दोस्रो चरणमा पहिलो मात्रा खोप लगाउने ज्येष्ठ नागरिकलगायत करिब १५ लाख नेपाली दोस्रो मात्रा पर्खेर बसेका छन् । तिनले कोभिसिल्ड खोपको दोस्रो मात्रा कहिले लगाउन पाउने हुन् ? निर्धारित समयभित्र दोस्रो मात्रा लगाउन नपाए तिनले के गर्ने ?
जनताप्रति उत्तरदायी भए नागरिकका यस्ता प्रश्नको उत्तर सरकारले दिनुपर्ने हो । तर, खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री रहेको सरकार नागरिकका कुनै समस्या समाधान गर्नमात्र होइन यस्ता प्रश्नको उत्तर दिनसम्म पनि आवश्यक ठान्दैन ।
कोभिड-१९ को सङ्क्रमण बाक्लो जनसङ्ख्या भएको क्षेत्रमा बढी देखिएको छ । तर, यसको अर्थ जनसङ्ख्या कम भएका क्षेत्रमा भाइरसको सङ्क्रमण भएको छैन भन्ने त होइन । विशेषगरी सहरी क्षेत्र र भारतबाट घर फर्केकाहरू परीक्षणविना गाउँ गाउँमा पुगेकाले भाइरस पनि देशको कुनाकुनामा पुगेको सहजै अनुमान गर्न सकिन्छ ।
यसै पनि दुर्गम गाउँहरूमा सङ्क्रमण फैलेमा जिल्ला सदरमुकामसम्म समाचार आइपुग्नै दसौं दिन लाग्नसक्छ । आधुनिक सञ्चार सुविधाबाट वञ्चित गाउँबाट सूचना आओस् पो कसरी रु यस्तोमा राज्यकौ संयन्त्रले एकलासका बस्तीको खोजखबर गर्नुपर्थ्यो ।
आफैँले उत्पन्न गरेको परिस्थितिका सम्बन्धमा उत्तरसम्म पनि नदिने सरकारले नागरिकलाई खोजेर उद्धार र उपचार पक्कै गर्दैन । यसैले सञ्चार र यातायात सुविधा नपुगेका बस्तीका बासिन्दा सङ्क्रमित भए भने उपचारबाट हैन भवितव्यबाट मात्र बाँच्ने देखिन्छ ।
तथ्याङ्कअनुसार भारतमा भन्दा नेपालमा सङ्क्रमण दर बढी छ । प्रतिदसलाख जनसङ्ख्यामा भारतमा २३१ जना सङ्क्रमित हुँदा नेपालमा २९६ जनामा सङ्क्रमण देखिएको छ । पक्कै पनि यो अत्यासलाग्दो अवस्था हो ।
प्रधानमन्त्री ओलीले भने अगिल्लो वर्ष ‘बेसार पानी’ र ‘हिमाली हावा’को बखानमा बिताइदिए । अहिले प्रधानमन्त्री ओली भनिरहेका छन् - कोरोना यस्तो होला भन्ने मलाई लागेकै थिएन । सायद यो वर्ष चाहिँ उनले कोभिड -१९ को भयावहताका सम्बन्धमा बुझ्दैमा बिताइदिने होला ।
हुनत, कोभिड-१९ को महामारीबाट जनतालाई जोगाउन ओली सरकारको हेलचेक्य्राइँप्रति नेपाली जनताले आश्चर्य मान्न पनि छाडिसके । सुध्रने सम्भावना भएन अपेक्षा गर्ने हो ?
भारतले अनुदानमा दिएको, नेपालले किनेको तथा कोभ्याक्स सुविधाअन्ततर्गतको गरी २३ लाख ५० हजार मात्रा कोभिसिल्ड खोप नेपालमा उपलब्ध थियो । सरकारले तोकेकै प्राथमिकतामा परेकामध्ये १५ लाख जतिले पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा पर्खेर बसेका छन् ।
नेपाललाई कोभिसिल्ड बेच्ने खोप निर्माता कम्पनी सेरम इन्डियाले मंसिर पुसभन्दा पहिले खोप दिन नसक्ने बताइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री तहबाटै प्रयास भएमात्र खोप पाइनसक्ने धेरैको विश्वास छ । तर, खड्गप्रसाद ओलीलाई निर्वाचन आचार संहिता उल्लङ्घन गर्नबाट फुर्सद भए पो यता ध्यान दिउन् र !
नेपालजस्तै भारतबाट खोप आयात गर्न पर्खेर बसेको बङ्गलादेशले क्यानाडा, अमेरिकाजस्ता बेलैमा खोप सञ्चय गरेका देशहरूसँग अस्ट्राजेनेकाको खोप कोभिसिल्ड आयात गर्ने जोहो गर्न लागेको समाचार छ । यसैगरी बङ्गलादेशले चीन र रुसबाट पनि खोप खरिद गर्ने तत्परता देखाएको छ ।
भारतमा महानगरहरूमा नियन्त्रणमा आउन थाले पनि गाउँगाउँमा फैलिएकाले सङ्क्रमण घट्ने सङ्केत देखिएको छैन । यसैले भारतको मात्र भर नपरी खोप किनेर थुपारेका अरू देशहरूबाट अनुदानमा वा किन्न पाइन्छ कि रु यो विषय सबैभन्दा बढी प्राथमिकतामा पर्नुपर्थ्यो ।
सरकारले खोप खोज्न नसक्ने नै हो भने वा भारतबाट नपाइने नै हो भने पनि अर्को खोपको दोस्रो मात्रा दिन मिल्ने कि नमिल्ने ? पहिलो मात्रा लगाएको कति दिनसम्म अर्को मात्रा लगाए खोपले काम गर्ने रु यस्ता जिज्ञासाको उत्तर व्यग्रता पूर्वक पर्खेर बसेका ज्येष्ठ नागरिकलाई उत्तर त देऊ !