काठमाडौं । बाँके अर्थात् कोरोना ‘हब’का रुपमा यति बेला परिचित छ । संक्रमण र मृत्युदर बढ्दो छ । अक्सिजन, आईसीयूलगायत अभाव छ । बाँकेमै छ, नेपालगन्ज मेडिकल कलेज ।
केही दिनअघि पीपीई सेटसहित कुर्सीमा बसेर आफ्नै हातमा ‘इन्जेक्सन’ दिएर काम गरिरहेका एक चिकित्सकको तस्बिर सार्वजनिक भयो । देब्रे हातमा क्यानुला जडान गरेर स्ट्यान्डमा झुन्ड्याइएको बोतलमार्फत स्लाइन पानी चढिरहेको त्यो तस्बिरले धेरैको ध्यान तानेको छ ।
कोरोना महामारीमा आफ्नै स्वास्थ्य जोखिममा पर्दा समेत सेवामा तल्लिन ती चिकित्सक थिए, नेपालगन्ज मेडिकल कलेजका मेडिकल अफिसर डा. पुरुषोत्तम बर्मा । उनी मेडिकल कलेजको कोरोना वार्डमा कार्यरत छन् ।
टेबुलमा बिरामीको रेकर्ड फाइल हेर्दै गरेका उनको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । तर, नियोजित रुपमा भने त्यो तस्बिर नखिचिएको डा. बर्मा बताउँछन् । बर्मासँगै काम गर्ने तीनजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । यस्तोमा बर्मामा जिम्मेवारी थपियो ।
उनी भन्छन्, “२४ सै घण्टा पनि ड्युटी गर्दै आएका छौँ । एक चिकित्सक भइसकेपछि बिरामी देख्दा–देख्दै आराम गर्न मन लाग्दैन । यो महामारीविरुद्धको लडाईं हामीले जसरी पनि जित्नैपर्छ ।”
कोरोना संक्रमितको उपचारमा खटिएकै बेला उनको स्वास्थ्यमा समस्या आयो । पेट दुख्ने, झाडापखला लाग्ने समस्या भएपछि शरीर निकै गल्योे । उनी भन्छन्, “अस्पतालमा उपचारको पर्खाइमा रहेका कोरोना संक्रमितलाई छाडेर आराम गर्न मनले मानेन । मलाई पनि कोरोनासँग मिल्दो–जुल्दो पूरै लक्षण देखियो । आफ्नोभन्दा अरुको जीवन बचाउँदा आनन्द ठूलो हुन्छ । त्यसैले केही खप्न नसकेपछि मैले आफैँ सिस्टरलाई इन्जेक्सन लगाउन भनेको हुँ ।”
यस्तो छ डा. बर्माको अनुभव
म नेपालगन्ज मेडिकल कलेजमा डेढ वर्षदेखि कार्यरत छु । गत वर्ष पनि कोरोना महामारीकै समयमा मैले ड्युटी गरेको थिएँ । अघिल्लोपालि खासै समस्या भएन । तर, योपालि ड्युटी गर्दा कोरोनाको लक्षण टाउको दुख्ने, झाडापखाला लाग्ने, सास फुल्ने भइराख्थ्यो ।
मसंगै काम गर्ने डाक्टर साथीहरुलाई कोरोना पोजेटिभ आइसकेको थियो । तर उहाँहरुमा लक्षण देखिएको थिएन । उहाँहरु घरमा होम आइसोलेसनमा बस्नुभयो । त्यस्तो अवस्थामा ड्युटी गर्दा समस्या गम्भीर हुनसक्छ भनेर आइसोलेसनमा बस्नुभयो ।
मैले पनि पीसीआर जाँच गरेको छु । रिपोर्ट आइसकेको छैन । लक्षण सबै कोरोनाकै देखिएको छ । मेनपावर कम छ । बिरामी बढी छन् । जे भए पनि ड्युटी गर्नैपर्छ । हाम्रो पेसाको ‘इथिक्स’ले पनि मान्दैन कि घर बस्ने । मै घरमा बसिदिएँ भने बिरामीलाई कसले हेर्छ । सिस्टरहरु पनि निरन्तर खटिरहनुभएको छ । अर्को कुरा के हो भने, म बिरामी भएर घर आए पनि आखिर जानु त अस्पताल नै पर्छ । त्योभन्दा त ड्युटी गर्दै मेडिसन गर्यो ।
कस्तो भयो भने, साथीहरु बिरामी भएर घर बस्नुभयो । त्यसकारण मैले २४ घण्टा नै ड्युटी गर्नुपर्यो । ४८ जना बिरामी हेर्नलाई गाह्रै हुन्छ । काम गर्दा–गर्दै बिरामी भएकाले मलाई गाह्रो भयो । सहन नसकेपछि सिस्टरलाई क्यानला लगाइदिन भनेँ । अनि, मैले यो–यो मेडिसिन चलाउनुस् भनेँ । त्यो गर्दै सबै बिरामीको फाइल हेर्दै मेडिसिन भन्दै थिएँ । त्यही बेला एकजना सिस्टर भेट्न आउनुभएको थियो । उहाँले नै त्यो फोटो लिनुभएको रहेछ । त्यो फोटोचाहिँ एकजना डाक्टर हाम्रो इन्जार्च हुनुहुन्छ, उहाँले त्यो फोटो आफ्नो फेसबुकमा हाल्नुभएको रहेछ । मलाई त थाहा थिएन मैले त राति ११/१२ बजे मात्रै फोटोले चर्चा पाएको जानकारी पाएँ ।
गत वर्षको भन्दा यो वर्षको कोरोना गम्भीर देखिएको छ । नेपागन्जमा स्टेबल पेसेन्ट हुँदै हुँदैनन् । जति आईसीयूमा भर्ना हुन्छन्, सबै पोजिटिभ सँगसँगै गम्भीर पनि हुन्छन् । प्रायःजसोको अक्सिजन लेवल एकदम कम हुन्छ । कोही कोही त सानै उमेरमा पनि मृत्युवरण गर्छन् । त्यो देख्दा निकै दुःख लाग्छ । युवा उमेर ३३/३५ वर्षकै उमेरका पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हामी नागरिकलाई, जनतालाई आग्रह गर्छौँ कि घरमा आइसोलेट भएर बस्नुस् । काम परेको बेला मात्रै सुरक्षित भएर बाहिर निस्किनुस् । मास्क, स्याटिटाइजर निरन्तर प्रयोग गर्नुपर्यो ।
नेपालगन्जमा एक महिनादेखि कोरोना संक्रमित एकदमै आउन थालेका छन् । संक्रमितको मृत्युदर बढेको छ । यस्तो देख्दा आफूलाई पनि मनमा बेला–बेला डर त लाग्छ । हामी पनि मान्छे त हौँ । हाम्रो पनि परिवार हुन्छ । तर, डरभन्दा पनि बिरामीलाई हेर्ने हाम्रो धर्म हो । डराएर बसेर मात्रै हुँदैन ।
हामीले हाम्रो शतप्रतिशत दिँदा पनि कतिपय गम्भीर प्रकृतिलाई बिरामीलाई बचाउन सक्दैनौँ । त्यस्तो हुँदा एकदमै दुःख पनि लाग्छ । हाम्रो प्रयास सधैँ बिरामी निको भएर जाऊन् भन्नेमै हुन्छ ।
हामी सबै एक भएर काम गर्छौँ । यस्तो कठिन समयमा सेवामा खटिने नर्स, सरसफाइ कर्मचारी सबैलाई सकारात्मक ऊर्जा दिने कोसिस गर्छौँ । उहाँहरुको मनोबल सधैँ उच्च भइरहोस् भन्नेतर्फ हामी लागिरहन्छौँ ।
एक–दुईजना गम्भीर प्रकृतिको बिरामी हुनुहुन्थ्यो । उहाँ बाँचेपछि उहाँको आमा एकदमै खुसी हुनुभयो । उहाँ एकदमै सानो उमेरको हुनुहुन्थ्यो । आमाको मुस्कान देखेर हामी निकै खुसी भयौँ ।
मेरो सबैलाई आग्रह के छ भने यसलाई गम्भीर रुपमा लिइदिनुस् । कोरोना कुनै मजाक होइन । यसले धेरै मानिसको ज्यान लिइसकेको छ । सकेसम्म आफ्नो तर्फबाट आफूलाई सुरक्षित राख्ने कोसिस गर्नुहोस् । काम परेको बेला मात्रै निस्कनुहोस् । सन्तुलित र स्वास्थ्यवद्र्धक खाना खानुहोस् ।
बालबालिका र वृद्धवृद्धासँग घरमै पनि भौतिक दूरी कायम गर्नुहोस् । किनभने, उहाँहरुको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । सबै कुरा डाक्टरको हातमा पनि छैन । नेपालगन्जको कुरा गर्ने हो भने सबैजसो बेड भरिएका छन् । बिरामीलाई बेड छैन भन्नुपर्दा हामीलाई पनि दुःख लाग्छ । त्यसैले घरमै सुरक्षित रहनुहोस् ता कि अस्पताल नै आउन नपरोस् ।