site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणेशमान सिंहले चढेको त्यो हरियो जिप (भिडियोसहित) 

काठमाडौं । नेपालको राजनीतिमा गणेशमान सिंह ‘आइरन म्यान’ (लौह पुरुष) का रुपमा परिचित छन् । 

२००७ सालमा राणा शासनविरुद्ध हुँकार गर्ने, जस्तोसुकै  यातनासँग पनि नगल्ने, नेपालको पहिलो ‘जेल ब्रेकर’, ०४६ सालको जनआन्दोलनको ‘सर्वोच्च कमाण्डर’ सिंहलाई चिनाउने विम्ब हुन् । 

नेपाल र नेपाली जनताको स्वतन्त्रताका लागि आफुलाई होमेका सिंहको राजनीतिक अडान, त्याग र बलिदान मात्र होइन उनले लगाउने पहिरन र चढ्ने जीपसमेतको छाप नेपालीको मन मतिष्कमा अझै ताजा छ । 

सहास मात्र होइन सिंह त्यागका समेत प्रतिविम्ब बनेका छन् । ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर भएर आन्दोलनको कमाण्ड सम्हालेका सिंहको व्यक्तित्व त्यतिबेला ‘टावरिङ’ बन्न पुग्यो जब उनले आन्दोलन सफल भएर प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले प्रधानमन्त्री बन्न राखेको प्रस्ताव अस्वीकार गरे । 

आफ्ना मित्र कृष्णप्रसाद भट्टराई ‘किसुनजी’लाई प्रधानमन्त्री बनाउन उनले सुझाव दिए । 

आफु प्रधानमन्त्री त बनेनन्, तर उनको त्याग नेपालको राजनीतिले सधैँ सम्झिरहने घटना बन्यो । 

टेक्ने लौरो, लगाउने दौरा सुरुवाल, स्टकोट र चढ्ने हरियो रसियन जीपको तस्बिर सिंहलाई सम्झने जो कोहीको मनमा आउने तस्बिर हो ।

त्यही जीप ०५४ सालमा सिंहको निधन भएपछि चाक्सीबारीस्थित निवासमै थियो ।  लामो समय प्रयोगमा नआउँदा जीर्ण बनेको जीपलाई मर्मत सम्भार गरेर चाक्सीबारीमा ल्याइएको छ ।

सिंह पुत्र कांग्रेस नेता प्रकाशमान सिंह पिताको जीपसँग आफ्ना थुप्रै सम्झनाहरु गाँसिएको बताउँछन् । 

०४२ सालको सत्याग्रहको तयारीमा पिता गणेशमानले देश दौडाहामा निस्कँदा यही जीप लिएर गएको सम्झनाको आफ्नो मस्तिस्कमा ताजै भएको सिंहले बताए । 

“मेरो विहेमा पिताजी यही जीपमा गोरखा जन्ती जानुभएको थियो । ०४६ सालको जन आन्दोलन सफल भएपछि सर्वोच्च कमान्डरको हैसियतमा दरबार जाँदा पनि उहाँ यही ऐतिहासिक जीपमा जानुभएको थियो,” सिंहले भने । 

बा १ च ४४०१ नम्बरको हरियो जीप रंगरोगनसहित बिहीबार सिंह निवास चाक्सीबारी ल्याइएको छ । 

यसअघि पनि चाक्सीबारीमै जीर्ण अवस्थामा रहेको ऐतिहासिक जीपमा त्यहाँ पुग्ने कांग्रेसका नेता, कार्यकर्ताले फोटो खिचाउने गरेका थिए । 

जीप मर्मतका लागि लगिएका बेला पनि आफुलाई भेट्न आउने धेरैले जीपबारे चासो राख्ने गरेको सिंहले सुनाए । 

“आँगनमा जीप नदेखेपछि खै कहाँ गयो भनेर धेरैले सोध्नुहुन्थ्यो । अब आइपुग्यो । ढुक्क भयो,” सिंहले सुनाए ।

बिहीबार बेलुकी जीप आइपुग्दा नेता सिंह, उनकी पत्नी सिर्जना सिंह र छोरा भास्करमान व्यग्रताका साथ प्रतीक्षामा थिए । आफ्ना ससुरा चढेको त्यो जीपसँग बुहारी सिर्जनाका पनि धेरै स्मरणहरु छन् । 

“छोरा प्रभास सानो हुँदा माइती (गोरखा)बाट आउँदा उफार्छ भनेर अगाडी सिटमा राखेर ल्याउनुभएको थियो । पहिलो पटक विवाहमा आउँदा जीप देखेको थिएँ,” उनले भनिन् । 

सत्याग्रहको बेला नेता कृष्णप्रसाद भट्टराई त्यही जीपमा सिंहसँगै देश दौडाहामा निस्किएको र पछि मेयर हुँदा पीएल सिंहले पनि जीपको प्रयोग गरेको उनले बताइन् । 

सत्याग्रहभन्दा केही अघिदेखि नै सिंहले चढेको त्यो जीप जीवनको अन्तिम समयसम्म सिंहको यात्राको सारथी बनेको थियो । 

“मलाई याद छ, हाम्रो विवाहमा गोरखा जाँदासमेत उहाँ यही जीपमा जानुभएको थियो,” सिर्जना र प्रकाशमानले एकसाथ सम्झिए, “त्यबेला बाटो बहुत रफ थियो । त्यस्तो बाटोमा समेत यो जीप मजासँग चलेको थियो ।” 

इतिहास बोकेको सिंहको हरियो जीप अहिले त्यतिबेलाकै जस्तो देखिने त बनाइएको छ तर, इन्जिन काम नलाग्ने भएकाले सडकमै निकाल्न मिल्ने अवस्थामा भने अझै तयार नभएको जीपको मर्मतमा अग्रसरता लिएका कांग्रेस महासमिति सदस्य गोरखाका राजेन्द्र बजगाईँले बताए । 

ऐतिहासिक व्यक्तित्वले प्रयोग गरेका सामग्रीको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो गणेशमान सिंहप्रति अगाध आस्था रहेको बताए । सिंहले जिप चढेको देखेको भन्दै उनले भने, “जीप अब राम्रो देखिएको छ । यसको संरक्षण गर्नुपर्छ ।” 

- तस्बिर तथा भिडियो : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro