दुर्घटनामा घाइते आफ्ना बिरामीलाई उपचार गर्न ढिलो गरेको निहुँमा विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर र स्वास्थ्य सहायकलाई रगतपच्छे हुनेगरी कुटपिट गरियो । जोबाट घाइतेको उपचारको अपेक्षा गरिएको हो उल्टै तिनै चिकित्सकलाई कुटपिट गर्नु निन्दनीय विडम्बना हो ।
चिकित्सक मानवीय कमजोरी नभएका अर्कै दुनियाँका प्राणी होइनन् । उनीहरूको हेलचेक्य्राइँबाट मानिसको ज्यान जान सक्छ । यस्तै, चिकित्सक अलि बढी गम्भीर र कर्तव्यपरायण भइदिए जीवन जोगिन पनि सक्छ । यसैले समाजमा अरू पेसाका तुलनामा चिकित्सकलाई बढी सम्मान र अपेक्षा पनि गरिन्छ ।
महामारीका बेलामा त झन् चिकित्सकहरू प्राणरक्षककै अवतारमा देखिएका छन् । कोभिड(१९ सङ्क्रमितहरूबाट रोग सर्ने सबैभन्दा बढी जोखिममा रहेर पनि चिकित्सकहरूले बिरामी बचाउन हरसम्भव प्रयास गरेका छन् । यस्तो अवस्थामा पनि उनीहरूमाथि आक्रमण हुनु अत्यन्त चिन्ताको विषय हो । यो त सामाजिक मनोवृत्तिमा गम्भीर सङ्क्रमणको लक्षण हो ।
सरकारी अस्पतालको व्यवस्थापीय त्रुटि वा भ्रष्टाचारका कारण बिरामीले राम्रो सेवा नपाउँदा वा निजी क्षेत्रबाट चलाइएका अस्पतालले बिरामीलाई दुहुनो गाई बनाउँदा पनि धेरै गाली भने डाक्टरलाई गरिन्छ । तैपनि, तिनले काम छाडेका छैनन् । महामारीविरुद्धको लडाइँमा पहिलो पङ्क्तिमा रहेका चिकित्साकर्मीले सबैभन्दा बढी तनाब पनि सहेका छन् ।
भारतमा कोरोनाभाइरसको सङ्क्रमणबाट हजार जनाभन्दा बढी डाक्टरहरूको र ठूलो सङ्ख्यामा अरू स्वास्थ्यकर्मीको प्राण गइसकेको छ । असंख्य चिकित्साकर्मी उपचार गर्ने उपाय र साधनको अभावमा सङ्क्रमितहरू छटपटाएको देख्दा मानसिक तनावका कारण बिरामी हुनपुगेका छन् । अवस्था उस्तै भएकाले नेपालमा सङ्ख्यागत तलमाथि भए पनि समस्या उस्तै छ ।
अहिले त डाक्टरहरूलाई हौसला, साथ र सद्भाव देखाउनु पर्थ्यो । समाजले तिनको सेवा र समर्पणको सम्मान गर्नुपर्थ्यो । उनीहरूलाई अहोरात्र खट्न प्रेरित गर्नुपर्थ्यो । तर, विराट शिक्षण अस्पतालको जस्तो घटनाले चिकित्सकहरूलाई हतोत्साही र निराश बनाउन सक्छ । यसैले अस्पतालको आकस्मिक कक्षमै डाक्टर कुटिने घटनाको सबैले निन्दा गर्नुपर्छ ।
कुटपिटमा संलग्न युवाको आक्रोशको कारण उचितै भए पनि उनीहरूले गरेको कामको औचित्य सिद्ध हुँदैन । प्रहरीले तिनलाई पक्रेर कारबाही चलाएको समाचार छ भने तिनलाई क्षमा दिने अधिकार पीडित चिकित्सकहरूलाई मात्र छ । भिडले गरेको अपराधमा कारबाही नगर्ने प्रवृत्तिले यस प्रकारका उद्दण्डता दोहोरिने गरेको हो ।
यस्ता छिटफुट घटनाबाट विचलित नभई पूर्ववत् मानव सेवामा समर्पित रहन हामी सबै चिकित्सकसँग आग्रह गर्दछौँ । महामारीमा चिकित्साकर्मीले गरेका सेवाको नेपाली समाजले उच्चमूल्याङ्कन नगर्नु कृतघ्नता हुन्छ । बैगुनी समाज जिउँदो रहँदैन भन्ने नबिर्सौँ !