व्यक्तिको सोच र संस्कारले समस्यालाई हेर्ने कोण र समाधान फरक पर्दोरहेछ । काठमाडौं र ललितपुर महानगरपालिका क्षेत्रमा पैदल बाटाका (फुटपाथ) पसलको व्यवस्थापन यसको ज्वलन्त उदाहरण बनेको छ । त्यसो त साइकल मार्ग निर्माण र पुरातात्विक सम्पदाको संरक्षण एवं पुनःनिर्माणमा पनि ललितपुर महानगरपालिकाले सराहनीय कार्य गरेको मानिन्छ । परन्तु, फुटपाथमा सञ्चालन गरिने व्यवसायको व्यवस्थापनमा अपनाएको मानवीय दृष्टिकोणले ललितपुर महानगरपालिकालाई काठमाडाैंभन्दा अलग बनाएको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा पैदल बाटामा व्यवसाय गरेर गुजारा चलाउनेहरू कुन बेला सामान खोसिने हो वा सामान छाडेर भाग्नुपर्ने हो भनेर सधैँ त्राहीमाम् हुन्छन् । ललितपुरमा भने त्यस्ताे व्यवसाय गर्न स्थान र समय तोकिदिएकाले उनीहरू ढुक्कसँग व्यवसाय गर्न पाउँछन् ।
पैदल बाटामा पक्कै पनि पैदल यात्रुको सुविधालाई प्राथमिकता दिनुपर्छ । तर, त्यसको व्यवस्थापनमा मानवीय दृष्टिकोण अपनाउन त सकिन्छ । काठमाडौं महानगरपालिकाका अधिकारीहरूले पैदल यात्रुको सुविधाका लागि त्यहाँ व्यवसाय गर्नेहरूमाथि धरपकड गरेको दाबी गरे पनि सहरका अधिकांश सडकहरूमा हुनेगरेको अतिक्रमणमा देखाएको उदासीनता हेर्दा पत्याउन सकिँदैन । फुटपाथ नभएका साँगुरा सडकदेखि मूलसडकहरूमा जताततै अव्यवस्थितरूमा सवारी साधन राख्ने, निर्माण सामग्री थुपार्ने वा पसलको सामान फिँजार्ने गरेको दृश्यले काठमाडाैं महानगरपालिकाका अधिकारीको दाबी झुटो भएको पुष्टि गर्छन् । पैदल बाटामा पसल थाप्ने बीसौं जना दिनहुँ सामान जफत गरिने वा लखेटिने ‘कारबाही’मा पर्ने गरेको काठमाडाैं महानगरपालिकाका अधिकारीले स्वीकार गरेका छन् । ललितपुर महानगरपालिका क्षेत्रमा भने पैदल बाटामा व्यवसाय गर्नेहरूका लागि यात्रुहरूलाई असुविधा नहुनेगरी स्थान र समय तोक्ने तथा सम्झाउने बुझाउने गरेर व्यवस्था मिलाइएको छ । यसले पैदल बाटामा पसल थापेर गुजारा चलाउनेहरूको पनि हित भएको छ ।
संयोगवश निषेधलाई ‘रामवाण’ ठान्ने काठमाडाैं महानगरपालिका र मानवीय दृष्टिकोण राखेर समस्या समाधानकाे उपाय खोज्ने ललितपुर महानगरपालिकाको नेतृत्वमा दुई बेग्लाबेग्लै राजनीतिक दर्शनमा विश्वास गर्ने राजनीतिक दलका उमेदवार विजयी भएका छन् । तर, दुवै महानगरपालिकाको अधिकार क्षेत्र तथा काम कर्तव्य र अधिकार त एउटै हो । मोटामोटी दुवै महानगरका समस्या पनि उस्तै हुन् । यसैले काठमाडौं महानगरपालिकाका निर्वाचित प्रतिनिधिले पनि मानवीय दृष्टिकोण राखेमा पैदल बाटामा व्यवसाय गर्नेहरूलाई नरुवाईकन समस्या समाधान गर्न असम्भव थिएन र अझै पनि छैन । दिनहुँ समातिने साइकल, ठेलाजस्ता सामान कुच्याएर कबाडीलाई बेच्दा महानगरपालिकाले केही पैसा पाउला र कर्मचारीलाई खोसिएको तरकारी र फलफूल फाइदा होला । तर, गुजाराका लागि सडकमा पसिना बनाउनेहरूको आँसुले भने पक्कै पनि पिरोल्छ । यसैले काठमाडौं महानगरपालिकालगायत अरू स्थानीय तहहरूले पनि नगरको व्यवस्थापनमा मानवीय दृष्टिकोण अपनाउनु आवश्यक देखिन्छ । गुजारा चलाउनका लागि पसिना बगाउनेहरूलाई सजाय होइन सहयोग पो दिनुपर्छ त !