विराटनगर । सुनसरीको इटहरी उपमहानगरले अक्सिजनसहितको व्यवस्था भएको ५० शैयाको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ ।
इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि आइसोलेसन सञ्चालनमा ल्याएको बताए । महिला र पुरुषका लागि छुट्टाछुट्टै ब्लक छुट्याइएको छ ।
बुधबार साँझदेखि कोरोना संक्रमितलाई राखेर आइसोलेसन सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । “अक्सिजनसहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्नेगरी व्यवस्था मिलाइएको छ,” उनले भनिन् ।
उनकाअनुसार आइसोलनसन केन्द्रमा स्वाथ्य मन्त्रालयले तयार पारेको मापदण्डबमोजिम गुणस्तरीय खानाको व्यवस्था गरिएको छ ।
इटहरी अस्पतालका मेसु डा. योगेश चेम्जोडले पनि आइसोलेसन व्यवस्थित रहेको बताए । “माइल्ड कोभिडका बिरामीलाई राखेर अक्सिजन नेबुलाइजरको सेवासमेत प्राप्त हुने छ,” उनले भने ।
बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने र एम्बुलेन्समार्फत अन्य अस्पताल लगिने उनले बताए ।
इटहरी ९ रंगशालामा गत बर्ष पनि आइसोलेसन सञ्चालित थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी र वाइफाईसमेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने बताइएको छ ।