site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समाजवादीका घटाेत्कच अर्थात् रेशम चाैधरी !

सत्ताकाे खालमा च्याँखे थापिएका रेशम चाैघरी दुई तहका अदालतले ठहर गरेजस्तै ‘टीकापुर’ नरसंहारका कसुरदार हुन् कि उनका समर्थक र शुभचिन्तकले भन्ने गरेजस्ताे ‘परिबन्द’मा पारेर फसाइएका निर्दोष व्यक्ति हुन् ? हचुवामा किटान गर्न खाेज्नु अन्याय हुन्छ । परन्तु, सत्य जे भए पनि रेशमकाे जिन्दगीलाई सत्ताकाे जुवामा च्याँखे थापिएकाे देख्दा भने मन दुख्दाे रहेछ । 

अहिले रेशम अदालतकाे फैसलाअनुसार कैद सजाय भुक्तान गर्दैछन् । प्रचलित कानुनअनुसार कैदबाट उनलाई मुक्त गर्न सम्भव छैन । प्रधानमन्त्री वा राष्ट्रपतिले चाहेकै भरमा हुँदैन । तर, रेशम चाैधरीका पार्टीका नेताहरू भने उनकाे रिहाइ ‘हाताहाती’ हुनुपर्ने भनिरहेका छन् । 

रेशमकाे रिहाइ अहिलेकाे कानुन र संविधान नमिचीकन सम्भव छैन भन्ने समाजवादी जनता पार्टीका नेताहरूले पनि थाहा त पक्कै पाएका छन् । तैपनि, किन यति र यस प्रकारकाे जिद्दी गरिरहेका हुन् ? कि बाहिर प्रचार गरिएभन्दा भित्र प्रधानमन्त्रीसँग बेग्लै ‘खुसुरफुसुर’ चलिरहेकाे छ ? राजनीतिक दलहरूबीच हुने वार्ता पनि पारदर्शी त छैनन् । नेताहरूकाे नियत पनि सफा देखिँदैन । यसैले सन्देह त हुन्छ नै !  

Prabhu Bank
Agni Group
NIC Asia

‘महाभारत’का पात्रहरू समाजमा विभिन्नरूपमा भेटिन्छन् । राजनीतिमा त झन् बढी भेटिन्छन् । रेशम चाैधरीलाई अहिले उनकै नेताले सत्ताकाे गोटी बनाएकाे देख्दा महाभारतका एक जना विलक्षण पात्र घटाेत्कचकाे अन्त्यकाे सम्झना हुन्छ ।

राक्षसी हिडम्बा र काैन्तेय भीमसेनका पुत्र घटाेत्कच मायावी वीर थिए । उनलाई सामान्य युद्धमा हराउन सम्भव थिएन । घटाेत्कच युद्धकाे अन्त्यसम्म बाँचेका भए पाण्डव कुलका ज्येष्ठ पुत्रका नाताले हस्तिनापुरकाे राजगद्दीमा उनकाे हक लाग्थ्याे । 

Global Ime bank

कर्णसँग इन्द्रले छल गरेर  कवचकुण्डल मागे । दानवीर कर्णले दान त गरे तर सूर्यकाे निर्देशअनुसार अमाेघ वाण मागेका थिए । इन्द्रले एकपटक मात्र प्रयाेग गर्ने सर्तसहित अमेघ वाण दिए । युद्धमा अर्जुनलाई मात्र उनी त्याे वाण प्रहार गर्न चाहन्थे । यसैले कृष्ण अर्जुनलाई कर्णसँग आमनेसामने हुनबाट जाेगाइरहेका थिए ।

 कर्ण बाँचुन्जेल अर्जुन मारिने खतरा रहिरहने भएपछि कर्णको वध नगरी नहुने तर कर्णकाे सामना गर्न भने अर्जुनलेमात्र आँट्ने । उता, अमोघ वाण हुँदासम्म अर्जुनलाई कर्णको सामु लानै नहुने र कर्णले अमोघ वाण अरूमाथि प्रयोग नगर्ने । कृष्ण फसादमा परे । 

महाभारतका चतुर नायक कृष्णले उपाय निकालिछाडे - अरू कसैमाथि अमोघ वाण प्रयोग गर्न कर्णलाई बाध्य बनाउने । 

अनि अर्जुनलाई युद्धमा अन्तै अलमल्याएर कृष्णले घटोत्कच युद्धमा उत्रने वातावरण बनाए । घटाेत्कचले भयानक युद्ध छेडे । कौरव पक्ष त्राहिमाम् भयो । मायावी वीर घटोत्कचकाे अन्त्य नभए काैरव सेनै समाप्त हुने देखेर दुर्याेधनले कर्णलाई भने - अङ्गराज ! घटाेत्कचकाे वध जसरी पनि गर ! अनिच्छापूर्वक कर्णले अमोघ वाण प्रहार गरेर घटोत्कचकाे बध गरे। 

अर्जुन बाँचे, कर्ण मारिने निश्चित भयाे । घटोत्कच पन्छिए । 

रेशमको माया गरेको देखाएरै उनलाई फसाउने र उनीप्रति पीडितहरूलगायत जनमानसमा घृणा फैलाउने काम समाजवादीका नेताले गरिरहेका छन् । टीकापुरमा भएको नरसंहारमा कोही त पक्कै दोषी होला नि । तिनले सजाय पाउनु पर्दैन ? 

पक्कै पनि पुष्पकमल दाहाल , रामबहादुर थापा, बाबुराम भट्टराई , नेत्रविक्रम चन्द, सीके राउतहरूले उन्मुक्ति पाउने तर रेशम चाैधरीले सजाय पाउँदा विवेक हुने कसैकाे पनि पक्कै चित्त बुझ्दैन । तर, यसकाे उपाय मेटेर हैन अर्काे लामाे धर्काे तानेर निकाल्ने हाे । अर्थात्, रेशमकाे मुद्दामा न्यायिक प्रक्रिया अपनाउने हाे । 

मुद्दाकाे अन्तिम किनारा लाग्दा पनि रेशमलाई दिइएकाे सजाय कायमै रहे कानुनबमाेजिम कैद मिनाहा गराउने प्रयास गरे हुन्छ । तर, उनलाई त प्रधानमन्त्री खड्गप्रसाद ओलीकाे सरकारलाई समर्थन गर्ने प्रकारान्तरले केही नेताहरू मन्त्री हुने अस्त्र बनाइयाे ।

अरू दोषीले पनि उन्मुक्ति नपाउने सुनिश्चित गरिएमात्र समाज अगाडि बढ्ने हाे । टीकापुर नरसंहारकाे केही दिन पहिले जातीय घृणा र उत्तेजना फैलाउनेहरू पनि  उत्तिकै दाेषी हुन् । विडम्बना, कम्युनिस्ट वा साम्प्रदायिक ‘फासिस्ट’ मात्र हैनन् आफूलाई ‘उदार लाेकतन्त्रवादी’ ठान्ने ‘बुद्धिजीवी’ र सञ्चारकर्मीले पनि बुझ पचाएकाे देखिएकाे छ । 

रेशमकाे नाममा सत्तामा गइहालाैँ पछि कानुन र अदालतले राेकिहाल्छ नि भनेर रचिएकाे ‘कपट खेल’ अर्थात् ‘घटाेत्कच वध’ गराउने यदुवंशी चाल त हाेइन ? 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement