कामठाडौं । महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले काठमाडौं महानगरपालिकाका मेयर, सडकका क्षेत्रीय निर्देशकहरु र यातायात व्यवस्था विभागका प्रमुख र उपभोक्ता हित संरक्षण विभागका पदाधिकारीहरुलाई भेला पारी उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन पूर्वाधार विकास गर्न आग्रह गरेका छन् ।
सोमबार महाशाखाको कार्यकक्षमा आयोजित सरोकारवालाहरुको भेलामा ट्राफिक प्रमुख खनालले भने, “सडकको अवस्था कस्तो छ भन्ने कुरा तपार्इंहरुलाई थाहा नै छ ।प्रधानमन्त्रीज्युले समेत १५ दिनमा सडकका खाल्डा पुर्न निर्देशन दिनुभएको थियो । त्यो निर्देशन पनि पूरा भएन ।” महाशाखाका करिब एक हजार ट्राफिक प्रहरी सडकमा खटिएको र उनीहरुको पीडा आफूले बुझेको उनले बताए । “उनीहरुको पीडाले मलाई पोल्छ । सडकमा भएका खाल्डा पुर्ने र धुलो मार्ने काम गरिदिनुस्,” खनालले भने ।
काठमाडौंले मुलुककै इज्जत बोक्ने भएकाले त्यहीअनुसार काम गर्न खनालले कामनपा मेयरलाई आग्रह गरे । आफू नगर प्रहरीमा रहेका बेला काठमाडौंको खुलामञ्चमा रहेको हङकङ बजार हटाएको र त्रिचन्द्र कलेजको भवन भत्काएर बाटो बढाएको स्मरण गर्दै खनालले भने, “गरे के हुँदैन ? गर्छु भनेरै आएको हुँ, गर्छु । तपार्इंहरुले सडकमा सामान्य संरचना बनाइदिनुस् ।”
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, “कुरा धेरै गरेर हँदैन, हामीसँगजे जस्ता स्रोतसाधन छन्, तिनीहरुको सदुपयोग गर्दै अघि बढौं । कल्पनाबाहिरको कुरा गर्ने तर काम नगर्ने बानीले काम चल्दैन । विरोध गर्ने गर्दै गर्छन् । हामी काम गर्ने हो, गर्छौंं ।”
काठमाडौंको विकासका लागि आफूहरु योजनाबद्ध रुपमा अघि बढेको र आफ्नै कार्यकालमा मोनोरेल गुड्ने शाक्यले दाबी गरे ।
सडकका खाल्डाखुल्डी वर्षायाम सकिएपछि पुर्ने उनले बताए । “सरकारको रकम खर्च गर्न पायो भन्दैमा बालुवामा पानी हालेजस्तो गर्नु भएन । वर्षायाम सकियोस्, अनि सडकका खाल्डा पुर्ने काम हुन्छ । वर्षा नरोकिएसम्म मिडियाले विरोध गरे पनि विरोधीले खदो खने पनि काम हुँदैन,” शाक्यले भने ।
सडक विभागका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले भने काठमाडौंका सडकमा भएका खाल्डा भर्ने काम हुँदै गरेको र आवश्यक सडक संरचना बन्ने चरणमा रहेको बताए । “काम गर्दा केही समय लाग्न सक्छ, काम हुँदैछ । सबै एकैपटक हुँदैन,” उनले भने ।
भेलामा सहभागी यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले करोडांै खर्चेर ल्याएका सवारीसाधन सडकका कारण ५ महिनामै थोत्रा हुने गरेको बताए । “हामीले युरोपमा चल्ने सवारी साधन ल्याएका छौं, खै सडक ? कहाँ गुडाउने त्यति राम्रा सवारी ? व्यवसायीले ठगे भनेर मात्र हुन्छ ?” सिटौलाले भने, “राज्यको जिम्मेवार निकायमा बस्नेहरुको गलत नियतका कारण सबैले दुःख पाएका छन् ।”