site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् विघटन मुद्दाको फैसला कहिले ?  अदालत भन्छ– ढिला हुँदैन 

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा दुई महिना लामो सुनुवाइपछि शुक्रबार सकियो । बहस सकिएसँगै फैसला के आउला भन्नेमा धेरैको चासो छ । आजसम्म मुद्दाको पक्ष र विपक्षमा बहस गरेका कानुन व्यवसायीलाई बहस नोट बुझाउने समय दिइएको छ । 

प्रधानमन्त्रीका कानुन व्यवसायीले संयुक्तरुपमा ६६ पृष्ठ लामो बहस नोट बुझाइसकेका छन् । पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर रिट निवेदकका तर्फबाट बहस गरेका कानुन व्यवसायीमध्ये केहीले बहसकै क्रममा बहस नोट इजलाससमक्ष पेस गरेका थिए । क–कसले बहस नोट बुझाए भन्नेबारे बेलुका अबेरसम्म जानकारी हुने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । 

प्रतिनिधिसभा विघटनको निर्णय संविधान विपरीत भएकाले बदर गर्नुपर्ने मागसहित १३ वटा रिट दायर भएको थियो । 

Dabur Nepal
NIC Asia

जसमा रिट निवेदकको पक्षबाट १३ र सरकार र विपक्षीका तर्फबाट १० दिन बहस भएको थियो । 

त्यसपछि एमिकस क्यूरीका तर्फबाट राय व्यक्त भएको थियो ।

एमिकस क्यूरीका चारजनाले विघटनको विपक्षमा राय राखेका छन् भने एकजना विघटनको पक्षमा देखिएका छन् । 

विघटनको मुद्दामा संवैधानिक इजलासले नेपाल बार एसोसियनबाट तीन र सर्वोच्च अदालत बार एसोसियसनबाट दुई गरी पाँच जनाको एमिकस क्युरी झिकाएको थियो । 

जसमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठकले विघटन संविधानसम्मत नभएको भन्दै विघटनको विपक्षमा राय राखेका थिए । तर, वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले भने विघटनको पक्षमा राय दिएका थिए ।

भोलि नै आउन सक्छ फैसला !

संवैधानिक इजलास मंगलबार बस्दैछ । मंगलबार बस्ने इजलासको पेसीमा प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा छ । 

अदालत स्रोतका अनुसार भोलि बस्ने इजलासपछि फैसलाको बारेमा थाहा हुनेछ । “हेर्दाहेर्दैमा छ । भोलि इजलास बस्छ । त्यसपछि के हुन्छ थाहा हुन्छ,” सहप्रवक्ता ढकालले भने । 

कानुनका जानकारहरुले भने भोलि नै पनि फैसला आउन सक्ने बताउँछन् ।

विघटनको मुद्दामा एउटा निष्कर्षमा इजलास पुगिसकेको रहेछ भने भोलि बस्ने इजलासले फैसला दिन सक्छ । 

तर, सोमबारसम्म बहस नोट पेस गर्ने समय दिएकाले त्यसको अध्ययनका लागि केही दिन इजलासशले लिनसक्ने र त्यसो हुँदा फैसला आउन अझै केही दिन लाग्न सक्ने सम्भावना बढी रहेको कानुन व्यवसायीहरु बताउँछन् । 

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध दायर रिट पुस १० मा संवैधानिक इजलास पठाइएको थियो । 

विघटनको करिब एक महिना संवैधानिक इजलासमा सुनुवाई गर्ने कि बृहत् पूर्ण इजलासमा भन्नेमै अदालत अल्झिएको थियो । 

माघ ४ देखि प्रतिनिधिसभा विघटनको मुद्दामा नियमित सुनुवाई सुरु भएको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र विश्वम्भर श्रेष्ठ रहेको संवैधानिक इजलासले के फैसला गर्छ भन्नेमा धेरैको चासो छ । 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro