
नरेश फुयाँल
मायालाई कसरी परिभाषित गर्नुहुन्छ ? जिज्ञासामा निर्देशक निश्चल बस्नेतको जवाफ रहन्छ– धेरै कुराको समिश्रण नै माया हो । र, यो आत्मीयता व्यक्त गर्ने तरिका व्यक्तिअनुसार फरक–फरक हुनसक्छ ।
कसरी व्यक्त गर्ने माया ?
व्यक्तिअनुसार फरक होला । यद्यपि, शब्द र व्यवहार दुवैमा अभिव्यक्त गर्नुपर्ने निश्चलको धारणा छ । व्यवहार मात्रै होइन, शब्दमा व्यक्त गर्दा अझ बढी मायाको महसुस हुने उनको अनुभव छ ।
यद्यपि, उमेरले अभिव्यक्त गर्ने तरिकामा भिन्नता ल्याउने उनी बताउँछन् । “गर्लफ्रेन्ड र ब्वाईफ्रेन्डबीच हुने मायाको अभिव्यक्ति र परिपक्व उमेरको व्यक्तिले प्रेम अभिव्यक्त गर्ने तरिका फरक हुन्छ,” निश्चल भन्छन्, “उमेरले यसमा फरक पार्छ । एउटै चिजलाई बुझ्ने तरिका उमेरअनुसार फरक हुन्छ । सोच्ने तरिकाले फरक पार्छ ।”
“कतिले माया गर्छु मात्रै भन्ने तर व्यवहारमा अभिव्यक्त नगर्ने हुन्छ भने त्यो माया नै भएन । कतिले भन्दै नभन्ने तर व्यवहारमा फिल गराउँछ भने शब्दमार्फत नै अभिव्यक्ति गरे पनि हुन्थ्यो नि भन्ने अपेक्षा पनि हुन्छ होला,” निश्चल भन्छन्, “कतिले शब्दमै भन्छन् होला । तर, कतिले व्यवहारमा मात्रै फिल गराउँछन् होला ।”
यी दुईमध्ये तपाईंचाहिँ कता पर्नुहुन्छ ?
“म दुईटैको समिश्रण हो जस्तो लाग्छ । तर, उसलाई (स्वस्तिमा खड्का)लाई कस्तो लाग्छ, उसैलाई सोध्नुपर्छ,” निश्चल हाँस्छन् । सम्बन्धलाई मजबुत कसरी बनाउनुपर्छ, निश्चललाई राम्रोसँग थाहा छ । त्यसैले त उनी शब्दमार्फत पनि बेलाबेलामा स्वस्तिमालाई प्रेमको आभास गराइरहन्छन् । यद्यपि, स्वतिमालाई उछिन्न सकेका छैनन् ।
निश्चलसँग स्वस्तिमाको मत पनि मिल्छ ।
प्रेम अभिव्यक्त गर्न शब्द र व्यवहारमध्ये कुन उपयुक्त ?
जिज्ञासामा उल्टै उनको प्रतिप्रश्न– उहाँले के भन्नुभयो ?
“कसैलाई मुखैले भन्दा बढी इन्टरटेन गर्छ होला, कसैले व्यवहारमा देखाउँदा पनि माया त माया हो जसरी अभिव्यक्त गरे पनि हुन्छ भनेर बुझ्छ होला,” स्वस्तिमा थप्छिन््, “शब्दमार्फत नै व्यक्त गर्नुपर्छ भन्नेमा म विश्वास गर्दिनँ । हामी अलि व्यावहारिक भएर पनि सोच्छौँ । अन्ततः शब्दभन्दा व्यवहारबाट अभिव्यक्त हुन्छजस्तो लाग्छ ।”
शब्दभन्दा पनि निश्चलको व्यवहारमा माया देखिए आफूलाई पुग्ने र आफू पनि त्यस्तै रहेको उनी सुनाउँछिन् ।
निश्चल उमेरले प्रेमको अभिव्यक्तिमा फरक पार्ने बताउँछन् ।
उनले पनि यो महसुस गरे ?
सुरुसुरुमा स्वस्तिमा आफ्नो उमेरअनुसार र आफू पनि परिपक्व उमेर भएका कारण त्यसैगरी सोच्ने गरे पनि संगत र कामले विस्तारै स्वस्तिमा परिपक्व हुँदै गएकाले त्यस्तो महसुस लामो समय गर्नु नपरेको निश्चलको अनुभव छ । “उमेर नै उसको सानो छ, विस्तारै बुझ्दै जाने हो भन्ने लाग्थ्यो । तर, अहिले त चार–पाँच वर्ष पनि भइसक्यो । ऊ पनि परिपक्व हुँदै गएका कारण अब त हामी उस्तै–उस्तै भइसक्यौँ जस्तो लाग्छ,” उनी भन्छन् ।
स्वस्तिमा अहिलेकी लोकप्रिय अभिनेत्री र निश्चल अब्बल निर्देशक तथा कलाकार । वर्कसप, छायांकन, अन्तर्वार्ताले समय फालाफाल हुँदैन, उनीहरु दुवैलाई । तर पनि माया प्राकृतिक प्रक्रिया हो । एकर्काका लागि समय निकाल्छन् ।
लामो समय कामको सिलसिलामा छुट्टिँदाचाहिँ ‘मिस’ गर्छन्, उनीहरु एकार्कालाई । तर पनि समय मिले उनीहरु एकार्काको सुटिङमा पुग्छन् ।
यो वर्षचाहिँ मिस हुने भयो है ?
“त्यस्तो नहुन पनि सक्छ,” निश्चल भन्छन् ।
स्वस्तिमा चलचित्र ‘चिसो मान्छे’को छायांकनका लागि लोकेसन हन्ट गर्न निर्माण युनिटसँगै यतिबेला बझाङमा पुगेकी थिइन् । स्थानीय भाषा र लवज सिक्न पनि स्वस्तिमा बझाङ पुगेकी हुन् ।
तर, शनिबार बिहान उनी काठमाडौं फर्किइन् । संयोगभन्दा पनि प्लान गरेरै फर्किएको उनले सुनाइन् ।
सेटमा निश्चलले कतिपटक कतिजनासँग विवाह गरे, स्वस्तिमाले पनि कति–कतिसँग विवाह र डेटिङ । कुनै गन्ती नै छैन ।
कहिलेकाहीँ रियल लाइफमा म सेटमा छु र सेटमा हुँदा रिलमा छु भन्ने भान हुँदैन ?
जिज्ञासामा निश्चल यस्तो द्विविधा कहिले नपरेको सुनाउँछन् । ‘‘त्यस्तो भयो भने त बिग्रिगयो नि !,’’ उनी हास्ँछन्, “रियालिटी र फिक्सन फरक हो । सेटमै पनि यो मेरो श्रीमती हो भन्ने थाहा हुन्छ । तर, सबकन्सस माइन्डमा थाहा हुन्छ कि हामी बूढा–बूढी हौँ, तर पफर्मेन्स गरिरहेका छौँ भन्ने । क्यारेक्टरमा छौँ भन्ने हुन्छ । रियल लाइफमा कहिले पनि सिनेमाको सुटिङमा छौँ कि भन्ने फिल गरेको छैन ।”
भ्यालेन्टाइन डे नेपाली संस्कृतिजस्तै भइसक्यो । युवा पुस्तालाई यसले छपक्कै गाँजिसकेको छ । यसको अर्थ यसमा रमाउन थालिसकेको युवा पुस्ता ‘चकलेट डे’देखि ‘रोज डे’सम्म मनाउँछन् । उपहार साटासाट गर्छन् ।
निश्चल स्वतिमालाई उपहार दिन्छन् कि दिँदैनन् ?
उनलाई स्वस्तिमाले उपहार दिए हुन्थ्यो जस्तो लाग्छ । दिइहाल्छिन् कि भन्ने आश पनि लाग्छ । “उपहार पाए बूढीले दिएको भनेर संगालेर राख्छु भन्ने हुँदोरहेछ । तर, दिनैपर्छ भन्नेचाहिँ लाग्दैन । नदिए पनि माया त गरिहाल्छे नि भन्ने फिलिङ्स हुन्छ । तर, आशावादीचाहिँ भइन्छ,” निश्चल फेरि हाँस्छन् ।
तपाईं दिनुहुन्छ ?
“आफूलाई त दिन्छु जस्तो लाग्छ । तर, यही अन्तर्वार्ता पढेर बूढीले गफ दिने भनिहाल्छे । तर पनि कहिलेकाहीँ दिइरहेको पनि हुन्छु,” निश्चल जवाफमा भन्छन्, “सम्झिने गरी त्यत्रो ठूलो उपहार त दिएको छैन । तर, सम्झनलायक त्यत्रो केही दिने मान्छेचाहिँ म होइन ।”
स्वस्तिमालाई हामीले सोध्यौँ, उपहार दिने सवालमा को अगाडि छ ?
फेरि उनले सोधिन्, उहाँले के भन्नुभयो ?
हामीले उनको जवाफ दिएनौँ । उनले भनिन्, “उपहार त म नै दिन्छु ।”
निश्चललाई थाहै हुँदैन रे ! कहिले उपहार दिने, कहिले विस गर्ने । तर, स्वस्तिमा यसमा हेक्का राख्छिन् । निश्चललाई उपहार किन्दिछिन् । निश्चल पनि मख्ख पर्छन् ।
निश्चलले उपहार खासै दिँदैनन् भनेर स्वस्तिमालाई चित्तदुखाइचाहिँ छैन ।
कारण ?
प्रायः केटाहरु यस्तो कुरामा खासै ध्यान दिँदैनन् जस्तो उनलाई लाग्छ । त्यसैले माया नगर्ने भएर उपहार पनि नदिएको भन्ने उनलाई लाग्दैन ।
तर, उपहारको महत्त्व राख्छिन् स्वस्तिमा । कसैले सानै उपहार दियोस् वा ठूलो । मलाई सम्झिएर दिएको हो भनेर संगालेर राख्छिन् ।
यसको अर्थ निश्चलले खासै उपहार दिँदैनन् र त्यसमा उनको असन्तुष्टि हो भन्ने होइन । “मलाई यस्तो थोक चाहिएको छ भनेर भन्यो भने उहाँ कहिल्यै नाईं भन्नुहुन्न । त्यसैले पनि मलाई उहाँले गिफ्ट दिनु भएन भनेर नरमाइलो लाग्दैन,” स्वस्तिमा परिपक्व सुनिन्छिन्, “अरुका श्रीमान्ले दिन्छन् मेरोले दिनुहुन्न भन्ने नै मनमा आउँदैन । कतिलाई व्यवहारमा अभिव्यक्त हुने हाम्रो माया मन पर्छ होला । उपहार दिन्छु भनेर पनि कतिसँग दिन चाहेको उपहार दिन सक्नुहुन्न होला । त्यसैले भौतिक सामग्रीभन्दा पनि व्यवहारमा अभिव्यक्त हुने माया नै उपयुक्त हो भन्ने मलाई लाग्छ ।”
‘भ्यालेन्टाइन डे’को सेरोफेरोमै निश्चल र स्वस्तिमाको विवाहको वर्षगाँठ पर्छ । फागुन ५ गते उनीहरुको एनिभर्सरी हो ।
विवाहपछि मात्रै होइन, विवाहअगाडि पनि ‘भ्यालेन्टाइन डे’मा आफूहरुले सम्झनलायक केही नगरेको निश्चल सम्झन्छन् । “एकार्कालाई कम्पनी दिए मात्रै हामी खुसी हुन्थ्यौँ । प्रायः हामी त्यो समय र अहिले पनि डिनर जान्छौँ, आजको दिन,” निश्चल सम्झन्छन् ।
भ्यालेन्टाइन डेका दिन उनीहरुको खासै नौलो प्लान बन्दैन । निश्चलले भनेजस्तै स्वस्तिमा पनि विवाहको एनिभर्सरी र जन्मदिनमा बरु उपहार साटासाट हुने बताउँछिन् ।
धेरैले भ्यालेन्टाइन डेलाई आयातित संस्कृति भन्दै यसको आलोचना गर्छन् । माया गर्नेहरुलाई सधैँ भ्यालेनटाइन डे भन्छन् । यसमा स्वतिमाको धारणा अलि बेग्लै छ– पश्चिमा संस्कृति भन्नेबित्तिकै बिग्रियो, सक्कियो नै भनेर आलोचना गरिहाल्नु पर्दैन । त्यो भए जन्मदिन किन हामी एक दिन मात्रै मनाउँछौँ ? त्यसैले कुनै एक दिनलाई प्रेमको प्रतीकको दिन मनाउँदा फरक पर्दैन ।