site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कारागारमा वृद्धवृद्धा बढ्दै, वर्षदिनमा ५० कैदीको मृत्यु

काठमाडौं । विभिन्न कैद सजाय भुक्तानका लागि कारागारमा राखिएका ५० कैदीको मृत्यु भएको छ । एक वर्षको अवधीमा ४८ जना पुरुष र २ जना महिला गरी ५० जना कैदी देशभरका कारागारमा सजाय भुक्तान गर्दै गरेका बेला मृत्यु भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार अघिल्लो वर्षमा देशभरका कारागारमा २५ जना कैदीको मृत्यु भएको थियो । 

कारागार व्यवस्थापन विभागका निर्देशक गणेश भट्टराई  भन्छन्, “कैदीहरुको मृत्यु संख्या बढ्न थालेको छ । अघिल्लो वर्षको भन्दा गएको वर्ष दोब्बरले बढेको छ,” उनले भने । उनका अनुसार मृत्यु हुनेहरुमा सुनसरीको झुम्का कारागार र काठमाडौंको सुन्धाराको केन्द्रीय कारागारका कैदीको संख्या बढी रहेको छ । दिर्घरोग र डिप्रेसनका कारण कैदी मृत्यु बढ्दै गएको निर्देशक भट्टराइको भनाई छ । 

उनी भन्छन्, “कैद सजाय पाएदेखि कैदीमा डिप्रेसन बढेर बिरामी परेर थलिन्छन् र मृत्यु पनि हुन्छ ।” कैद सजाय भुक्तानकै क्रममा नै बाँके कारागारमा रहेका अरविन्द कुमार वर्माले कारागारभित्र नै प्लाष्टिकको डोरीमा झुन्डिएर आत्महत्या गरेका थिए । ४५ जनाको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको हो भने ६९ वर्षीय नरबहादुर रोक्काको अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भयो । 

चितवन कारागारका कैदी भारे सरदार, वीरवहादुर थिङ र इलाम कारागारका कैदी राजकुमार खातीको सुतिरहेको अवस्थामा नै मृत्यु भएको थियो । कारागारमा पछिल्लो समय वृद्ध कैदी बढ्दै गएकाले पनि मृत्युको संख्या बढ्न थालेको विभागको भनाइ छ । 

विभागका अधिकारी भन्छन्, “देशभर १० हजार कैदी राख्ने मात्र कारागारको क्षमता छ, तर अहिले १८ हजार ५ सय कैदी देशभरका कारागारमा छन् । क्षमता भन्दा बढी कैदी कोचाकोच गरेर राख्नु पर्ने बाध्यता छ ।” सरुवा रोग भएका कैदीहरुलाई छुट्टै राख्ने व्यवस्था नभएकाले पनि कैदीहरुको मृत्यु संख्या बढेको विभागको भनाइ छ । देशका ७२ जिल्लामा ७४ वटा कारागार छन् । 

कारागारमै जन्मिए ३ शिशु, सुत्केरीलाई तीन महिना छुट्टी  
देशभरका कारागारमा १८ हजार कैदीमध्ये करिब १३ सय महिला कैदी रहेका छन् । एक वर्षमा तीन जना कैदी महिलाले बच्चा जन्माएका छन् । चितवन, भोजपुर र तेह्रथुम कारागारमा कैद भुक्तान गरिरहेका महिलाले बच्चा जन्माएका हुन् । भोजपुर र तेह्रथुमका महिलालाई बच्चा जन्माउनु एक महिना अगाडि परिवारले घर लगेका थिए । 

बच्चा जन्मिने केही महिनाअगाडि परिवारको रोबहरमा घर लैजान पाउने व्यवस्था छ । बच्चा जन्माएका महिला बच्चासहित कारागार फर्किसकेका छन् ।

७४ कारागार ५ वर्गमा विभाजन 

विभागले देशभर रहेका ७४ कारागारलाई  ५ वर्गमा वर्गीकरण गरेको छ । ‘क’ वर्गमा केन्द्रीय कारागार कार्यालय, जगन्नाथ देवल सुनधारा, ‘ख’ वर्गमा कारागार पर्सा, झुम्का सुनसरी, भीमफेदी मकवानपुर रहेका छन् । त्यसैगरी ‘ग’ वर्गमा झापा, मोरङ्ग, महोत्तरी, बाँके, पाल्पा, डिल्लीबजार, नख्खु र रूपन्देही समेतका ८ कारागारहरु छन् । 

‘घ’ वर्गमा बर्दिया, सप्तरी, सल्यान, सर्लाही, कपिलवस्तु, सिराहा, चितवन, कास्की, कैलाली, कञ्चनपुर र रौतहट समेतका ११ कारागारहरु छन् । त्यसैगरी ‘ङ’ वर्गमा इलाम, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङ, दाङ–घोराही, दाङ–तुल्सीपुर, रुकुम, सल्यान, प्यूठान, रोल्पा, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा, बाजुरा, डोटी, अछाम, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा समेतका ५१ कारागारहरु छन् । 

तत्कालीन माओवादी द्वन्द्वबाट क्षति भई हाल इलाम, खोटाङ, मुगु र अर्घाखाँचीका कारागारहरु सञ्चालन हुन नसकेको विभागको भनाइ छ । त्यसैगरी इलाम र खोटाङमा कारागार निर्माण भइरहेको छ भने अर्घाखाँचीमा मर्मत सुधार भइरहेको विभागले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro