site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंबाट बालक जसले अपहरण गरे उनै भन्थे– ‘अपहरणकारीलाई सुट गर्नुपर्छ’

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङमा अध्यनरत बालक विशाल चौधरीको अपहरण गर्न उनकै बाबुका हितैसी साथी राजु विकले एक महिना अघिदेखि अपहरणको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

अपहरणमा संलग्न र मुख्य योजनाकार राजु विक र विष्णु पाण्डेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको  छ । शनिबार अपरान्ह दुवै जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

अनुसन्धान अधिकारीका अनुसार विष्णु पाण्डेलाई बालक विशाल चौधरीलाई अपहरण गर्नकै लागि भनेर राजुले रामेछापबाट बोलाएका थिए ।

रामेछाप मन्थली नगरपालिका १२ का पाण्डे राजुका साथी हुन् । उनले केही समय पहिलेदेखि म काठमाडौं आउँछु काम खोजीदेउ भन्दै राजुलाई खबर गरेका थिए । 

त्यसपछि राजुले आफ्नो मिल्ने साथी विजय चौधरीको छोरा अपहरण गर्ने योजना बनाएरै विष्णुलाई काठमाडौं बोलाएको अनुसन्धानबाट खुलेको छ । 

अपहरणमा संलग्न राजुलाई उदयपुरको गाईघाटबाट र विष्णुलाई रामेछाप मन्थलीबाट  पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले जनाए । 

आफैँले अपहरण गरे, आफैँ खोज्न हिडे 
 

राजु बिकले आफ्नो साथीको छोरा अपहरण गरी बन्धक बनाएर आफैँ खोज्न जाने नाटक गर्दै बालकका बाबु विजयसँग हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
बिहीबार दिउँसो ३ बजेर ३७ मिनेट जाँदा राजु बिक स्कुलमै गएर बालक उठाएर काठमाडौंको गोठाटारमा डेरा गरी बस्ने बिष्णु पाण्डेको दिदीको घरमा पुर्याएका थिए । 
बालक स्कुलबाट गएको केही समयपछि बाबु विजय स्कुल पुगे तर छोरा भेटेनन् । यताउता खोजे कतै भेटिएनन् अनि स्कुलको सीसीटीभी हेरेपछि बच्चालाई कसैले मोटरसाईकलमा राखेको भन्ने कुरा पत्ता भयो अनि बालक खोजिमा सबै पक्ष जुटेका थिए ।

राजु विजयका मिल्ने साथी थिए त्यसैले छोरा हराएको खबर गरेपछि राजु तत्कालै विजय भएको ठाउँमा आइपुगे । र उनै राजुले स्कुलको लापरवाही भएकाले स्कुलमा तोडफोड गर्नुपर्छ भन्दै विजयलाई उकासेको प्रहरीले जनाएको छ । त्यसबेला बालक विशाल चौधरीलाई राजुले नै बन्धक बनाएका थिए ।

“बालक अपहरणमा परेको २ दिनपछि दिउँसो १२ बजेर २० मिनेटमा बालकका बाबुलाई फोन आयो । २ नम्बर प्रदेशमा चुनाव आउँदैछ ।  रकमको खाँचो छ । केटाहरुले अन्यको बच्चालाई उठाउन हिँडेका थिए बाईमिस्टेक तपाईँको छोरा परेछ । तर पनि ५० लाख तयार पार्नु । बाँकी कुरा भोलि गरौँला भन्दै फोन राखे ।

त्यसपछि सम्पर्क भएन,” अनुसन्धानमा खटिएको टोली प्रमुख डीएसपी अजय केसीले भने । उनका अनुसार उक्त फोन विष्णुले गरेका हुन् । उनले फोनसँगै बालकको रेकर्ड गरिएको भ्वाइस पनि सुनाएका थिए ।

बालकलाई गोठाटारमा छाडेर विष्णु बुढानिलकण्ठ पुगेर एकान्तबाट फोन गरेका थिए । फोन रेकर्डका आधारमा प्रहरीले खोजि गरे पनि समस्या होस् भन्नका लागि त्यस्तो गरिएको प्रहरीले जनाएको छ ।

उनैले भन्थे– अपहरणकारीलाई सुट गर्नुपर्छ 
 

एक महिनादेखि योजना बनाएर साथीको छोरा अपहरण गर्ने राजुले फिरौती रकमको फोन आएपछि बालक अपहरण गर्नेलाई सुट गर्नुपर्छ भन्दै बालकका बाबुलाई भन्ने गरेको गरेको डीएसपी केसीले बताए । 

डीएसपी केसीले भने, “विजयलाई फिरौती रकमको फोन आयो, जुन कुरा विजयले राजुलाई भने हेर ५० लाखको डिमाण्ड आयो भन्दा राजुले किन दिने ५० लाख ? त्यस्ता अपहरणकारीलाई सुट गर्नुपर्छ भनेर राजुले नै भन्दोरहेछ । बच्चालाई अपहरण गर्ने अपराधीलाई बाँकी राख्न हुन्न ।”

बालक अपरहणमा परेको भोलिपल्टदेखि अपराध महाशाखाको टोलीले राजुप्रति शंका गरेको थियो तर त्यो कुरा विजयले पत्याएनन् । उनले ‘यो त मेरो साथी हो सर बिचरा मेरो साथमा छ, यसलाई के शंका गर्नु भन्दै  प्रहरी अधिकारीलाई विजयले जवाफ फर्काएको’ डीएसपी केसीले जनाए । 

“हामीलाई पहिलेदेखि नै उसको हाउभाउ हेरेरै राजुको हात छ भन्ने लागरै बालकका बाबुलाई हामीले भनेका थियौं तर उहाँले पत्याउनुभएन, राज खुल्दै जाँदा विजयले पत्याए । विजय दम्पती हाम्रो साथमा थिए हामीले जे भन्दै गयौँ त्यहीअनुसार काम गर्दा राजु पछि झस्किए । पहिला बालक खोज्न हिँडेका मानिस पछि सम्पर्कविहीन भए । त्यसअघिनै विजयले राजुलाई मेरो छोराको माया मार्ने हो भने प्रहरीको टिमले अपहरणकारीलाई सुट गर्ने तयारीमा छ भनेपछि राजुले र विष्णुले बच्चा बाटोमै छाडेर भागेका रहेछन्,” डीएसपी केसीले भने ।

बालकले यसो भने 
राजु अंकल कक्षामै आउनुभयो, हिँड घर जाउँ तिम्रो बुबा लिन आउन भ्याउनुभएन भन्नुभयो । स्कुलको बाहिर मोटरसाईकल थियो म पछाडी बसेँ उहाँले मलाई टिचरको घरमा लैजानुभयो । त्यहाँ बुनु पनि थिइन्, राजु अंकलले तिमी यहीँ बस ल म र तिम्रो बुबा पछि आउछौँ भन्नुभयो । म टिचरसँग बसेँ । टिचरले मलाई पढाउनुभयो, मिठो चक्लेट बिस्कुट दिनुभयो, राति ममीको याद आयो म रोएँ अनि टिचरले अब जाने हो नरोउ भन्नुभयो, बुनुसँग खेलेर बसेँ । पछि टिचरले मलाई बाटोमा ल्याउनुभयो ।  तिमी एकैछिन बस ल बुबा आउँदै हुनुहुन्छ भन्नुभयो । अनि कता जानुभयो थाहा भएन । 

बालकले टिचर भनेका व्यक्ति नै विष्णु पाण्डे भएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  ०५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro