उमेदवारी दिएका होलान् । गगन थापा र विश्वप्रकाश शर्मा बेग्लाबेग्लै समूहबाट महामन्त्रीमा उठे पनि सामाजिक सञ्जालमा मात्र होइन सडक र भान्सामा समेत ती दुवैले जितेहुन्थ्यो भन्नेहरू बाक्लै रहेछन् । तैपनि, यसपटकका ‘हिरो’ भने विमलेन्द्र निधि र रामचन्द्र पौडेल भए ।
गुटमा बाँडिएका कांग्रेसजनले हेक्का राखे राखेनन् कुन्नि नेपाली कांग्रेसकाे नेता भन्न सुहाउने भाषण उद्घाटन सत्रमा रामचन्द्र पौडेल र विमलेन्द्र निधिले मात्र गरेका थिए । विडम्बना, यिनीहरू दुवै नेतृत्वबाट पन्छने क्रममा देखिन्छन् ।
निधिप्रति नेपालका मूलधारका सञ्चार माध्यमले त न्याय गरेनन् भने तेजबहादुर अमात्य वा दिवानसिंह राईका नाम सुनेसुने जस्तो लाग्ने जिल्ला सभापतिहरूले के न्याय गर्लान् ? तर, तराई कांग्रेसकाे आधार हो भने कांग्रेसजनले बिर्सन नहुने हो ।
महन्थ ठाकुरले छाडेपछि कमजोर भएकाे कांग्रेस तराईमा थाम्ने मूल खम्बा त निधि नै हुन् । उनलाई पनि मधेसी राजनीतिमा धकेल्ने काम भयो भने त्यसकाे परिणाम कांग्रेसका लागिमात्र होइन सिंगो मुलुककै लागि प्रत्युत्पादक हुनेछ । चेतना भया !
अन्तिममा रामचन्द्र पौडेललाई कसैले छाड्नेवाला थिएनन् । यही कुरा उनले १५ दिन पहिले बुझेर आफू पन्छिदिएकाे भए परिदृश्य अर्कै हुनेथियो । पौडेल अहिले ‘किङमेकर’ हुन्थे र केही योग्य कार्यकर्तालाई नेतृत्वमा स्थापित गर्नसक्थे । जेहाेस्, नेपाली कांग्रेसमा मात्र हाेइन सामयिक नेपाली राजनीतिमै उनकाे सम्मानित स्थान सुरक्षित भएकाे छ ।
कृष्णप्रसाद सिटौला प्रभावशाली हुँदै जाँदा कोइराला समूहबाट शैलजा आचार्य, चक्र बाँस्तोला, भीमबहादुर तामाङ, खुमबहादुर खड्का, विजय गच्छदार, गोविन्दराज जोशीहरू विस्थापित भए । अब सायद रमेश लेखक, एनपी सावदहरू देउवा शिविरबाट बाहिरिएलान् । विमलेन्द्रले बुझेरै होला बेलैमा आफूलाई देउवाकाे मोहजालबाट मुक्त गरे ।
भन्छन् - समय (काल)ले बनाउने त नेता नै होइन । समय बनाउने नेता हाे । यस अर्थमा विमलेन्द्र निधि नेता भए । “कालो वा कारण राज्ञो राजा वा काल कारणम् । इति ते सशयो मा भूूत् राजा कालस्य कारणम् ।” राजा अर्थात् नेता । विमलेन्द्रले इतिहासमा नमेटिने स्थान बनाए । मत त अरूकाे निर्णयमा भर पर्ने हो ।
पार्टीकाे ‘दलदल’मा फस्दिन नभनुन्जेल देउवाले पौडेलकाे उपेक्षा र मानमर्दन गरिरहे । पौडेललाई ‘चुनाव हार्ने” भनेर होच्याइरहे । पौडेलमात्र होइन तनहुँ कांग्रेसलाई नै चुनौती दिएजसरी किसानलाई मन्त्री बनाए । अहिले आधारातमा ‘दधिचीकाे हाड’ माग्न देउवा पौडेल निवासमा पुगेछन् ।
महाधिवेशनकाे झलक हेर्न भृकुटीमण्डप पुग्दा कांग्रेस अलि उत्ताउलो भएको झल्काे लाग्यो । आआफ्ना नेताकाे प्रचारप्रसारमा कार्यकर्ता नारावाजी गर्दै थिए । पैसा खर्च नगर्ने उमेदवार सडकमा भोट माग्दै गरेका पनि देखिए । परिचित अनुहार भिडमा पनि नभेट्दा अलिकति नियास्रो पनि लाग्यो । बाटामा सुरेन्द्र चौधरी भेटिए । रामचन्द्र पोखरेल भेटिए । अनि चन्द्र केसीसँग भेट भयो । बस !
महाधिवेशन प्रतिनिधिकाे परिचयपत्र भिरेका १० जनालाई बेग्लाबेग्ले सोधेँ - दिवानसिंह राई, तेजबहादुर अमात्य, योगेन्द्रमान शेरचन र सराेज कोइरालाका बारेमा । नाम त सुनेकाे थप थाहा नभएकाे बताए । एकजना त जिल्ला सभापति नै परेछन् । नाम सुनेकाे फूर्ती लगाए । पूर्वी पहाडी जिल्लाका भएर दिवानसिंह राईकै बारेमा थप साेधेकाे ‘यस्ता कुरा छाड्नुस्’ भन्दै रिसाएर हिँडे ।
इतिहासप्रति यस्तै उपेक्षा राख्ने नेताले भरिएकाे कांग्रेस वैचारिक दृष्टिमा पनि टाट पल्टेकाे देखिन्छ । चुनावमा महाधिवेशन प्रतिनिधिले विवेक प्रयाेग नगरे एउटा गुटकाे कब्जामा पुग्नेछ । गुट कसरी खुम्चिदै जादो रहेछ भन्ने त अब रमेश लेखक र एनपी सावदहरूले पनि बिस्तारै बुझ्लान् ।
शासनमा रमाउने विचार विहीन जमातका रूपमा कांग्रेस रहिरहला । सत्ता स्वार्थमा संगठितहरू पार्टीका विभिन्न पदमा रहलान् । तर, अहिले उत्साहपूर्वक पार्टीमा उदाएका तरुणहरू सक्रिय रहँदैमा नेपाली कांग्रेसकाे हविगत भारतीय राष्ट्रिय कांग्रेसभन्दा पनि नराम्रो अवस्थामा पुग्नेछ । विचारहीनताकाे उही बाटो हिँडेपछि पुगिने गन्तव्य पनि उही न हुने हो ।