site stats
बाह्रखरी :: Baahrakhari
देश
१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ, हावादारी निर्देशन दिएर सरकार पन्छिन खोज्यो : अफिन

काठमाडौं । निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इस्टिच्युसन अफ नेपाल (अफिन) अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएको छ । 

अफिनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्ट तयार गर्न कम्तीमा तीन महिना लाग्ने भन्दै सरकारले दिएको हावादारी निर्देशनका भरमा १५ दिनमा अक्सिजन प्लान्ट तयार नहुने जनाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अफिनको विज्ञप्तिमा भनिएको छ, “यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय हो भन्ने हामीले ठानेका छौँ ।”

निजी अस्पतालहरू असहज अवस्थामा गम्भीर रहेको तर सरकारले गैरजिम्मेवारपूर्ण निर्णय गरेको अफिनको आरोप छ ।

“यो असहज अवस्थाप्रति गम्भीर पनि छौँ । सीमित साधन–स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचारसेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो यस्तो गैर जिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी संचालन भैरहेछ भन्ने स्पष्ट हुन्छ । स्मरण रहोस्,  हाल लगभग देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाईसेवा पनि बन्द रहेका छन् । द्रूत ढुवानीको अरू कुनै विकल्प छैन,” विज्ञप्तिमा भनिएको छ ।

अफिनले देशभर अक्सिजन व्यवस्थापनको लागि सरकारले विशेष कदम चाल्नुपर्ने बताएको पनि बताएको छ ।

“अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले  खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ । १०० शय्याको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन् । देशैभरी अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरू चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरू तयार रहेको पनि हामी जानकारी गराउन चाहान्छौँ,” विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्