site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Nabil BankNabil Bank
डिशहाेम बाह्रखरी कथा प्रतियोगिता–२०७८ घोषणा : कथा लेखन आह्वान
Sarbottam CementSarbottam Cement

काठमाडौं । डिशहाेमकाे 'टाइटल स्पाेन्सर'मा बाह्रखरी कथा प्रतियोगिता–२०७८ घोषणा गरिएको छ । १२खरी बुक्सले गर्दै आएको कथा प्रतियोगिताको तेस्रो संस्करण घोषणा गरिएको हो । आइतबार काठमाडौंस्थित एलिस ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता घोषणा गरिएको हो ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला दुई वर्षजस्तै प्रथम हुनेलाई  एक लाख, द्वितीय हुनेलाई ६० हजार र तृतीय हुनेलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Prabhu Bank
Agni Group
NIC Asia

योपटकको कथा प्रतियोगिताका मुख्य निर्णायकमा आख्यानकार तथा साहित्यकार नारायण ढकाल रहेका छन् । त्यस्तै, कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा निर्णायक समूहको सदस्य छन् ।

Global Ime bank

पत्रकार सम्मेलनमा मुख्य निर्णायक ढकालले विश्व मानचित्रमा नेपाली कथाको नक्सा नभएको भन्दै बाह्रखरी कथा प्रतियोगिताले विश्व मानचित्रमा नेपाली कथाको नक्सा कोर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । देशभरका नयाँ–पुराना सबैजनालाई प्रतियोगितामा भाग लिन उनले आग्रह गरे । विगतका प्रतियोगितामा कायम गरेको उचाइ र निष्पक्षतालाई आफू नेतृत्वको निर्णायकमण्डलले निरन्तरता दिने विश्वास पनि उनले दिलाए ।

निर्णायक लामाले प्रतियोगिता निष्पक्ष बनाउनु आफैँमा चुनौती भए पनि यसको गरिमा जोगाउन आफूले भूमिका खेल्ने बताइन् ।बाह्रखरी कथा प्रतियोगिताका अघिल्ला संस्करणहरुबाट आएका कथाकारहरुको नेपाली साहित्यमा राम्रो चर्चा र उपस्थिति रहेको भन्दै यसले नेपाली कथा साहित्यको क्षेत्रमा ठूलो योगदान गरेको उनले बताइन् । “नयाँ कथाकारहरुका लागि यो ठूलो प्लेटफर्म हो । त्यसैले यो उपयुक्त प्लेटफर्मलाई उपयोग गर्नु हुने छ भन्ने हाम्रो अपेक्षा छ,” उनले भनिन्, “यो प्लेटफर्मबाट आएका साथीहरुले अहिले राम्रो उपस्थिति जनाइरहनु भएको छ । यो संस्करणले यो गरिमालाई जोगाइरहन हामी प्रयास गर्ने छौं । 

यस्तै, निर्णायक पोखरेलले कथा प्रतियोगिता खासै नहुने गरेको भन्दै बाह्रखरीले यसलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताए । उनले नेपाली कथा साहित्यलाई माथि उठाउन पनि देश तथा विदेशमा रहेका सबै कथाकारहरुलाई प्रतियोगितामा कथा पठाउन आग्रह गरे । 

बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले उपस्थितलाई प्रतियोगिताबारे जानकारी गराउँदै स्वागत गरेका थिए ।

बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले कोरोना संक्रमणको कठिन अवस्थामा पनि बाह्रखरी मिडियाले प्रतियोगितालाई निरन्तरता दिएको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए । “कुनै प्रतियोगिता सुरु गर्नुमात्रै ठूलो कुरा होइन, त्यसले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने मुख्य कुरा हो,” उनले भने, “कोरोना संक्रमणको समयमा पनि यो चुनौती पूरा गर्दै निरन्तरता दिएका छौं, त्यसैले अब बाह्रखरी कथा प्रतियोगिताले निरन्तरता पाउँछ भन्नेमा हामी ढुक्क छौं ।”

यस्तो छ पत्रकार सम्मेलनमा बाँडिएको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न १२खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ (तेस्रो संस्करण) घोषणा गरेको छ । बाह्रखरी मिडियाले संसारभर रहेका नेपाली कथा लेखकलाई यस प्रतियोगितामा भाग लिन आह्वान गरेको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला दुई वर्ष जस्तै  प्रथम हुनेलाई रु. एक लाख, द्वितीयलाई रु. ६० हजार तथा तृतीय हुनेलाई रु. ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

यस प्रतियोगितामा डिश होम मुख्य प्रायोजक रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, अजोड इन्स्योरेन्स र नेपाल आयल निगमको सहकार्यमा कथा प्रतियोगिता सम्पन्न हुने जानकारी गराउदछौँ ।

बाह्रखरी कथा प्रतियोगिता २०७८ को प्रमुख निर्णायकको जिम्मेवारी समाल्न प्रख्यात आख्यानकार तथा साहित्यकारको श्री नारायण ढकालले स्वीकार गर्नु भएकोेछ । त्यस्तै निर्णायक समूहका अन्य दुई सदस्यमा स्थापित कथाकार श्री विवश पोखरेल तथा विख्यात समालोचक श्री कुमारी लामा रहनु भएको छ । निर्णायक समूहले आफूलाई प्राप्त कथामध्येबाट उत्कृष्ट २५ र तिनै उत्कृष्टमध्येबाट प्रथम, द्वितीय तथा तृतीय कथाको छनोट गर्नेछ । निर्णायक समूहलाई छनोटका क्रममा आवश्यक सबै निर्णय लिने पूर्ण स्वतन्त्रता रहनेछ ।

विगतका वर्षहरू जस्तै ‘बाह्रखरी कथा प्रतियोगिता – २०७८’ को मुख्य प्रायोजन डिसहोम फाईबर नेटले गरेको छ भने अन्य प्रायोजकमा नेपाल इन्भेष्टमेन्ट बैंक, अजोड इन्स्योरेन्स तथा नेपाल आयल निगम रहेका छन् ।

कथा प्रतियोगिताको सर्त उल्लङ्घन नहुने गरी पठाइएका सम्पूर्ण कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गर्नेछ । ती ५० वटा कथा निर्णायक समूहलाई उपलब्ध गराइनेछ । आन्तरिक निर्णायक मण्डलले चुनेका ५० कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७८’ का लागि २५ वटा कथा छान्नेछन् र तिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।

यस प्रतियोगितामा गतवर्ष सात सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यो वर्ष अझै ठूलो सहभागिता रहने विश्वास आयोजकले लिएका छन् ।

बाह्रखरी कथाका उत्कृष्ट २५ कथाको सँगालो २०७६ सालमा पुस्तकाकार रूपमा आएको थियो भने २०७७ सालमा कोरोना महामारीका कारण ‘डिजिटल भर्सन’मा ल्याइएको थियो जुन बाह्रखरी डट कमबाट पनि प्रकाशित गरिएको थियो । यो वर्ष अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन र विक्री वितरण गरिनेछ । पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद पनि प्रकाशित भइसकेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौँ । दोस्रो कथा संग्रहको ‘अडियो भर्सन’ पनि प्रकाशित गरिएको थियो भने तेस्रो कथा संग्रह पनि ‘अडियो भर्सन’मा समेत उपलब्ध हुनेछ ।

उत्कृष्ट २५ मध्येमा पर्ने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिनेछ । आन्तरिक निर्णायक मण्डलले छनोट गरेका ५० कथामध्ये २५ भित्र नपरेका बाँकी कथालाई बाह्रखरी डट कममा प्रकाशित गरिनेछ र कथाका।लाई उचित पारिश्रमिकको व्यवस्था गरिनेछ ।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा २०७८ भदौ ३१ गतेभित्र ‘बाह्रखरी कथा’ को इमेल ठेगाना 12kharibooks@gmail.com वा books@baahrakhari.com मध्ये कुनै एकमा पठाउनुपर्नेछ ।

कथा प्रतियोगिताको नतिजा २०७८ मंसीर ३ गते शुक्रबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा–२०७८’ को लोकार्पणसमेत हुनेछ ।

आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।

विगतका वर्षहरूमा १२खरी कथा प्रतियोगितामा उत्कृष्ट कथाकारहरू पुरस्कृत भइसक्नु भएको छ । प्रतियोगिताको पहिलो संस्करणमा बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ कथा तृतीय भएको थियो । त्यस्तै दोस्रो संस्करणमा मुना चौधरीको ‘लार’ प्रथम भएको थियो भने श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।

शर्त तथा नियम
–कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।
–अघिल्लो वर्षमा प्रतियोगिताका लागि प्राप्त कथा दोहोर्‍याएर पठाउन पाइनेछैन ।
–कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ र प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कतै प्रकाशन तथा प्रसारण गर्न पाइनेछैन ।
–छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
–‘बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
– कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ । 
– भदौ ३१ पछि प्राप्त कथालाई प्रतियोगितामा समावेश गरिनेछैन ।
–प्रतियोगीले कथासँगै आफ्नो परिचय, सम्पर्क नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
–प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।
–कथा पठाउनका लागिः
ईमेल– 12kharibooks@gmail.com
books@baahrakhari.com
सम्पर्कः ०१-४१०१६५१, ०१-४१०१६५६, ९८०१८४९६२६

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC