site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तासमीकरणबारे जसपामा तीन धार : उधारोमा ओलीलाई नसघाउने अडान !
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई दुई चिरामा विभाजित गरिदियो । नेपाल कम्युनिस्ट पार्टीका रूपमा रहेको दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रूपमा पूर्ववत् अवस्थामा फर्किएका छन् । नेकपाका दुई अध्यक्षमध्ये एक केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले र माओवादी केन्द्रको पूर्ववत् अध्यक्षको अवस्थामा फर्किए ।

ओली माओवादी केन्द्रको समेत समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए । पार्टी विभाजनसँगै माओवादी केन्द्र प्रतिपक्षमा जाने ठानियो । तर, उसले औपचारिक रूपमा सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेको छ ।

प्रधानमन्त्री ओलीसँगको तुषका कारण नेकपामा हुँदै ओली र प्रचण्डको सम्बन्ध चिसिएको थियो । पार्टी अलग नै भइसकेपछि समर्थन फिर्ता लिनेबारे माओवादीभित्र छलफल जारी छ । माओवादीले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले संसद्मा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था आउने छ । आफ्नो सरकार जोगाउन प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउन प्रयास थालेका छन् ।

Dabur Nepal
NIC Asia

सरकारका तर्फबाट सुवास नेम्वाङ र राजन भट्टराई, जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको समिति नै बनाएर उनीहरुले सत्तासमीकरणलगायतका विषयमा छलफल गरिरहेका छन् । दुवै पक्षले छलफल जारी रहेको स्वीकार गरेका छन् ।

उता, माओवादी केन्द्रले पनि जसपासँग संवाद थालेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग बुधबार माओवादी केन्द्रले छलफल गरेको थियो । जसपा नेता डा. सुरेन्द्र झाले सबै शक्तिसँग जसपा संवादमा रहेको बताए । “सबै शक्तिसँग संवादमा छौँ । कांग्रेस र नेकपा माओवादी केन्द्रसँग पनि । सरकारसँग पनि छलफलमा छौँ,” उनले भने ।

जसपामा तीन धार
जसपामा सत्तासमीकरणका विषयमा तीन धार देखिएको छ । अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो आफ्ना माग पूरा गरे प्रधानमन्त्री ओलीलाई समर्थन गर्न सकिने पक्षमा छन् । तर, अर्का अध्यक्ष उपेन्द्र यादव भने वर्तमान सरकारसँग सहकार्यको विपक्षमा देखिएका छन् । उनले लोकतन्त्र र संघीय गणतन्त्र पक्षधर शक्ति एमाले नभएको भन्दै अहिलेको सरकारसँग सहयात्रा नहुने बताएका छन् । उसो त ओली नेतृत्वकै सरकारमा उपप्रधानसहित स्वास्थ्यमन्त्री रहेका यादव भारत भ्रमणमा रहेकै बेला थाहै नदिई  मन्त्रालय परिवर्तन गरिदिएपछि सरकार छाडेका थिए । त्यसपछि ओलीसँग टाढिएका यादव भने ओलीकै निरन्तरताको पक्षमा छैनन् ।

“अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य र सहयात्रा हुन सक्दैन,” यादवले भनेका छन् । जसपाभित्र यादवलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नजिक रहेको मानिन्छ ।

जसपाभित्र यीबाहेक पनि अर्को धार छ । पूर्वराजपाका अध्यक्षमण्डलका केही सदस्य भने ओली र प्रचण्डको विकल्पमा जसपाकै नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने पक्षमा छन् । “सकेसम्म हाम्रै नेतृत्वमा चुनावी सरकार बनाएर जानुपर्छ भन्ने हाम्रो कुरा हो । यदि, सम्भव भएन भने कांग्रेसले नेतृत्व गरोस्,” पूर्वराजपाको अध्यक्षमण्डलका एक सदस्यले भने ।

दुईतिहाइ मत पाउँदा पनि आफ्नै सरकार टिकाउन नसकेको र संविधानको बर्खिलाप गएकाले कम्युनिस्ट नेताकै नेतृत्वमा सरकार बनाएर देशले निकास नपाउने भन्दै उनीहरु कांग्रेसले नेतृत्व लिए सहयोग गर्नुपर्ने पक्षमा देखिन्छन् । यो समूहले पनि आन्तरिक रूपमा कांग्रेससँग संवाद गरिरहेकोे छ ।

जसपालाई उधारोको डर !
पटक–पटक सरकारसँग जसपाको सहमति भएको छ । संविधान संशोधन, रेशम चौधरीको रिहाइको सहमतिपछि ओली नेतृत्वको सरकारलाई उनीहरुले समर्थन दिएका थिए । तत्कालीन संघीय समाजवादीका तर्फबाट हालका जसपाका एक अध्यक्ष उपेन्द्र यादव त मन्त्री नै भए । तत्कालीन राष्ट्रिय जनता पार्टीले भने समर्थन गरे पनि सरकारमा गएको थिएन । टीकापुर घटनामा मुख्य योजनाकार भनिएका चोधरीलाई डिल्लीबजार कारागारमा रहेकै बेला सिंहदरबार ल्याएर सांसदको शपथ गराइएको पनि थियो ।

आफ्ना माग पूरा गर्न सरकार इमानदार नबनेको भन्दै यादव सरकारबाट बाहिरिएसँगै राजपा र समाजवादी मिलेर बनेको जसपाले सरकारलाई दिएको समर्थन नै फिर्ता लिएको थियो ।

अहिले पनि जसपा सरकारसँग सहमति गर्दा उधारो नै रहने हो कि भन्ने त्रासमा देखिन्छ । जसपा वरिष्ठ नेता महतोले अब उधारोमा ओलीलाई सहयोग गर्न नसक्ने प्रष्ट बताइसकेका छन् ।

अध्यक्ष ठाकुरनिकट मानिने जसपा नेता डा. सुरेन्द्र झाले जसपा सबैसँग संवादमा रहे पनि कसैसँग सम्झौता नभइसकेको बताउँछन् । “मधेस, थरुहट आन्दोलनसँग रहेको समस्यामा कार्यपालिकाले गर्न सक्ने काम तत्काल गर्ने, व्यवस्थापिकाले गर्न सक्ने कामका लागि सहमति गर्ने गरी सबै शक्तिसँग संवादमा छौँ । छलफल सकारात्मक दिशातिर उन्मुख । निर्णय केही भएको छैन,” उनले भने, “कार्यपालिकाले गर्न सक्ने काम तत्काल प्रधानमन्त्रीले गर्नुप¥यो । लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशम चौधरीलगायतका बन्दी रिहा, अंगभंग भएकाहरुको भरणपोषण राज्यद्वारा सेवा–सुविधा दिनुपर्‍यो भन्ने हाम्रो माग छ ।”

उनले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओली नै पहिला प्रधानमन्त्री हुँदा पनि सहमत भएका विषय कार्यान्वयन नभएको बताए । “हामी सबैसँग समान दूरीमा छौँ । हामीले उठाएका विषयको समाधानतिर उन्मुख हुने गरी सार्थक संवाद होस् । प्रधानमन्त्रीजीले पनि हामी सकारात्मक छौँ, जसपाले सहयोग गर्नुपर्‍यो भन्नुभएको छ,” झाले भने, “ तर, सहयोग उधारोमा हुँदैन । प्रधानमन्त्रीले गर्ने काम गरिदिनुपर्‍यो । परिणाम आएपछि मात्र हामी उहाँलाई सहयोग गर्न सक्छौँ ।”

उता, सरकारका तर्फबाट जसपासँग छलफल गरिरहेका नेम्वाङले जसपाको मागमा सरकार सकारात्मक रहेको बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro